हाम्रो ज्ञानले अरुको हानी नहोस्
१ कोरिन्थी ८:९, ११-१२ मा आधारित
कहिलेकाहीँ हाम्रो स्वतन्त्रता र ज्ञान अरुको
निम्ति विषालु बनिदिन सक्छ | हामी दैनिक रूपमा जीविका गुजार्दा पनि हामी आफ्ना
लागि होइन तर अरुका लागि पनि बांचिराखेको कुराको बोध हुन अत्यन्त आवश्यक छ | कतै
हाम्रो ज्ञान, बोली-व्यवहार, आचरण र स्वतन्त्रताले हाम्रा छिमेकीलाई असर पार्ने
काम त भइरहेको छैन होला?
मेरो आफ्नै जीवनमा यस्ता घटनाहरू घटे जसले मलाई
पछी पछुतो तुल्यायो | अनि मलाई महसुस भयो कि हाम्रो आफ्नो ज्ञान, व्यवहार र
स्वतन्त्रताले अरुलाई पनि निकै प्रभाव पार्दो रहेछ | हामीमा केहि ज्ञान छ भने,
हामी त्यसै अनुसार चल्न चाहन्छौं र स्वतन्त्र हुन खोज्छौँ तर यो सोच्दैनौँ कि
हाम्रो यस कदमले खास अरुलाई धेरै असर पारिरहेको हुन्छ | हाम्रो कदम यस्तो हुन्छ कि
हामीले केवल आफ्नै लागि मात्र सोच्छौँ अनि यो बिर्संचौं कि कतिपय त्यस्ता कुराहरू
हाम्रो आफ्नै लागि पनि त्यति महत्त्वको हुँदै हुँदैन | ती कुरा जानेर पनि खासै
जीवनमा केही फरक पर्दैन |
यस्तै एउटा घटना थियो प्रार्थना गर्दाको मेरो
गल्ती | सायद स्वर्गीय पा. सी.पी. शर्माको फिल्म ‘तीन त्रिलोक चौध भुवन’ यहाँहरूले
हेर्नुभएको होला वा नभएपनि पक्का पनि सुन्नुभएको छ होला! हो त्यही फिल्म, जसमा
येशुलाई सारा हिन्दू देवीदेवताहरू भन्दा पनि उच्च देखायो | अब यस फिल्मको विषयमा
यहाँ म वृहत रूपमा जाँदिन | तर यस फिल्मलाई शुरु-शुरुमा सानै उमेरमा हेर्दा केहि
नबुझेको थिएँ अनि फेरी पछी सायद स्कूलको उमेर पछी हेर्दा केही-केही बुझ्न थालें |
सायद मैले फिल्म धेरै पल्ट हेरिसकें | मबाट एउटा ठूलो भूल हुन पुग्यो | यस फिल्मका
कुरालाई कुनै खोज र अनुसन्धान बिना नै मैले निकै गम्भीरताका साथ लिएँ | अनि
वक्ताको भनाई अनुसार ‘पूर्ण परमात्मा परब्रह्म’ लाई मैले बाइबल कै परमेश्वर समान
सोचेर आफ्नै प्रार्थनामा त्यहि शब्द समेत हाली प्रार्थना गर्न थालेँ! यो प्रार्थना
एक दिनको थिएन तर सायद अझै केहि लामो समयसम्मको! अनि मेरो आफ्नै परिवारबाट एल्डर पि. ए. थोमस साथै बालकृष्ण शर्माले यस फिल्मको बिरोध गरेका थिए भनी सुनें, तब मैले यस फिल्म बारे केही
अनुसन्धान गर्न थालेँ | अन्त्यमा, निष्कर्ष नकारात्मक निस्कियो! र मैले निकै पछुतो
गरें! अब यहि फिल्म मार्फत धेरै ब्राह्मणहरू येशुमा आएका पनि छन् भन्ने गवाहीहरू
पनि पाइन्छन्, त्यो एक अलग विषय हो जसलाई म छुन चाहन्नँ | कवल यति कि, मैले
अनावश्यक रूपले ‘पूर्ण परमात्मा परमब्रह्म’ शब्द बोल्दै प्रार्थना गरें जुन मेरो मूर्खता
थियो |
यस्तै अर्को घटना ‘अल्लाह’ शब्द सित सम्बन्धित
छ | स्मरण रहोस् कि, ‘अल्लाह’ शब्द अरबी ख्रीष्टियनहरूले पनि प्रयोग गर्छन् तर उनीहरूले आफैंलाई मुसलमानहरूको प्रयोगबाट अलग देखाउँछन् ! ‘के हामी विश्वासीलेअल्लाह शब्द प्रयोग गर्नुहुन्छ?’ भन्ने प्रश्न पनि यताकता सुन्नमा पाइन्छ | यसमा
हुने विवाद र तर्क-वितर्क आफ्नै ठाउँमा होला तर मैले यसको ज्ञान पाए पश्चात् कतै-कतै
‘अल्लाह’ शब्द समेत प्रयोग गरेको छु | यो त मेरो व्यक्तिगत मामिलाको विषयमा भयो तर
अब यहि गल्ती मैले आफ्नै घरमा एक जना हाम्रै नातेदार पर्ने गैर-ख्रीष्टियन आन्टी
आउनुभएको र केहि दिन यतै हामी सित बस्नुभएको बेला गरें | उनकै अगाडि मैले के काम
पो गर्दा केहि बिग्रेर ‘हे, अल्लाह, परमेश्वर’ यस्तै केहि बोलेको थिएँ (अब त्यो
बेलाको के भनेर बोलेको के पो याद आवोस् र फेरी?) | यो सुन्ना साथ, उनको प्रतिक्रिया
केहि यस्तो प्रकारको थियो: “अहो! केविन पनि म जस्तै रहेछ त!” तर कस्तो? उनको
विचारमा उहाँ जस्तै ‘सबै धर्म-भगवान एकै हुन्!’ भनी मान्ने व्यक्ति! लौ! भएन त
कुरो खत्तम! मैले के सोचेर बोलेको! उहाँले के बुझ्नुभयो! त्यस दिन देखि मैले अघि
उठाएको प्रश्नलाई परिमार्जन गरें: ‘येशू नाउँ छँदा छँदै फेरी हामीलाई किन अल्लाह
नाउँ चाहियो र?’ स्मरण रहोस्, यो अरबी ख्रीष्टियानहरूको सन्दर्भमा भनिरहेको छैन !
हुन त, येशू प्रति जिज्ञासा जाँगेको एउटा साईबाबा मान्ने केन्द्रमा देखिएको विश्वरूपको तस्वीर बाट! तर येशूलाई विश्वास
गर्नासाथ ‘हिन्दू धर्मले चिनाएको येशू’ भनेर चाहीं मैले कहिल्यै कहिं पनि प्रचार
गरिन जुन कुरा वर्तमान प्रचारक ‘माधव उपाध्याय’ जी ले गर्नुहुन्छ ‘वेदले चिनाएको
येशू’ भन्दै! म त केवल यति खोजमा मात्र थिएँ कि ‘येशू र अन्य धर्माका देवीदेवता बीच फरक के छ?’ जतासुकै गए पनि, मेरो प्रचारको केन्द्र येशू, उनले मेरो निम्ति के
गर्नुभयो अनि उहाँ किन विशेष हुनहुन्छ, यत्ति मात्रै थियो र आज पनि यहि छ | फेरी
हिन्दू धर्मले चिनाएको भन्दा विषयवस्तु विवादित हुन पनि सक्छ र यसले झन् वातवरणलाई
नराम्ररी असर पार्दिन सक्छ ! आज यहि विषय लिएर पनि निकै विवाद ख्रीष्टियन जगत
भित्रै पनि छाएको छ!
यस्ता धेरै विषय-वस्तुहरू छन् जुन नैतिकता सँग
पनि गाँसिएको हुन सक्छ, वा ईश्वर शास्त्रीय ज्ञान सँग! ट्याटू खोप्ने विषय होस् या
रक्सी पिउने विषय होस् या फिल्म हेर्ने विषय होस् या गीतहरु सुन्ने विषय नै किन
नहोस्! हर क्षेत्रमा हामीले एकदमै सावधानी अपनाउनु पर्छ | कति कुरामा हामी अलि
खुला हुन पर्ला भने कति कुरामा हामी एकदम कठोर! तर यी सब कुरालाई वचन, पवित्र
आत्माको अगुवाई र हाम्रो विवेकको तराजुमा राखेर परिस्थिति र त्यसको उपज हेरेर कदम
अगाडी चाल्न पर्छ! यदि हाम्रो गल्तीको कारण अरुलाई ठेस पुग्छ भने निश्चय नै हामीले
त्यसको लेखा दिन पर्नेछ!
0 Comments