Advertisement

Responsive Advertisement

किशोर र जवान अवस्थाका वेदनामा प्रभुमा भरोसा कायम राखौं !

 



आजको किशोर र जवानहरूका लागि १ पत्रुस ५:७ बाट एक विश्लेषण


(यद्दपि यो लेख मैले १७ जुनको शुक्रबारको मध्यरात, २०२२ मा लेखेको थिए, १ पत्रुस ५:७ बाट प्रेरित भएर लेखेको थिइन)

 

हामी किशोर र युवा अवस्थामा पुगिसकेकाहरूलाई कहिलेकाही जीवन विरक्त र तीतो लाग्न सक्छ । पढाई, काम, प्रेम, लत आदि जस्ता कुराले निकै पिरोलिएका हुन्छौँ । लाग्दछ कतै व्यर्थको जीवन त जिइरहेका छैनौं होला ? जीवनमा ठेस खानु नौलो कुरो होइन तर भूतकालबाट सिकेर वर्तमान समयलाई धारिलो पार्न सक्न पर्दछ ।


जीवन सधैं आफूले चाहेको र सोचेको जस्तो हुँदैन । यहाँ अनगिन्ती संघर्षले हामी दिनानुदिन घेरिएका छौँ । बेला बखत त जीवन नै व्यर्थ जस्तो लागेर आउँछ । सबै ठाउँबाट ढोकाहरू बन्द भइसके अब हरेस खानु बाहेक अरु केहि विकल्प छैन जस्तो लागेर आउँछ । जीवनमा कहिले विजय हासिल गर्छौं त कहिले लाजमर्दो हार पनि ! जीवनमा कहिले हामी धेरैले साथीहरूले घेरिएको हुन्छौँ भने कहिले त एक्लै हुन्छौं । कहिले हाँसो र खुशी बाँडफाँड गर्न प्रशस्तै मानिस हुन्छन् त कहिले दु:खद वेदनाका चिच्याहट पोखाउन पनि सुनिदिने कोहि पाउँदैनौँ । यस्तो अवस्था पर्दा हार खाने निकै स्वभाविक कुरो हो । हामी सबै एउटा मौका, कृपा, आशा र परिवर्तनलाई कुरेर बस्दछौँ । आफूलाई सहयोग गर्न सक्ने, हौसला दिन सक्ने, समस्याबाट पार लगाउन सक्ने कोहि छ कि भन्ने तीतो आशा लिएर बस्छौं !


प्रभुमा विश्वास गरिसकेर पनि जीवनमा उतारचढाव नआएको दिन सायद कसैको हुँदैन । उहाँले त आत्मीय जगतको उतारचढावलाई साम्य पार्नुभएको हो तर हाम्रो जीवनमा संकष्टहरू अब रहनेछैन भनेर कुनै प्रतिज्ञा हामी पाउँदैनौँ यद्यपि संसारका अन्य मानिसहरू भन्दा हामीमा ठूलो आशा छ ! यहि आशा अरुलाई पनि बाड्न सक्न पर्छ ! जीवनका कठिन परिस्थितिहरूमा हाम्रो हार भएको हुन्न चाहे त्यसले हाम्रो घाउमा नून नै किन नथपिओस ।


जीवन एउटा पाठ हो जहाँ प्रभुले हामी उहाँमा भरोसा गरेको चाहनुहुन्छ । हाम्रो जीवन उहाँ सितको हिँडाई हो । याद राखौँ कि हामी कसैले पनि हाम्रो वेदनाको बारेमा प्रभुलाई के थाहा र भन्न सक्दैनौं ! उहाँ स्वयं मानिस भएर मानवीय दु:खद जीवनको स्वाद चाखिसक्नुभएको छ ! अझै भन्ने हो भने हामीले भन्दा उहाँले धेरै दुख कष्ट भोग्नु भयो ताकी उहाँ हाम्रो लागि सहयोगी बन्न सकून् ।


जीवनमा हामी एक्लै छोडिदा, एक्लै रुँदा, निराशाजनक अवस्था भएर जाँदा पनि हामीमा के बिति रहेको छ स्व कुरो प्रभु सदा जान्नु हुन्छ । मृत्यु सम्म पनि हाम्रो जीवन सुखद कहिल्यै हुने छैन तर प्रभुले सदा हाम्रो साथ दिनु हुनेछ भनी हामी विश्वस्त रहनैपर्छ । आज जीवनका कति मोडहरुमा अस्तव्यस्तताले गर्दा धेरैले उहाँको साथ नै छोडेर गएका पनि छन् । यो नै एक महान गल्ती हो ! वास्तविकता यहाँ छ कि प्रभुमा नै हामीले एक साँचो आनन्द, शान्ति र खुशीको अनुभूत गरिरहेका हुन्छौं किनभने उहाँले हामीलाई कहिल्यै त्याग्नुहुने छैन । संसार सृष्टि गर्नु हुने परमेश्वरलाई मानव जीवन जिउन कति गाह्रो थियो होला ? उहाँ त अझ आफ्नो महिमा नै हाम्रो खातिर पन्छाएर एक दासको रूपमा आउनुभयो ।


हाम्रा निराशाजनक जीवनको गोरेटोमा पनि प्रभु हामी सित सदा छन् भनेर कदापि बिर्सनु हुन्न । हामी उहाँ संगै यात्रा गर्दै छौँ । हाम्रा जे जति पीडा र रोदन छन् ती उहाँको पनि हो ! हाम्रो हर पाइल पाइलमा साथ दिने उहाँको प्रतिज्ञा छ ! तसर्थ हामीले जीवनमा हरेस खानु हुन्न चाहे जतिसुकै लज्जास्पद अवस्थाहरुबाट जानू परोस् ! लाज के हो येशूले पनि जान्नु हुन्छ ! जीवनमा कुनै पल एक्लै छोडिनु के हो उहाँले पनि जान्नु हुन्छ ! पीडामा आइपर्ने चिच्याहट के हो उहाँले पनि जान्नु हुन्छ । उहाँ केवल ईश्वर र मुक्तिदाता मात्र होइन तर हाम्रो एक असल मित्र पनि हुनुहुन्छ ! हाम्रो आशुले भिजेका जीवन संघर्षमा उहाँ समर्पण, विश्राम र एउटा साँचो आशाको लागि हामीलाई बोलाउनु हुन्छ !


Post a Comment

0 Comments