तपाईं Apologetics मा आबद्ध हुन चाहनुहुन्छ अथवा हुनुहुन्छ ? यदि हो भने यी कुराहरू ख्याल गर्नुहोस्:
१) Apologetics सुसमाचारको खातिर गरिन्छ, ज्ञान प्रदर्शन गर्न होइन ।
तपाइँको ज्ञानले मानिसहरूलाई ख्रीष्ट तर्फ डोर्याउन पर्छ । इतिहास, विज्ञान, राजनीति, साहित्य, दर्शन लगायतका अन्य क्षेत्रहरूमा हासिल गर्नुभएको ज्ञान मार्फत तपाईले मानिसहरूलाई सुसमाचार तर्फ लैजानु पर्छ । मानिसहरूलाई ज्ञानको कमीले प्रभुमा आउन धेरै बाधा दिइराखेको हुन्छ । तपाईंको काम उनीहरूलाई सही ज्ञान दिलाएर प्रभु चिनाउनु हो ।
उदाहरण: इसाई धर्म एक अमेरिकी धर्म र गोरा जातिको धर्म हो ।
अब यहाँ तपाईंले मानिसहरूलाई सम्झाउन आवश्यक छ कि इसाई विश्वास एसियाबाट नै शुरु भएको हो र यो रङ्गभेद सित कुनै सम्बन्धित छैन । अनि येशू र प्रारम्भिक मण्डली वृद्धिको समयमा अमेरिका देश छँदै थिएन । १४९२ पश्चात् पत्ता लगाइएको भूमिबाट १०० इ.सं. भन्दा अगाडि नै जग बसालिएको विश्वासको जन्म भएको विचार राख्नु कत्तिको तार्किक सुनिन्छ ? फेरि स्वदेशी धर्म र ईश्वर नै होइन भन्ने तर्कलाई पनि एउटा प्रश्न कि ईश्वर स्वदेशी वा विदेशी हुन्छ होला र? अनि नेपाली भूमिमा साई बाबालाई पुजिन्छ, उहाँ के नेपालमा जन्मनु भएको थियोे र? रामायण र महाभारत नेपाली भूमिका घटनाहरू थिए र? यो सब कुरो छोडौँ, हामीले दिनानुदिन प्रयोग गरिरहने अधिकांश सर-सामानहरू विदेशी योगदान होइन र? अनि किन यसमा मात्रै यत्ति ठूलो टाउको दुखाइ त?
२) Apologetics को लागि Theology आवश्यक छ ।
Theology बिना Apologetics केही लाभको हुँदैन । तपाईं जुन कुराको प्रतिरक्षा गर्दै हुनुहुन्छ, त्यो किन गर्दै हुनुहुन्छ ? हाम्रो जीवनमा त्यसको के प्रभाव छ ? theology स्पष्ट छैन भने Apologetics केवल ज्ञानमा सिमित हुन्छ । यो त एक कलेजको प्रोफेसरले येशू भन्ने व्यक्तिलाई क्रुसमा झुण्ड्याइएको थियो भनेर सिकाएको जस्तै हो जबकि उनी आफैं विश्वासी होइनन् ।
उदाहरण: तपाईंले येशूको ऐतिहासिकता किन वकालत गर्नुहुन्छ? येशू काल्पनिक हुनुभएको भए के प्रभाव हुने थियो ? पावल लेख्छन् कि उहाँ जीवित नहुनुभएको भए हाम्रो विश्वास नै व्यर्थ हुनेछ ! अनि इतिहासमा भएको व्यक्तिको बारे मात्रै हामी यसरी भन्न सक्छौं र यसले हाम्रो उद्धार र अनन्त जीवनको सवालमा प्रभाव ल्याउँछ !
३) Apologetics ले साँचो आराधना तर्फ डोर्याउन पर्छ ।
यसले हाम्रो विश्वासलाई बलियो पार्छ र त्यही विश्वास बमोजिम हामी प्रभुको एक सच्चा आराधक बन्न सक्छौं । यहाँ मैले आराधना भनेको केवल गीत-भजनको कुरो गरेको होइन जुन आराधनाको केवल एक रूप वा भाग हो तर मैले हाम्रो समर्पित जीवनको कुरो गरेको जसमा हामी जेसुकै गर्छौं त्यो उहाँको महिमाको लागि गर्छौं । मानौँ, धेरै युवा विदेशमा जाँदै छन् । किन त? त्यहाँ उनीहरूको करियर र भविष्य राम्रो हुन्छ भनी जानेर होइन र? उनीहरू सबै थोक बुझेर मात्रै जान्छन् । हो, Apologetics ले पनि हामीलाई यसरी नै प्रभु बारे अझै बुझ्न मद्दत गर्छ र हामी उहाँको सम्मुख जान अझै राजी हुन्छौं ।
उदाहरण: प्रभु विश्वासयोग्य हुनुहुन्छ भनी हामी विश्वस्त छौँ भने हामी प्रार्थना, उपवास, सङ्गतीमा अझै समय बिताउँछौँ ।
उहाँ साँच्चै बौरी उठ्नुभएको प्रभु हुनुहुन्छ भनी हामी मान्छौँ भने हामीमा त्यो अनन्त जीवनको आशा हुन्छ र हामी अझै उहाँको आराधना गर्न तत्पर हुन्छौं ।
केही भजनका उदाहरणमा Adrean Dewan को "सार्वभौमिक" गीतलाई पनि लिन सकिन्छ !
४) Apologetics तर्क-वितर्क तथा विवाद गर्ने विषय होइन ।
बहस त आम तवरमा जुनसुकै कार्यक्षेत्रमा पनि हुन जान्छ । जहाँ मत भिन्नता हुन्छ, त्यहाँ बहस आफैं जाग्छ ! तपाईं किनमेल गर्न जानुहुँदा पैसाको मामिलामा बहस गर्नुहुन्छ कि हुन्न? साथीहरू सित कुनै विषयमा छलफल गर्दा सधैं सहमत हुनुभएको छ र? हो, बहस यसरी हाम्रो जीवनको एक आम भाग हो । मानवीय स्वभाव हो । हामी हरेकलाई जित्नु नै छ र त्यसैमा आनन्द पनि आउँछ !
उदाहरण: यदि कसैले भन्छ कि "येशू एक असल गुरु मात्रै थिए, ईश्वर थिएनन्" । तपाईं चुप लागेर त पक्का पनि बस्नुहुन्न होला! तपाईं सित तर्क पक्का पनि हुन्छ होला!
जस्तैः
साथी: येशू त असल गुरु मात्रै हुन् !
तपाईं: के एक साधारण गुरु मृत्यु माथि विजय हुन सक्छन् त?
साथी: मरेर कोही जीवित हुँदैन । मिथ्यालाई वास्तविकता भन्न मिल्छ र?
तपाईं: मिथ्या भनी कसरी भन्न सक्छौ? के तिमी गएर आफैंले अनुसन्धान गरेको थियौ र ?
साथी: म आफैं किन जानुपर्यो? यत्तिकै थाहा हुन्छ नि ! के चन्द्रमामा क्रेटर छ भन्न म त्यहाँ जान पर्छ र?
तपाईं: अनि त्यसो भए....(कुनै तर्क दिनुहुन्छ होला)
साथी: उसोभए ... (कुनै तर्क दिन्छन् होला)
(यसरी तर्क चलिरहन्छ ...)
यसरी नै मत भिन्नता हुँदा बहस आफैं बन्दै जान्छ । Apologetics मा पनि बहस हुन्छ नै तर उत्तर कसरी प्रेम साथ दिने, तर्क कसरी चलाउने, संवाद कसरी गर्ने, आदि कुरा सिक्न पर्छ । अक्सर माथी उल्लेख गरिएको जस्तो विवाद हामी भेट्न सक्छौं जहाँ एक अर्कालाई प्रश्न गर्ने र आफू माथि हुन खोज्ने जमर्को गरिन्छ । तर Apologetics मा यस्तो बहस प्रायः स्वस्थ मानिँदैन । भनिन्छ Apologetics is to win souls, not to win arguments. सकेसम्म विनम्रता अपनाएर एकदमै उचित तरिकाले बहस गर्न सिकाइन्छ जहाँ प्रमाणका कुरा, गहिराईमा सोच्न लगाउने कुरा, आफ्नो मुद्दालाई बलियो पार्ने कुरा संलग्न हुन्छ ।
५) Apologetics बाइबलीय कार्य नै हो ।
येशू आफैं एक त्यस्तो व्यक्ति हुनुहुन्थ्यो जसले धेरै सँग बहस पनि गर्नुभयो र धर्म शास्त्रीय सिद्धान्तको वकालत पनि गर्नुभयो । यदि कसैले Apologetics आवश्यक छैन भन्छ भने यो प्रश्न पावललाई गर्नुहोस् ।
उदाहरण: तपाईं केवल "विश्वास" मात्रै भनेर हुँदैन किनकि हाम्रो भन्दा पनि ठूलो विश्वास अन्य धर्महरूमा गरिन्छ । हाम्रो विश्वासको जग के हो त्यो महत्त्वपूर्ण छ - रित्तो चिहान । बाइबल आफैं यसको वकालत गर्दछ र हामीलाई पनि हामीमा भएको आशा बारे कसैले सोधे त्यसको उत्तर दिन सदैव तयार हुन आव्हान गरिएको छ - १ पत्रुस ३:१५ !
Apologetics एक अत्यावश्यक क्षेत्र हो । आजको युगमा यसको ठूलो महत्त्व र भूमिका छ । नेपालको सन्दर्भमा भन्नपर्दा मण्डली जगतमा सायद धेरैलाई यस बारे पर्याप्त जानकारी नहोला तर पनि हरेक विश्वासी कुनै न कुनै बेला यसमा संलग्न भएकै हुन्छ ! तर यस क्षेत्रमा नै विशेष बोलावट पाएको एक व्यक्तिले आफ्ना जिम्मेवारीहरूलाई राम्ररी बुझ्न पर्छ ।

2 Comments
Yes, I used to argue with my friends in my college life. I was focused too much on winning arguments. Later, it had bad impacts in my testimony and witness. My attitude led them away from the Lord and that was a sad part in my life :(
ReplyDeleteThank you for your comment :)
Delete