जीवनमा सफलताको शिखर देखि विफलको चित्कार सम्म सिक्न पाएँ
हाम्रो जीवन जन्म देखि मृत्यु सम्म
परिक्षाले निकै घेरिएको हुन्छ । विद्यालय देखि स्नातकोत्तरका तह सम्म हामीले धेरै
परिक्षाको सामना गर्दै आएका हुन्छौं । कहिले सफलता हासिल हुन्छ भने कहिले विफल भएर
जीवन निराश भैदिन्छ ।
प्रभुमा जिएको जीवनमा मैले सफलतामा मात्र
हैन तर दुख र वेदनामा समेत उहाँमा स्थिर हुन, रमाउन, धैर्यधारण गर्न र संघर्ष अनि आँशु लाई
अंगाल्न सिकेँ । विद्यालयको जीवनमा विफल हुनबाट डराउने व्यक्ति र सदा सफलताको शिखरको
आशा राख्ने व्यक्ति आज विश्वविद्यालयका चुनौतीपूर्ण वातावरणलाई पार गर्दै वर्तमान
समय सम्म आइपुग्दा असफलतालाई समेत सहन, अंगाल्न सिकेँ र असफलतामा पिरोलिएकाहरूको कष्ट र पीडा जान्न
सकेँ ।
जुन विफल जीवन आँखा सामु अपत्यारिलो
किसिमले झल्किरहेको देखेँ, आफैलाई वकालत गर्न कुनै पनि सामर्थ्य नपाएको अनुभव गरेँ ।
असफलताको जालमा पर्नुको कारण मेरो केहि जवाफ दिने ठाउँ थिएन । मानसिकतामा ठूल्ठूला
वेदना र तनाव झेल्दै आएँ र पीडा पोखाउने कुनै ठाउँ देखिनँ । मित्रहरू सफलताको शिखरमा
पुगेको देख्दा आफूले कता बाटो बिराएछ जस्तो लाग्थ्यो । तनावग्रस्त मानसिकतामा
एक्लोपनाको जीवनमा नै रहने बानी बस्दै गयो । प्रभु सामु मात्र मेरा आशु बहन्थ्यो
किनकि व्यक्त गर्नलाई कुनै शब्द नै थिएन ।
जीवनमा कतै गलत बाटो पछ्याएँ कि भनेर
लाग्दथ्यो तर अब ढोका भित्र पसिसकेपछी भाग्ने कुरो थिएन । संघर्षबाट भएरै जान
पर्ने स्थिती आयो । सायद आफ्नो भविष्य बनाउने निर्णयको बेला मेरो स्पष्ट लक्ष थिएन
र यसैको कारण आज भौतारिन बाध्य भएँ । तर जीवनको अन्धकारमय पलबाट भएर जाँदा पनि
प्रभुमा नै हरदम भरोसा राखेँ । तनावग्रस्त भएको जीवनमा अनेकौं नकारात्मक विचारले
सताइसकेको मानसिकतालाई पार गर्दै अग्निमय मार्ग मै हिँड्न कायम गरेँ । प्रभुमा
यसरी मैले जीवनका कष्टकर समयमा भरोसा राख्दै अघि बढेँ । आज असफलताको गहिराइ समेतको
अनुभव लिन पाएँ । असफलतामा बाँचिरहेका दुखित व्यक्तिहरूको दुखलाई जान्न पाएँ ।
यस्तो परिस्थिति बाबजुद पनि प्रभुलाई
मैले धन्यवाद चढाएँ । उहाँले मलाई सम्हाल्नु भयो र लड्न दिनु भएन । हरेस खाने
अवस्था सम्ममा पनि मलाई अस्तव्यस्ततामा अल्झिन दिनुभएन । उहाँमा नै धैर्यता जानेँ,
संघर्ष जानेँ । यो
त पढाईको सन्दर्भ र प्रसङ्गमा थियो तर जीवनका पलपलका परिक्षामा समेत उहाँ हाम्रो
लागि सदा सहयोगी रहनुहुनेछ र हामीलाई लड्न दिनुहुनेछैन ।
जीवनमा असफलता सित नडराउनुहोस तर हर समय
आफ्नो आशा प्रभु केन्द्रित पार्नुहोस । हाम्रो जीवनका हरेक संघर्षबाट उहाँले हामीलाई
उत्तम पाठ सिकाउन सक्नुहुन्छ र त्यो हाम्रो हानीको लागि हैन तर हौसला र उहाँमा अझै
बढी भरोसा गर्न, जीवन उहाँमा नै
समर्पित गर्न र उहाँको राज्यलाई अंगाल्नका लागि हो ! आज तपाईं हामीले भोगेका दु:खद
परिस्थितिबाट सायद प्रभुले अरुको निमित्त एक सहानुभूति जनाउन सक्ने र अरुलाई पनि
मद्दत गर्न सक्ने व्यक्ति तपाईं र हामीलाई बनाउन सक्नुहुनेछ !
धन्यवाद
0 Comments