तीन त्रिलोक चौध भुवन: एक ईश्वर शास्त्रीय समालोचना भाग २

 


गलत व्याख्या गरिएका बाइबलका पदहरू:

  • अस्टावरणको अन्धकार सित उत्पत्ति १ र प्रस्थान १०:२१ को तुलना
  • तेश्रो लोक सित २ कोरिन्थी १२:२ को तुलना
  • एफिसी ४:९-१० सित धेरै स्वर्गहरूको तुलना
  • व्यवस्था १०:१४ सित अस्टावरण अनि सात शुन्यहरूको तुलना
  • व्यवस्था १०:१७ सित धेरै ईश्वरहरूको तुलना
  • मत्ती २१:९, प्रकाश २१:२२-२३ सित परमधामको तुलना
  • प्रकाश २०:११ सित सपनामय जगतको लुप्त हुनको तुलना
  • भज ७३:२० र अयू २०:८ सित सपनामय जगतको तुलना 

 

अस्टावरणको अन्धकार सित उत्पत्ति १ र प्रस्थान १०:२१ को तुलना

  • उत्पत्ति १:२ मा रहेको अन्धकार केवल पृथ्वीमा परमेश्वरले एउटा व्यवस्थित वातावरणको सृजना गर्न अघि रहेको अस्तव्यस्तताको वातावरण मात्रै थियो |
  • प्रस्थान १०:२१ मा उल्लेखित अन्धकारको विपत्ति मिश्री सूर्य देवता ‘रे’ माथि गरिएको प्रहार थियो
  • यी दुई पदहरूले अलग-अलग घटनाहरू बारे वर्णन गरेका छन्
  • परमेश्वरले नऔँ विपत्तिको अन्धकार लिएर अस्टावरणमा राख्नुभएको कुरो अनुमान बाहेक केहि होइन | 


तेश्रो लोक सित २ कोरिन्थी १२:२ को तुलना

  • २ कोरिन्थी १२:२ मा उल्लेखित तेश्रो स्वर्गलाई अधिकांश टिप्पणीकारहरूले परमेश्वरको उच्च वासस्थानको रुपमा चित्रण गरेका छन् जहाँ पहिलो स्वर्ग आकास हो भने दोश्रो स्वर्ग अन्तरिक्ष हो | तथापि, तेश्रो स्वर्ग यहुदीहरूको त्यस समयको परम्परागत मान्यता अनुसारको  सात स्वर्गहरू मध्य एक पनि मानिएको हुन सक्छ | जे भए तापनि, पावलको सरोकार एक आत्मिकी अनुभव बारे थियो तर कुनै स्वर्गहरूको गणितीय मापदण्ड बारे थिएन |
  • यी दुई वर्णन मध्य जुनसुकै सहि व्याख्या भए तापनि वक्ताको तेश्रो स्वर्ग सँग मेल खाँदैन

 

एफिसी ४:९-१० सित धेरै स्वर्गहरूको तुलना

  • यहाँ धेरै स्वर्गहरू भन्नाले मानवीय भाषामा परमेश्वरको स्थानलाई एक महा पवित्र स्थानको रुपमा चित्रण गर्न चलाइएको भाषा थियो | स्वर्गहरू भन्ने वाक्यांश मानवीय बुझ्ने शैलीमा आत्मिकी जगतमा परमेश्वरको सर्वश्रेष्ठ उपस्थितिलाई औंल्याउन प्रयोग गरिएको थियो | परमेश्वर आफैं पनि आत्मिकी जगतमा वास गर्नुहुने भएकोले यस्तो भाषा प्रयोग गरिएको थियो |
  • वक्ताको प्रस्तुति सित यो मेल खाँदैन | बाइबलको भाषामा स्वर्ग र पृथ्वी मात्र हो | कुनै पनि लोक, भुवनहरू बारे बाइबलको समर्थन पाइँदैन |


व्यवस्था १०:१४ सित अस्टावरण अनि सात शुन्यहरूको तुलना

आकास मण्डल र सर्वोच्च आकास मण्डल पनि प्राचीन निकट पूर्वीय समयको विश्वदृष्टिकोण थियो जुन बेला पृथ्वी माथि विविध मण्डलहरूको एक परिकल्पना रहेको थियो | वक्ताको अस्टावरण र सात शुन्यहरू सित यी स्थानहरूको कुनै सम्बन्ध नै छैन | 

वक्ताको अस्टावरण र हिन्दू विश्वासको अस्टावरण

 

व्यवस्था १०:१७ सित धेरै ईश्वरहरूको तुलना

  • डिभाइन काउन्सिलको विषयमा हामीले अगाडी पनि हेरिसक्यौं | याह्वे परमेश्वर अन्य एलोहिमहरू भन्दा महान र पुज्न योग्यका हुनुहुन्छ भन्ने कुरो यस अवधारणाले देखाउँदछ | त्यहाँ अरु थुप्रै ‘परमेश्वरका पुत्रहरू’ कहलिने देवहरू छन् जसको अधिकार भित्र पृथ्वीका राष्ट्रहरू रहेका छन् | यी देवहरू नाशवान होइनन् तर परमेश्वरले आफ्नो लागि एक स्वर्गीय परिवार स्थापना गर्नुभएको अवधारणा हो |
  • तर वक्ताको प्रस्तुति अनुसार हिन्दू देवी देवता सबै नाशवान छन् र बाइबलमा उल्लेखित यी ईश्वरहरू नै ती देवीदेवता हुन् | डिभाइन काउन्सिल जस्तै लाग्ने उनको यो प्रस्तुति वास्तवमा फरक छ किनकि ईश्वर सम्बन्धि हिन्दू धर्मको बुझाई बाइबलको भन्दा धेरै भिन्न छ | वक्ताको भनाई अनुसार अक्षर ब्रह्म निन्द्राबाट ब्युँझिए पश्चात् सबै देवताहरू लुप्त भएर जानेछन् | यस्तो अवधारणा बाइबलीय डिभाइन काउन्सिलमा कतै पाइँदैन | हिन्दू धर्ममा पनि सृष्टि र ईश्वर बारे विविध तर वृहत अवधारणाहरू पाइन्छन् |

 

मत्ती २१:९, प्रकाश २१:२२-२३ सित परमधामको तुलना

  • मत्ती २१:९ मा परमधामको लागि प्रयोग ग्रीक शब्द ‘हुपसिसटस’ हो जसको अर्थ ‘सर्वोच्च’ मात्रै हो |
  • प्रकाश २१:२२-२३ मा परमेश्वरको शहर बारे विवरण मात्रै हो | यो शहर पक्का पनि फरक शहर हुनेछ जुन परमेश्वरको महिमाले भव्य रहनेछ |
  • यी कुनै पनि पदहरूले वक्ताको परमधामको अर्थ दिंदैन | फेरी बाइबल अनुसार हाम्रो गन्तव्य केवल ‘स्वर्ग’ एक विशेष स्थान नभएर यो एक नयाँ राज्यको अवस्था हो | 


प्रकाश २०:११ सित सपनामय जगतको लुप्त हुनुको तुलना

  • प्रकाश २०:११ फेरी न्यायको विषयमा हो | त्यो दिन सेतो सिंहासनमा न्यायधिस विराजमान हुनुहुनेछ र उहाँको दृष्टि सामु आकास र पृथ्वी भागीजानेछ | भविष्यको यो विवरण हाम्रो समझ भन्दा बाहिर छ र यो खास कसरी हुनेछ हामी जान्दैनौं |
  • तर यो पक्का छ कि वक्ताले बताए अनुसार ती लुप्त भएका आकास र पृथ्वी सपनामय जगत होइनन् |


भजन संग्रह ७३:२० र अय्यूब २०:८ सित सपनामय जगतको तुलना

  • भजन संग्रह ७३:२० हिन्दू देवताहरू र सपनामय जगत बारे होइन | यो पुरै अध्याय दुष्टहरूको फलिफाप बारे बिलौना र अन्त्यमा उनीहरूको दुखद गन्तव्य र उनीहरू माथि आइलाग्ने परमेश्वरको न्याय बारे हो | यहाँ सपनाको प्रयोग केवल सांकेतिक भाषाको रुपमा भएको छ जसले दुष्टहरूको क्षेणिक सुखविलासलाई देखाउँदछ |
  • त्यस्तै अय्यूब २०:८ पनि दुष्ट मानिसहरू बारे थियो | यहाँ कुनै सपनामय संसार र देवी देवता हराउने कुरा छैन |
  • फेरी वक्ताले कसरी यी पदहरू लिनुभयो? यसलाई ‘चेरी पिकिंग’ भनिन्छ | 


निस्कर्ष...

  • वक्ता ज्यूले निकै परिश्रमका साथ आफ्नो प्रस्तुति त दिनुभएको नै थियो | तर उनको भाषा र आधारमा निकै समस्या देखियो |
  • येशुलाई मुक्तिदाता र प्रभु प्रमाणित गर्ने जमर्कोमा उनले हिन्दू धर्मको चौध भुवनलाई नै सत्य ठहराउने बाध्यात्मक परिस्थिति सृजना गरिदिए |
  • उनले सान्दर्भिकरणको साटो मिसावटको प्रक्रियालाई पछ्याए |
  • बाइबलबाट जबर्जस्ती जता पायो त्यताबाट पदहरू ल्याउनुभयो |
  • उनले फेरी सबै कुरा स्पष्टीकरणका साथ व्याख्या गरेनन् |
  • सुरेन्द्र गौतम, नवराज पनेरु र अभिषेक जोशी जस्ता हिन्दू अभियानताहरूले उनको प्रस्तुतिको ठूलो बिरोध गरेका छन् | यस बाहेक इसाई जगत कै केहि विद्वानहरूले पनि उनको प्रस्तुतिको बिरोध गरेका छन् |
  • तसर्थ, उनको यो प्रस्तुति आपत्तिजनक ठहरिन्छ |


स्रोतहरू

Post a Comment

0 Comments