Advertisement

Responsive Advertisement

अन्यभाषाको निश्चयता खोइ? || 2025

 



VIDEO LINK: Here!

    एक दम्पति बीचको यो अन्तर्वार्ता हाल सम्म कै बेकारको अन्तर्वार्ता मलाई लागेको छ किनभने अन्यभाषाको निश्चयता नै नभएको आफ्नी जहानलाई यस अन्तर्वार्तामा सामेल गराइएको पाइन्छ । उनका थुप्रै भनाइहरूमा समस्या देखिन्छ र प्रेस्बिटेरियन शिक्षाको प्रभाव परेको देखिन्छ । 


    यस भिडियोमा हाल चर्चहरूमा चलिरहेको अन्य भाषा बाइबलीय होइन भनेर बताइएको छ जुन आम गैर पेन्टिकोस्टल विश्वासीहरूले सामान्य तवरमा भनिरहने दाबी नै हो । अन्य भाषालाई यहाँ संसार कै भाषा हुन पर्ने मात्रै नभएर त्यही नै हो भनी जोड दिइएको पाइन्छ । अर्को कुरा, पावलले अनुवाद गर्ने कोही नभएमा अन्य भाषा नबोल्नलाई बताएका कुरालाई यहाँ जोड दिइएको छ साथै आज बोलिने अन्यभाषा बाइबलीय होइन भनी जोड दिएको पनि पाइन्छ । अनि फेरि प्रेरित २ अध्यायको कुरालाई बारम्बार ल्याइएको छ ! उहाँहरूलाई मेरो इमान्दार प्रश्न: तपाईंहरू धेरै "अन्य भाषाको उल्टा" मा मात्रै जोड दिनुहुन्छ भने प्रेरित २ मा चाहिँ उल्टा गरिएको होकि सुन्नेहरूले स्वत: आफ्नै भाषामा सुनेका हुन् ? प्रेरित २ र १ कोरिन्थी १४ को प्रसङ्ग आउँदा स्पष्ट देखिएको भिन्नतालाई प्रायः कसैले पनि सम्बोधन गरेको म पाउँदिन, न त ईश्वर शास्त्रीहरूले न त कुनै टिप्पणी पुस्तकहरूले । उहाँहरूमा केवल अन्य भाषा उल्टा गरिनु पर्छ, संसार कै भाषा हो आदि भन्दै गर्नुहुँदा, खोइ त बुझ्नुभएको कि प्रेरित २ मा उल्टा त गरिएकै थिएन त! अनि फेरि पावलको भनाइको स्पष्ट व्याख्या पनि गर्नुहुन्न त! 


    अर्को कुरो, यहाँ पा. सुरज कसुला जी को कुरा पनि आएको छ । उहाँ प्रति मेरो कुनै द्वेष छैन । उहाँ एक असल र चेतनशील बाइबल शिक्षक हुनुहुन्छ । उहाँ नेपाली चर्चहरू प्रति एकदमै चिन्ता व्यक्त गर्नुहुन्छ र यसैले झूटा शिक्षाहरू विरुद्ध बोल्नुहुन्छ जुन उहाँको सबल पक्ष हो । साथै उहाँले हाम्रा खेमाका विश्वासी वा ज्ञानी अगुवाहरूलाई येशुले कहाँ अन्य भाषा बोल्नुभयो वा किन बोल्नुभएन भन्ने प्रश्नको उत्तर दिनलाई चुनौती पनि दिनुभएको छ । यद्दपी मलाई उहाँको प्रश्न सित कुनै आपत्ति छैन किनभने उहाँको प्रश्नको जरो हाम्रा चर्चहरूमा अन्यभाषाको नाउँमा गरिने कतिपय गतिविधिहरू सित सम्बन्धित छन् र त्यसको सुधारका लागि उहाँले बोल्नुभयो भनी हामीले बुझ्नुपर्छ । जसरी पेन्टिकोस्टल र क्यारिजम्याटिक चर्चहरूमा अन्यभाषालाई लिएर ठूलो महत्त्व दिन्छन्, एक नभई नहुने मन्त्रको रूपमा सिकाउँछन्, विश्वासीहरूलाई यही वरदान पाउन मात्रै कायल पार्छन् , हो यही विषयमा पा. कसुला ज्यू ले बोल्नुभएको मात्रै हो । उहाँले अन्यभाषा बोल्नेहरू सँग कुनै आपत्ति जनाउनु हुन्न भन्ने कुरा पनि स्पष्ट पार्नुभएकै छ । 


    यस भिडियोले जसरी एक निश्चयता नै नभएकी विश्वासी सँग अन्य भाषा बारे सोधपुछ गरेर अन्तर वार्ता लिएको हामी पाउँछौं, के उनले पेन्टिकोस्टल खेमा वा क्यारिजम्याटिक खेमाका ईश्वर शास्त्रीहरूका पुस्तकहरू पनि पढ्नु भएको छ कि छैन ? Sam Storms, Dr. Michael Brown, Dr. Bhojraj Bhatt, Gordon D Fee जस्ता व्यक्तित्वहरूका व्याख्याहरूलाई अध्ययन गर्नुभएको छ कि छैन ? भिडियोलाई हेर्दा त छैन जस्तै लाग्छ ! अन्य भाषा बारे मेरो पनि आफ्नै सन्तुलित स्थान छ र म पनि कति कुरामा निश्चित छैन यद्यपि मैले वास्तविक अनुभव लिएकाहरू सँग कुराकानी गरेको छु र हाम्रै खेमाका विद्वानहरूका पुस्तक तथा शिक्षालाई अध्ययन गरेको पनि छु । ती विश्वासीहरू माझ त यस अन्तरवार्तामा सामेल हुनुभएको विश्वासी कदापि पनि टिक्नुहुन्न किनकि बोलीमा कुनै दम देखिँदैन । अध्ययन समेत गरेकाहरूलाई बरु अन्तरवार्तामा ल्याउनुहोस् अनि मात्रै हामी मान्छौँ! 


अनि यस भिडियोमा Cessationism ले कसरी आज अन्यभाषा बन्द भइसक्यो भनेर एक मामिला अध्ययन बारे सेमिनारमा निष्कर्ष निकालिएको छ भनी जान्नलाई लिंक दिएको कुरा पनि छ। अनि CESSATIONIST नामक एउटा फिल्म पनि निर्माण भएको थियो । तर Gavin Ortlund नामक एक ईश्वर शास्त्रीले आफ्नो यू ट्यूब च्यानलमा यसको तोड दिएका छन् यद्यपि उनले अन्य भाषा बारे नभएर चर्च इतिहासमा आश्चर्यकर्म र वरदानहरू बन्द भएका थिएनन् भन्ने मुद्दामा भिडियो बनाउनु भएको थियोे । 


    खासमा भन्न पर्दा हामीलाई यस विवादित विषयमा फस्नु पनि छैन यद्यपि विश्वासीहरूलाई गाइड गर्नु फेरि हाम्रो कर्तव्य पनि हो । चर्च जगत भित्र यस्ता हजारौं विवादित विषयवस्तु छन् जसलाई सम्बोधन गर्ने हो भने सायद येशु कै दोश्रो आगमन आइसक्छ! हामी सबै एकै परिवार हौँ र एक अर्कालाई आदर दिन र प्रेम गर्न आवश्यक छ । सैद्धान्तिक भिन्नता आफ्नै ठाउँमा होला जुन स्वभाविक हो । तर्कमा जित्ने कुराभन्दा बढी प्रेममा जित्न सक्नु ठूलो टेवा र सेवा हो जसले असल मेवा पनि दिलाउँछ ।


     आज दुबै पक्षले एक-अर्काको महत्त्व र हैसियतलाई बुझ्न नितान्त आवश्यक छ । परमेश्वर दुबै पक्षहरू मार्फत काम गर्नुभएको छ । आज उब्जेका यी विषयवस्तु भोलि गएर जटिल समस्या नबनेको होस् र एक अर्कालाई तर्क गर्न चुनौती दिने जस्ता माहोल नबनेको होस् किनकि हाम्रो काम आत्माहरू जित्ने हो, आफ्नै दाजु-भाइ, दिदी-बहिनी हरु सँग तर्क-वितर्क गरेर बहस जित्नु होइन । 


    कुनै कुरा गलत छ भने इमानदारी भएर स्वीकार गरौँ र सुधार तर्फ लागौँ । यदि छैन भने सैद्धान्तिक कुराहरूमा एकले अर्कालाई सहन पनि सिकौँ जब सम्म यसले सुसमाचार र ख्रीष्टलाई विस्थापित गर्दैन । यो नेपाली भाषी चर्चको आजको आवश्यकता हो ।

Post a Comment

0 Comments