आखिर कसरी बुझाउनुहुन्छ?

 



"तिमीहरूले जाबो एउटा फलानोको रोग त निको पार्न सकेनौं । हामीलाई के येशू बारे सुनाउँछौ?" 

"खै त तिमीहरूको प्रार्थना ? किन निको भएन?"

"येशूले त खुब बाढी हटिजा रे! रोग निको पारे रे! अनि खै त चर्च-चर्च नै डुबानमा पर्यो! इसाईहरू नै रोगले ग्रसित छन् !" 


के तपाईंले पनि यस्ता अभिव्यक्तिहरूको सामना गर्नुपरेको छ? हाम्रा आफ्नै छिमेकी, आफन्त र मित्रहरूको आलोचनात्मक प्रश्न हुन् यी! आज यस्तै प्रश्नहरूको उत्तर कतिले दिन नसक्दा सुसमाचार सुनाउन पनि धेरैलाई हिम्मत रहेको छैन । के येशूमा अब केही आशा रहेन त? उत्तर वास्तवमा स्पष्ट छ: होइन ! समस्या येशूमा होइन हाम्रो शिक्षा, सिद्धान्त र बुझाइमा छ ! 


अब केही बेर यी प्रश्नहरूमा ध्यान दिऔँ: 

१) के येशूले हामीलाई कुनै दुख र कष्ट हुनेछैन भनी प्रतिज्ञा गर्नुभएको छ र? 

२) के प्रार्थना हामीले मनलाग्दी चाहेको कुराहरू प्राप्त गर्नका लागि हो र?

३) के रोगीको उपचारका लागि प्रभु आउनुभएको होर? 


हो, हामी कसैलाई पनि दुख-कष्ट मन पर्दैन । कोही पनि रोगी हुन चाहँदैनन् । तर प्रभु आउनुको उद्देश्यलाई के हामीले नजरअन्दाज गरिरहेका छौँ आज? 


हो, रोग निको पार्ने कुरा पनि प्रभुले गर्नुभयो, अचम्मका काम गर्ने कुरा पनि उहाँले गर्नुभयो र प्रार्थनाको उत्तर दिने पनि कुरो उहाँले नै गर्नुभयो ! 


तर... ती कुनै पनि कुरा उहाँले सधैं गरिरहनु हुन्छ भनेर उहाँले प्रतिज्ञा गर्नुभएन । यसको अर्थ के उहाँ भरोसामय हुनुहुन्न ? होइन, उहाँ भरोसामय हुनुहुन्छ तर जे कुरामा उहाँले भरोसा दिलाउनु भएको छैन त्यस कुरामा उहाँ माथि उजुरी गर्नु कत्तिको न्यायोचित होला? 


अब यी कुरामा एकैछिन मनन गरौँ ! 

१) पावलले तीन पटक प्रार्थना गर्दा प्रभुले के उत्तर दिनुभयो ? 

२) बप्तिष्मा दिने यूहन्नाको शीर काट्दा प्रभु कहाँ हुनुहुन्थ्यो? 

३) स्टिफनसलाई ढुङ्गाले हानेर मार्दा उहाँ के हेरेर बसिराख्नु भयो ? 

४) प्रभुका चेलाहरूलाई सताइएको बेला उहाँले किन रोक्नु भएन ? 


कति ठाउँमा प्रभुले अचम्मका काम र उद्धार पनि गर्नुभएको छ भने कति ठाउँमा त्यस्तो केही गर्नुभएको छैन ! मण्डली इतिहासमा पनि उहाँले हरकोहीलाई निको पार्नुभएन, हर आँधी तुफानलाई शान्त गर्नुभएन, हर प्रार्थनाको जवाफ दिनुभएन! कसैलाई गाडीमा जिउँदै जलाइयो! कोही आफ्नो अन्तिम समय अस्पतालको खाटमा रोगले नै च्यापेर बिताए ! कोही प्राकृतिक प्रकोपमा परेर ज्यान गुमाए ! वास्तवमा भन्ने नै हो भने प्रभुले समस्या बिनाको जीवनको प्रतिज्ञा गर्नुभएको नै थिएन । संसारमा रहुन्जेल हामीले भोग्नैपर्छ । तर पनि उहाँ माथी नै भरोसा गर्न उहाँले भन्नुभयो । 


सुसमाचार खास पापबाट उद्धार र मुक्तिको सन्देश हो । रोगबाट चंगाई हुने बारे होइन । यो अक्सर क्यारिसम्याटिक समूहहरूबाट आउने शिक्षा हो । हामी मानवजातिमा रहेको सबैभन्दा ठूलो रोग नै पाप हो! रोगबाट पूर्ण चंगाई हाम्रो महिमिकरणको समयमा मात्रै हुनेछ |


अब फेरि यी कुरामा ध्यान दिऔँ:

१) रोगबाट निको भएर मात्र के गर्नुहुन्छ जब तपाईं आफ्नै छिमेकीहरू सँग मिलेर बस्न सक्नुहुन्न ? तपाईंमा सामाजिक रोग अझै छ! 

२) चिह्न, अचम्मका कामका आशामा मात्रै बाँचेर के गर्नुहुन्छ जब तपाईंमा क्षमाका कुराहरू छैनन् ? 

३) प्रार्थनाको मात्रै उत्तर कुरेर तपाई के गर्नुहुन्छ जबकी तपाइँको हृदय नै परमेश्वर सँग ठीक स्थितिमा छैन ? 

४) शारीरिक स्वास्थ्यले मात्रै तपाईं के गर्नुहुन्छ जब तपाईंको जीवनमा रिस, डाह, लोभ, घृणा, घमण्ड जस्ता कुराहरूको राज्य छ? 

५) आज कति मानिस येशूमा केवल चङ्गाई र अचम्मका कामको खातिर मात्रै आउँछन् जबकि ती मानिसहरूको जीवनमा कुनै पनि परिवर्तन छैन ! के अर्थ भयो र? 


म अझै पनि भन्छु, येशूमा रोग निको नहुने होइन, हुन्छ र अझै पनि गर्दै हुनुहुन्छ ! तर सधैं उहाँले गरिरहनु हुन्न ! उहाँमा अचम्मका कामहरू पनि मनग्ये हुन्छन् ! मैले हुँदैन भनेको छैन ! तर तपाइँको लागि ठूलो के हो? येशूमा नयाँ मानिस हुनु कि केवल क्षणिक आनन्द पाउनु? के तपाईं पनि उजाड स्थानमा इस्राएलीहरूले गरे झैँ गर्ने सोचमा हुनुहुन्छ ? येशूले मत्ती २४ मा के -के भन्नुभयो ? अनिकाल, भुकम्पका कुरा! अनि हामी किन बच्चाले झैँ अपरिपक्व प्रश्न गर्दै बस्छौं ? 


आज कति क्यारिसम्याटिक उग्रवादी झुन्डहरूले गर्दा सुसमाचार केवल चङ्गाईमा सिमित हुन गएको छ! येशूलाई व्यापारको वस्तु बनाइएको छ! चिह्न र अचम्मका कामको नाउँमा जे मन लाग्यो त्यही गर्ने भएको छ! अनि हामीलाई यस विषयमा चाहिँ केही चिन्ता छैन ? तर एउटा रोग निको नहुँदा, बाढीले चर्च डुबान गर्दा चाहिँ खै येशू हाम्रो मुख मै झुण्डिने? अनि सुसमाचार साटो यस्तै सतही कुरामा ध्यान दिएर कसरी मानिसहरू प्रभुमा आउँछन् त ? एक पटक "Death of a Guru" पुस्तक पढ्नुहोस् ! वा John Piper को "don't waste your cancer" पुस्तक पढ्नुहोस् ! प्रभुले आफ्ना अद्भुत काम केवल सुखविलासमा मात्रै नभएर दुख पीडाको अवस्थामा पनि गर्न सक्नुहुन्छ ! 


मलाई अब डर छ, कतै यही चङ्गाई र अचम्मका कामका मुद्दाले गर्दा कतै हाम्रा अविश्वासी मित्रहरू सुसमाचार नबुझी नै येशू देखि टाढा भागेर त जाँदैनन् होला? विचार पुर्याउनु पर्ने अहिले नै हो, ढिला होला फेरि!

Post a Comment

0 Comments