अन्य धर्मका देवी देवताहरूलाई हामी कुन प्रकारले बुझ्न सक्छौं होला?

 

 


यो एकदमै राम्रो प्रश्न हो । आजकल चर्चहरूमा अन्य देवताहरूलाई "सैतान", "झूटा देवता" आदि भनेर सम्बोधन गर्न मात्रै सिकाइएको हुन्छ । यद्यपि हामी सित अन्य वैकल्पिक व्याख्याहरू पनि उपलब्ध छन् । 


१) उत्पत्ति ६ को मुद्दा 

उत्पत्ति ६:१-४ एकदमै विवादित खण्ड हो जसमा "परमेश्वरका पुत्रहरू" र "नेफिलिम" बारे स्पस्टिकरण दिइएको छैन । यी दुई वर्गहरू कस्ता प्राणी हुन् भन्ने बारे कतै पनि ठेट उत्तर पाइँदैन । चर्चको इतिहासमा यस खण्डलाई अक्सर तीन किसिमले बुझिएको छ: सेथको सन्तान, स्वर्गीय प्राणी र शक्तिशाली शासकहरू । परम्परागत रूपमा "स्वर्गीय प्राणी" को अडान बलियो छ भने कट्टरपन्थी समूहमा "सेथको सन्तान" । यदि स्वर्गीय प्राणी अनि शासकहरूको अडान लिने हो भने धेरै हदसम्म विभिन्न संस्कृतिमा पाइने देवता, दैत्य, आधा मानव- आधा देवता सरह प्राणीहरू, प्रतापी शासकहरू, क्रूर बलिया योद्धाहरूका कहानी यस खण्ड सँग मिल्छ [Consult: Michael Heiser, Sam Shamoun]। यद्यपि यसको जरो गैर-बाइबलीय पुस्तकहरूमा जान्छ जस्तैः हनोकको पुस्तक । यदि यो दृष्टिकोण ठीक हो भने मात्रै संसार भरि फैलिएका धर्म र देवी देवताहरू बारे यस खण्डले बोल्ने ठाउँ केही छ नत्रभने सेथको सन्तानको दृष्टिकोणबाट चाहिँ केही उत्तर पाउन सकिँदैन । बाइबलका विद्वानहरू पनि यस खण्ड बारे अनभिज्ञ नै छन् । तसर्थ, यस खण्डको प्रयोग गर्दा सावधानी निकै अपनाउनु पर्छ । 


२) रोमी १ अध्याय 

यस खण्डबाट पनि केही अवधारणा लिन सकिन्छ । यहाँ स्पष्ट रूपमा भनिएको छ कि सृष्टि कै थोकबाट स्पष्टीकरण हुँदाहुँदै पनि मानिसहरूले ती कुरालाई नै बरु पुज्न शुरु गरे । अक्सर प्रकृति पुजन धर्म अनि वैदिक परम्परामा पनि प्राकृतिक कुराहरूलाई नै देवत्त्वकरण गरेर पुजिएको हामी पाउँछौं । केही हदसम्म अस्पष्ट एवम् विवादित नै भए तापनि हिन्दू धर्म बारे चर्चा गरिएको इतिहासमा पनि यस्तै विकासबाट आजको आधुनिक धर्म बन्दै गएको केही विद्वानहरूको बुझाइ पनि पाइन्छ [Watch: SKS season 2, Christianity & Hinduism, Ep. 1, Glory Apologetics]। तसर्थ, यो खण्ड माथिल्लो भन्दा धेरै उपयोगी खण्ड हो ।


३) डिभाइन काउन्सिल - माइकल हाइजर 

स्वर्गीय माइकल हाइजरको डिभाइन काउन्सिल अनुसार देवी देवताहरू सबै स्वर्गीय प्राणी नै हुन् जो सर्वोच्च परमेश्वरको स्वर्गीय परिवारका भाग हुन् । पछि मानिसहरूको विद्रोहका कारण उनीहरूलाई प्रत्येक राष्ट्र माथि राज्य गर्न दिइयो । अक्सर बाइबलमा युद्धहरू परमेश्वर र देवी देवताहरू बीच भएको नै हामी पाउँछौं । यो सिद्धान्त हाल पश्चिमी संसारमा प्रसिद्ध हुँदै गएको छ । हाम्रो भूमिमा यो सिद्धान्तले कस्तो प्रभाव पार्छ भन्ने कुरो हाल अड्कल गर्न सकिँदैन । प्रायः धेरैलाई माइकल हाइजर बारे थाहा छैन र उनको धेरै अवधारणाहरू पनि सायद पचाउन गाह्रो हुन सक्छ । अझै स्पष्टीकरण दिन पर्ने कुरो के छ भन्दा उनको यो सिद्धान्त पा. सी पी शर्माको "तीन त्रिलोक, चौध भुवन" फिल्ममा देखाइएको जस्तो अवधारणा पनि होइन । यस सिद्धान्तलाई बुझ्नका लागि विश्वव्यापी लोकप्रिय स्रोत "Bible project" लाई हेर्न म अनुरोध गर्दछु ! 


४) प्रतापी राजाहरू आफैंलाई देवता सरह उचाल्ने परम्परा 

यो पनि हामीले देख्न सक्छौं - कसरी नबुकदनेसर राजाले आफ्नो मूर्तिलाई पुज्न लगाएका थिए । अक्सर प्राचीन समयमा राजाहरूको यसरी सम्मान गरिने गर्थ्यो । टुरोसको राजाको विषयमा पनि यस्तै वर्णन छ जुन खण्ड सैतानको उत्पत्तिको निम्ति अक्सर प्रयोग गर्ने गरिन्छ । 


५) विकृति भएको परमेश्वरको प्रतिरूप 

पापको कारण हामीमा भएको परमेश्वरको प्रतिरूपमा दाग लाग्यो । त्यही दागको कारण हामीले बनाउने हरेक देवी देवताहरू हामी जस्तै देखिन थाले । अक्सर आज पनि कति विद्वान यही भन्छन् कि भगवानले हामीलाई होइन तर हामीले भगवानलाई बनायौँ । हिब्रूको पुस्तकले यही भन्दछ कि परमेश्वरको साँचो प्रतिरूप भनेकै येशू हुनुहुन्छ र हामी उहाँ जस्तै बन्दै जाने हो - हाम्रो वास्तविक प्रतिरूप ! आजका देवी देवता परमेश्वरका अपूर्ण, धमिलो र विकृत प्रतिरूप हुन् । 


६) मिश्र देशमा भएका जादूगरहरू 

मोशाले परमेश्वरको शक्ति मार्फत गरेका कतिपय चमत्कारहरूलाई मिश्र देश कै जादूगरहरूल समेत हुबहु नक्कल गर्न सकेका थिए । साथै, तन्त्र-मन्त्र, अलौकिक कामहरू गर्ने व्यक्तिहरू बारे पुरानो र नयाँ करार दुबैले बोल्दछ । तसर्थ, केही हदसम्म शक्तिशाली कामहरू गर्न सक्ने व्यक्तिहरू पनि हुनेछन् भन्ने कुरामा कुनै शंका छैन । "जसको शक्ति उसैको भक्ती" हाम्रो समाजमा प्रचलित कथन नै हो ।


७) निम्रोद, सेमिरामिस र तम्मुजको सिद्धान्त 

थोमस ह्वाङ्गको धर्महरूको शुरुआत भन्ने पुस्तकमा यस सिद्धान्तलाई प्रस्तुत गरिएको छ जसले दाबी गर्छ कि आज जतिसुकै देवी देवताहरू छन्, ती सबै निम्रोद, सेमिरामिस र तम्मुजबाट नै आएका हुन् । धेरै बाइबल विद्वानहरूले उनको कामलाई आधिकारिक मान्दैनन् । 


अब मुख्य कुरो यही होकि कोही शक्तिशाली छ भन्दैमा ईश्वर नै हुनुपर्छ भने छैन, चमत्कारका काम गर्दैमा ईश्वर नै हुनुपर्छ भन्ने छैन । पापको कारण यस संसारका मानिसहरू साँचो परमेश्वरबाट टाढा हुँदै गए र परिणाम स्वरूप  देवीदेवताहरू प्रकट हुँदै गए । आज पनि धेरै महान व्यक्तिहरूलाई यहाँ पुज्ने गरिन्छ, अवतार भनी सम्मान गर्ने गरिन्छ । तसर्थ, यो विषयवस्तुलाई धेरै कोणबाट बुझ्न र विश्लेषण गर्न सकिन्छ ।

Post a Comment

0 Comments