अन्य भाषा: वरदान, विवाद र विवेक

 



नोट: अब आउने पुस्तालाई यस बारे सही शिक्षा दिनु आवश्यक छ | अबको पुस्ता फरक हुनेछ र उनीहरूका निम्ति यस्ता विषय वाधक तत्त्व बनिनु हुँदैन |


१) के आजको मण्डलीमा अन्य भाषा ठूलो समस्याको विषय हो? 

    अन्य भाषा आफैंमा समस्या होइन तर यसलाई जुन तरिकाले मण्डलीमा स्थान दिइन्छ र प्रयोग गरिन्छ, त्यो चाहिँ समस्या हो । प्रेरित पावल आफैं नै यस कुराका एक गवाही र साक्षी थिए । अन्य भाषा माथि उनले कुनै बन्देज लगाएनन् तर पनि यसको सही उपयोगीता बारे उनले गम्भीरताका साथ सिकाए । उनी आफैं भन्छन् कि सबैले यो वरदान पाऊन र उनी आफैं फेरि सुझाव दिन्छन् कि अनुवाद गर्ने कोही नभएमा मण्डलीलाई केही लाभ छैन । उनलाई यस वरदानको लाभ बारे पनि थाहा थियो तर उनले व्यक्तिगत वृद्धि भन्दा पनि मण्डली कै वृद्धिलाई उच्च प्राथमिकतामा राखे । आज कति पेन्तिकोस्तल मण्डलीहरूमा यस वरदानलाई औधी नै जोड दिने गरिन्छ । यो वरदान पाउनलाई मात्रै पनि घण्टौँ प्रार्थना गर्छन् । फेरि वरदान नपाउनेहरूका लागि वातावरण निकै असहज बन्ने गर्छ किनकि अन्य भाषा झट्ट हेर्दा आत्मिकताको पहिचान सरह देख्छ । तर जे होस्, अन्य भाषाको मुद्दा-मामिला यसलाई प्रयोग गर्ने एक व्यक्ति माथि निर्भर रहन्छ |


२) अन्य भाषा कस्तो भाषा हो? 

    अब अन्य भाषा कस्तो भाषा हो, यो कुरा मण्डली जगतमा विवादित नै छ । कोही संसार कै भाषा हो भन्ने अडान तर्फ छन् भने अरु स्वर्गीय भाषा हो भन्ने तर्फ छन् । दुबै पक्षमा फेरि गवाही र साक्षी पाइन्छ । अन्य भाषा सम्बन्धि पुस्तकहरूमा पनि संसारमा भएका भाषाहरूमा सुनिएको घटनाहरू उल्लेख छन् । अक्सर, मण्डलीमा कसैले अन्य भाषा पाउँछन् भने त्यो नबुझ्ने भाषा नै हुन्छ । तसर्थ, यस बारे हामी खुला हृदयको चाहिँ हुनैपर्छ र दुबै तर्फको तर्कलाई स्वागत गर्नुपर्ने हुन्छ । तर संसारिक वा स्वर्गीय जुनसुकै भए तापनि अनुवाद गर्ने कोही नभएमा बोल्ने व्यक्तिले व्यक्तिगत रूपमा नै यसको प्रयोग गर्नु भनी पावलले सल्लाह दिन्छन् । किनकि नबुझिने भाषामा बोलिएको हजारौं शब्दहरू केही मूल्यको हुँदैन बरु त्यो भन्दा त बुझिने भाषामा नै दुई चार शब्द पर्याप्त हुन्छ । यही कुरा पावल गर्छन् । उनी अन्य भाषाको विरोध कदापि गर्दैनन् तर यसको सदुपयोग भएको मात्र उनी इच्छा जाहेर गर्छन् । 


३) आजको मण्डलीमा अन्य भाषा बारे विविध सिद्धान्तहरू पाइन्छ र आराधनाको समयमा फेरि सबै एकै साथ बोल्छन् । के यो सही हो? 

    अचेल त मण्डलीमा अन्य भाषा बारे तथाकथित सिद्धान्तहरू सिकाइन्छ भने जोशले भरिएकाहरूले वातावरण नै खलबल हुने गरि बोल्दै बस्छन् । अनि यस्तै गतिविधि त्यस समयको कोरिन्थको मण्डलीमा पनि पक्कै थियो जसलाई पावलले सम्बोधन गर्नु पर्यो । मलाई यस्तो लाग्छ कि पावललाई यस वरदान बारे राम्रो जानकारी थियो । त्यसैले पनि उनले भन्न सके कि त्यहाँका मानिसहरू भन्दा उनी नै बढी अन्य भाषामा बोल्छन् । अन्य भाषा बारे धेरै उग्र शिक्षा बाइबलमा पनि कतै सिकाइएको छैन । अब सैतानले पनि नबुझ्ने भाषा र एकदमै ठूलो शक्तिको रूपमा यसलाई चिनाइन्छ जुन कता-कता बाइबलको दायरा बाट पर गएको लाग्छ । अक्सर यस्ता शिक्षाहरू बाइबल अनुसार नभएर एक व्यक्तिको नितान्त अनुभव माथि पनि आधारित रहेको हुन्छ | यद्दपि अन्य भाषालाई कुनै तान्त्रिक शक्तिको रूपमा हेर्ने र त्यसरी प्रयोग गर्ने मानसिकताको जोखिमबाट चाहिँ हामी जोगिनु निकै आवश्यक छ | 


४) पावलको मुख्य शिक्षा के हो त? 

     केवल वरदानले भरिएर मात्रै केही लाभ हुँदैन । हामीमा प्रेम छैन र वातावरण हाम्रो कारण अस्वस्थ हुन पुग्छ भने त्यस्तो वरदानले केही फाइदा गर्दैन । पावलको आशय यही थियो । आज पनि मण्डलीले लिनुपर्ने सन्देश यही नै हो । अन्य भाषा, चाहे यो संसार मै बोलिने भाषा होस् या स्वर्गीय भाषा, यदि बोल्नेहरूमा प्रेम छैन र मण्डलीलाई कुनै लाभ भएको छैन भने यसलाई व्यक्तिगत जीवनमा मात्रै प्रयोग गर्नु उचित हुनेछ । १ कोरिन्थी १३ मा नै यी सब कुरा स्पष्ट उल्लेख गरिएकै छ | 


५) के अन्य भाषा सैतानबाट पनि आउँछ ? 

    हो, दुष्ट आत्माहरूले पनि नक्कल गर्न सक्छन् । त्यसैले आत्मा छुटाउने वरदान आवश्यक छ । कुर्ट कोचले आफ्नो पुस्तक अकल्टमा अन्य भाषाको यही पक्षलाई सम्बोधन गरेका छन् । नियन्त्रण भन्दा पर गएर अन्य भाषा बोल्नेहरूबाट नै परमेश्वरको निन्दा भएको केही घटनाका उदाहरण उनले प्रस्तुत गरेका छन् । तसर्थ, यस कुरामा सावधानी अपनाउनु पर्ने देखिन्छ । फेरि झूटा शिक्षाका समूहमा पनि अन्य भाषा बोलिन्छ जुन कुराले आजभोलि पेन्तिकोस्तल मण्डली कै विश्वासीहरूलाई छक्क पार्दै छ ! 


६) के अन्य भाषा स्वर्गीय भाषा हो? 

    अब यो परमेश्वरबाटको वरदान भएको कारण स्वर्गीय भाषा भन्न सायद मिल्छ पनि होला ! यद्यपि, निश्चितरूपमा दाबी गर्न सकिँदैन । फेरि स्वर्गीय भाषा हो भने ‘सैतानले नबुझ्ने भाषा’ कसरी भयो त भन्ने प्रश्न उठ्न सक्ला! अनि स्वर्गीय भाषा हो भने त यो सबैलाई दिइन पर्ने कुरो हो त! कसरी वरदान हुन गयो भन्ने पनि प्रश्न उठ्न सक्ला! अनि १ कोरिन्थी १३:१ मा "स्वर्गदूतहरूको भाषा" भन्ने कुरा पनि उल्लेख गरिएको छ र यो पनि बाइबल विद्वानहरू माझ विवादित नै छ! मेरो व्यक्तिगत अडान अनुसार त्यो वास्तविक स्वर्गदूतहरू कै भाषा बारे भनिएको हो जुन पक्का पनि अन्य भाषा सित सम्बन्धित हुन सक्छ यद्दपि अन्य वैकल्पिक अवधारणाहरू पनि मैले अध्ययन गरेको छु जसमा कसैले त्यसलाई ‘बढाई-चढाई गरिएको भाषा’ भन्छन् भने अरुले ‘सिद्ध प्रकारले सञ्चार गर्न सक्षम’ गुणको रूपमा पनि हेर्छन् | यस विषयमा विद्वानहरू कै आपसी धेरै तर्कहरूको बहस चलिरहन्छ ! तसर्थ, यति गहिराईमा नगएको राम्रो हो! 


७) मण्डलीमा बोलिने अन्य भाषालाई गैर-पेन्तिकोस्तल सम्प्रदायका मण्डलीहरूले "जिबरिस/जे पायो त्यही बर्बरता" भनेर गिल्ला गर्ने गर्छन् र सामाजिक मिडियाहरूमा अन्य भाषाका बोलीलाई लेख्दै गिज्याउने काम पनि गर्छन् । यसमा तपाईं के भन्नुहुन्छ ?

    पहिलो प्रश्नमा, आज बोलिने अन्य भाषालाई जिबरिस भन्नु अघि के ती विश्वासीहरूले संसारका सबै ७०००+ भाषाहरू बारे जानेका छन् रे त? पहिलो सरोकारको विषय । नबुझिने भाषा हुँदैमा जिबरिस हुनु जरुरी छैन । फेरि संसार कै भाषा दिएर पनि कस्तो आत्मिक वृद्धि हुने हो? यसमा चाहिँ म आफैं पनि सहमति जनाउन सक्दिन | यो भयो अर्को सरोकारको विषय ! अनि फेरि पावलले किन यसो भने कि जसले अन्य भाषामा बोल्छ, उसले मानिस सित होइन तर परमेश्वर सित बोल्छ र कसैले बुझ्दैन ? साथै, भाषाको अनुवाद र व्याख्याको वरदान किन खाँचो पर्यो र ? भाषा जान्ने व्यक्तिले नै गर्न सक्दैनथ्यो होला? यस्ता विविध कठिनाइहरू छन् ! अनि अन्य भाषा बोल्नेहरूलाई कत्तिको ख्याल गरिएको छ? कि एक-दुई जनाको सुनेको भरमा मात्रै यस्ता आलोचना उठाएको हो? अन्य भाषाको आलोचना गर्नेहरूलाई नै थाहा रहेनछ कि बोल्नेहरूले के-के बोलिरहेका हुन्छन्! बरु सी.आई.डी यसमा उत्तीर्ण होलान् तर हाम्रै विश्वासी मित्रहरूलाई बुझाउन गाह्रो छ! 


    दोश्रो प्रश्नमा, मिडियामा किन हालेको? हालेर फाइदा चाहिँ के होला? अनि अन्य भाषालाई लेखेर तमासा गर्नेहरूले अन्य भाषा बोल्नेहरू सँग व्यक्तिगत रूपमा कुराकानी गरेका छन् कि छैनन् ? यहाँ समस्या दुबै पक्षमा छ! यसको लागि दुबै पक्ष बीच व्यक्तिगत तहमा नै आपसी बुझाई हुनु नितान्त आवश्यक देख्छु ! अनि अर्को कुरो, अन्य भाषा बोल्नेहरूले पनि यस बारे ईश्वर शास्त्र जान्ने गरून भनी मेरो आग्रह छ! अन्य भाषामा बोल्नेहरूले आफ्नो अनुभवलाई बाइबलको धरातलमा राखी वकालत नै गर्न सकिरहेका हुँदैनन् ! यहाँ आम विश्वासीहरू बारे कुरो गर्दैछु ! आगामी पुस्तालाई के सिकाउनुहुन्छ भन्ने बारे आजै देखि ख्याल राख्नुहोस्! 


८) कतिले नबुझिने भाषा किन दिनुभएको परमेश्वरले भनी आलोचना पनि गर्ने गर्छन् । कसरी सम्बोधन गर्नुहुन्छ ?

    ती विश्वासीहरूलाई मेरो प्रश्न: परमेश्वरको त्रिएकता उनीहरूले पूर्ण रूपमा बुझेका छन् कि छैनन् ? स्व-इच्छा र पूर्वनियुक्तिको सिद्धान्त कत्तिको बुझेका छन् ? बाइबल भित्र पनि अनेकौं यस्ता कुराहरू छन् जसलाई हामी सरल तरिकाले बुझ्न सकिरहेका हुँदैनौँ । हो, अन्य भाषा पनि त्यस्तै कुरा हो । जहाँ सम्म पावलको बुझाई छ, यो आत्माबाटको स्तुति, धन्यवाद र प्रार्थना हो, आत्माका रहस्यका कुरा हुन् र परमेश्वर सित बोलिरहेको हुन्छ । मण्डलीको हितको खातिर मात्रै अनुवादको आग्रह गरिएको छ । तसर्थ, यसमा परमेश्वरको आफ्नै केही उद्देश्य हुन सक्छ जसलाई अनुभवको विश्लेषण भन्दा बाहेक अन्य कुराले मापन गर्न र बुझ्न सकिँदैन ।


९) के यो सैतानले नबुझ्ने भाषा होला र? 

    अब जहाँ बाइबलले केही बोल्दैन, त्यहाँ हामी पनि शान्त बस्नु उपयुक्त होला जस्तो मलाई लाग्छ ! यदि सैतानले नबुझ्ने भाषा हो भने यसलाई स्वर्गीय भाषा भन्नु मिल्दैन । कि त स्वर्गीय भाषा कि त परमेश्वरले मात्रै बुझ्नु हुने भाषा भन्नुपर्छ । यो एउटा उदेकलाग्दो सिद्धान्त हो । अब कति बाइबल शिक्षकले सिकाएको मैले सुनेको छु कि सैतानले यस संसारको भाषाहरू मात्रै बुझ्छ रे अनि त्यसैले परमेश्वर आत्माबाटको प्रार्थना चाहनुहुन्छ रे! के सैतान स्वर्गदूत नै थिएन र? के उसलाई सृष्टि गर्नासाथ फालिएको थियो र? अनि संसारको भाषा मात्रै उसले बुझ्ने भए सबै ख्रीष्टियानले अन्य भाषा पाउनुपर्ने हो त! यी केही कुरा विचारणीय छ! यदि मेरो बुझाईमा कमी-कमजोरी भएको भए मलाई बुझाइदिनु होला | जे होस्, अब धेरैको अद्वितीय घटना र गवाहीको कारण सायद यस्तो बुझाई रहन गएको होला तर बाइबलबाट निश्चितरूपमा कुनै बलियो अडान लिन सकिँदैन ।


१०) के अन्य भाषा सबैले चाह गर्नैपर्छ र? 

    चाहना त हामी अन्य भाषाको मात्रै किन र, थुप्रै अरु वरदानको पनि गर्न सक्छौं । तर अब बोल्नेहरूका लागि यो वरदान निकै गहकिलो लाग्दो रहेछ अनि त्यसैले पनि सबैले पाऊन भनी अक्सर जमर्को गर्ने गरिन्छ । पावल आफैंले पनि यही कुरा बोलेका छन् । हो, म आफैँ पनि यही चाहन्छु | तर अनुभव कै पछी दौडन मलाई असहज लाग्छ किनकि अन्यभाषा बारे केवल मीठा अनुभवहरू मात्रै छैनन् तर तीता अनुभवहरू पनि छन् | जे होस् यो त एक व्यक्तिको आफ्नो इच्छाको कुरा हो र जसले पाउँछन् उसले असल ढंगले प्रयोग गरून् । म आफैँ पनि यस वरदानको उत्कट इच्छा राख्दछु र शुरुशुरुमा त जोन पाइपरले गरे झैँ म पनि आफ्नै दिमागले अन्यभाषाका केही शब्द याद गरेर बोल्ने समेत गर्दथेँ! यस बारे पावलको आफ्नै सुझाव काफी देख्छु! 


थप अध्ययनका लागि:

१) John Piper from Desiring God

२) Sam Shamoun on position of tongues as angelic language (He even thinks Acts 2 language was not necessarily human languages)

३) Sam Storms on Heavenly languages 

४) Michael Heiser on his objection of tongues as initial evidence of Baptism of Holy Spirit and why Paul himself didn’t speak at first place

५) Dr. Michael Brown, read his book ‘Authentic Fire’ as a response to MacArthur’s book ‘Charismatic Chaos’ 

६) Charismatic Cheetah You Tube channel

७) NT Wright’s testimony

८) Allen Parr on cautions against Gift of Tongues

९) Gordon D. Fee brilliant commentary on 1 Corinthians 12-14

१०) Kurt Koch, Occult ABC

११) Ps. Bhojraj Bhatt (Nepali)

१२) Ps. Robert Karthak (Nepali)

१३) Elder PA Thomas (Nepali)

१४) John MacArthur on the opposition view of modern Tongues. His book named ‘Charismatic Chaos’

१५) Justin Peters who supports the gift as real human languages 

१६) Paul Washer as similar to Justin Peters and MacArthur 

१७) Church Father’s views on tongues

१८) Hard Sayings of the Bible, book by Walter Kaiser 

१९) The Moody Bible commentary

२०) Abingdon New Testament commentaries on 1st Corinthians, Richard A. Horsley 

२१) Abingdon New Testament commentaries on Acts, Gaventa, Beverely Roberts 

२२) Kinnaman, Gary D. And Signs shall Follow, Translated and published in Nepali language by Good News publishes, 2017.

२३) Systematic Theology by Wayne Grudem

२४) Nine lies people believe about speaking in tongues, Steve Bremner

२५) The Hidden power of speaking in tongues, Mahesh Chavda

२६) The Shepherd’s staff

२७) Opoku, Cyril, The Controversy of Tongues: What does the Bible say about Speaking in Tongues? Quest Publications, 2013.

२८) The Truth about speaking in tongues, James O’ Loughlin

२९) Starr, Dr. Randy, Speaking in Tongues; What the Bible says, Bethel Baptist church: Starr publications, 2014.

३०) Why you should speak in tongues, Norvel Hayes

३१) Speaking in tongues, Jeffery Deaver

३२) Lindfelt, Robert, Speaking in Tongues: A Biblical Perspective, 2nd edition, ACW Press, 2013 

३३) The Ten greatest revivals ever, Elmer Towns, Douglas Porter

३४) An Evaluation of Speaking in Tongues as Angelic An Evaluation of Speaking in Tongues as Angelic Language from the Judaean and Early Christian Language from the Judaean and Early Christian Perspectives Perspectives by Eben jager


Post a Comment

0 Comments