Video: Here!
१) भगवान अपरिवर्तित हुन्छन् / default mode
२) प्रकृति भित्र बाटै आएको कारण हामी उसकै हौँ, उसकै एक एकाई हौँ
३) एकाई समग्रमा विलय नभए सम्म उसले समग्रतालाई बुझ्न सक्तैन
४) पानीको थोपोबाट सागर बुझिँदैन, थोपोले सागर प्राप्त गर्न सक्तैन । तपस्या, ध्यानले प्राप्ति हुँदैन ।
५) भगवान प्राप्ति असम्भव - भगवान प्राप्ति गर्न कि त उहाँ हामी भन्दा सानो हुनुपर्छ । तर हामी उहाँको हुन सक्छौँ
६) थोपोले सागर प्राप्ति गर्यो भने त्यसको अस्तित्व फेरि रहँदैन । त्यो सागरमा मिलिहाल्छ ।
७) यहाँ फेरि "प्राप्त गरेँ" भन्नु "अहंकार" हो ।
८) अहंकार = कसले प्रार्थना, साधना, ध्यान, पुजा गरेको? "मैले"
९) जब "म" भन्ने कुरा हुँदैन, त्यसै बेला मुक्त हुन्छ । मुक्ती को सँग ? आफैं सँग ! साधनाले त अझै अहंकार निम्त्याउँछ !
१०) "म" म बाट मुक्त भए पछि म र कृष्ण एउटै ! जागरुक अवस्थामा कृष्ण र म बेग्ला बेग्लै होइनौँ । कृष्ण माने म र म माने कृष्ण !
उनी सर्वेश्वरवादलाई मान्ने व्यक्ति हुनुहुन्छ र यस भिडियोमा उनका शिक्षाहरू हिन्दू दर्शनबाट नै छन् जसमा कुनै शंका छैन । यस भिडियोबाट मैले केही बुँदाहरू टिपेर ल्याएको छु । उनका धेरै कुराहरू बाइबल सित मेल नखाए तापनि उनका केही विचारहरूले भने हिन्दू संसारको यस जगतमा सायद सुसमाचारको लागि ढोका खोल्दिन सक्छ !
केही मूल्याकंन:
१) भगवान अपरिवर्तनशील छ भन्ने उनको यस भनाइलाई हामीले स्वागत गर्न सक्छौँ जुन हाम्रो विश्वासको शिक्षा सित मिल्छ (मलाकी ३:६, हिब्रू १३:८) यद्यपि नमिल्ने कुरा के छ भन्दा हामी यस ब्रह्माण्ड तथा प्रकृतिलाई ईश्वरको दर्जा दिँदैनौँ (उत्पत्ति १:१, यूहन्ना १ अध्याय, कलस्सी १ अध्याय)। यी सबै कुरा बरु उहाँका हातका शीपहरू हुन्, उहाँकै महिमा देखाउन (भजन १९:१)।
२) जसरी एकाइले समग्रतालाई बुझ्न सक्तैन भनी उनी सिकाउँछन्, त्यस्तै हाम्रो सिमित बुद्धिले पनि ईश्वरलाई बुझ्न सक्तैनौँ ! ईश्वर स्वयंले प्रकाश नदिए सम्म हामीमा त्यो ज्ञान आउँदैन । हामी कसैले पनि आफ्नै प्रयत्न वा साधना मार्फत ईश्वरलाई प्राप्त गर्न सक्तैनौँ । हामी अझ पापमा मरेका हुनाले ईश्वर प्राप्त गर्ने कुरा टाढाको कुरा हो (एफिसी २:१-५)। बाइबल स्पष्ट छ: हाम्रा कर्म (ध्यान, साधना आदि) ले मोक्ष दिलाउन सक्तैन किनकि ती सबै हाम्रा पापी स्वभाव कै दलदलमा रही आएका हुन्छन् र हाम्रै अहंकारलाई झन जगाइराखेको हुन्छ (एफिसी २:८-९)!
३) अर्को रोचक कुरा: भगवान प्राप्ति असम्भव छ किनकि उहाँ हामी भन्दा सानो हुनुहुन्न बरु हामी उहाँको चाहिँ हुन सक्छौँ । हाम्रो बाइबलीय भाषामा बोल्न पर्दा ईश्वर प्राप्तिको अर्थ उहाँ सितको सम्बन्धको प्राप्ति हो (२ कोरिन्थी ५:१९) यद्यपि उहाँ व्यक्तिगत ईश्वर हुनुहुन्छ त्यसैले उहाँलाई प्राप्त गर्नु समस्याग्रस्त भाषा होइन । बाइबलले प्रष्ट बताउँछ कि उहाँ हामीलाई नै खोज्दै मानिस भई आउनुभयो (लूका १९:१०)। उहाँले नै हामीहरूलाई रोज्नुभयो (१ पत्रुस २:९)। येशु द्वारा हामी आज उहाँको हुन सक्यौँ (यूहन्ना १:१२)। हिन्दू दिमागले नै बुझ्ने भाषामा हामी उहाँ भन्दा साना छौँ र उहाँ सम्म पुग्न असम्भव भएको कारण उहाँ आफैं हामी कहाँ आउनुभयो ! हामीलाई प्राप्त गर्न!
४) तर जसरी थोपोले सागर प्राप्त गरेपछि थोपो नै रहँदैन, त्यस्तै हामीले ईश्वरलाई येशु द्वारा प्राप्त गरेपछि अब हाम्रो स्व-हैसियत, अहंकार आदि केही पनि रहँदैन (मत्ती १६:२४-२६, एफिसी ४:२२-२४)! येशुलाई पछ्याउन सर्व प्रथम त आफैंलाई हामीले इन्कार गर्नै पर्छ, हामी पापी हौँ र ईश्वरको अनुग्रह नै खाँचो छ भनेर स्वीकार गर्नै पर्छ । हाम्रो पापको स्वीकारले नै हाम्रो स्व-अहंकार रूपी अस्तित्वलाई नाश गर्दिन्छ र हामी अब हामी रहँदैनौँ । हामी अब परमेश्वरको हुन्छौं, उहाँकै सन्तानको रूपमा उहाँकै राज्य स्वीकार गर्दै उहाँकै योजनाको लागि अब हामी दिनहुँ जिउँछौँ (गलाती २:२०)।
५) ख्रीष्टियान जीवन भन्नु नै "म होइन तर तपाईं" हो (१ कोरिन्थी ६:१९)। हाम्रो गराईले होइन, साधनाले होइन, प्रार्थनाले होइन, उपवासले होइन तर उहाँकै अनुग्रहले, येशुको कार्यले, पवित्र आत्मा को सामर्थ्यले हो । जब "म" भन्ने अहंकार वा स्व-हैसियत हुँदैन तब हामी मुक्त हुन्छौं - पाप बाट, यसको नतिजाबाट, यसको शक्ति बाट र यसको उपस्थितिबाट । तर त्यो "म" भन्ने अहंकार यत्तिकै हट्दैन । त्यो हामीबाट सम्भव नै छैन तर केवल "ख्रीष्ट" बाट सम्भव छ । जब हामी ख्रीष्टलाई जीवनमा स्वीकार गर्छौँ, हामीले जीवनलाई स्वीकार गर्छौँ (१ कोरिन्थी १५:२१-२२)। हामीमा जागरण आउँछ (यूहन्ना ३:१-२१, २ कोरिन्थी ३:६)। उहाँ द्वारा परमेश्वर स्वयं हाम्रो र हामी उहाँको हुन्छौँ (यूहन्ना १७:२१)। हामी उहाँ सित एकतामा रहन्छौँ । ख्रीष्टलाई ग्रहण गर्नासाथ हामी मरेर फेरि एक नयाँ जीवनमा आउँछौँ र त्यो जीवनमा "म" होइन तर "ख्रीष्ट" मात्रै रहन्छ (गलाती २:२०) किनकि ख्रीष्ट नै त्यो सागर हुनुहुन्छ ।
ख्याल गर्नुपर्ने कुरा के छ भन्दा उनका शिक्षाहरूलाई यहाँ सत्य ठहर्याएको नभएर त्यसै बाट सुसमाचारको लागि पुलको काम गरिएको मात्रै हो । यसलाई एक हिसाबले सान्दर्भिकरण गरिएको भन्न सकिन्छ । उनका शिक्षाहरूमा पाप र मृत्युका विषयलाई प्राय लिइंदैन जुन बाइबल अनुसार गम्भीर विषय हो | हिन्दू धार्मिक शिक्षामा मोक्ष अक्सर कर्म-चक्र र पुनर्जन्मबाट मुक्त भई ब्राह्मणमा विलीन हुनु हो जसका लागि ज्ञान मार्ग, कर्म मार्ग, भक्ति मार्ग, योग, साधना, सत्कर्म, पूजा, आदि गरिन्छ |
आम हिन्दू मित्रहरूमा कर्म र जुनीको भय रहेकै हुन्छ | आत्मा र अध्यात्म सम्बन्धी एकदम गहन शिक्षा रहेको यस धर्मलाई गहिरिएर मूल्यांकन गर्यौँ भने ख्रीष्ट कै आवश्यकतालाई देख्न सकिन्छ | उनीहरूले अक्सर बाइबलबाट नै आफ्नो विश्वासलाई समर्थन गर्ने खालका व्याख्या ल्याइराखेका हुन्छन् | हामीले समय छँदै उनीहरूलाई बाइबलीय रितिले ख्रीष्ट चिनाउन पर्छ र उनीहरूको धर्म, विश्वासहरू, देवता-भगवानहरूको कुनै आलोचना नगरी उनीहरू सित स्वस्थ रूपमा कुराकानी गरेर उनीहरूका व्यक्तिगत समस्याहरूलाई बुझी ख्रीष्टलाई हामी चिनाउन सक्छौँ |
थप अध्ययनका लागि स्रोत तथा सिफारिस व्यक्तिहरू:
१) साधु सुन्दर सिंहका किताबहरू (e.g. Search After Reality): Provides worth analysis on Hindu philosophies and responses from a Biblical lens.
२) Death of a Guru by Ravi R. Maharaj: The one truly realizes about self-denial and necessity of new-birth in Spirit rather than in new bodies (re-births) for true transformation of heart, peace and joy.
३) Inspiring Philosophy || Response videos to New Age misinterpretation of the scripture: Provides worth responses to misinterpretation of Bible verses that are forcefully aligned to meet up New-Age beliefs influenced by Hindu philosophies.
४) Bible Project: Provides clear understanding of Christ’s role in our life, our identity and purpose from God’s lens through fascinating animated videos.
५) Late Dr. Michael Heiser: Helps to understand what it means to be Christian in light of Biblical understanding.
६) PA Thomas (Articles, videos and teachings): Provides deeper truths about our identity, purpose and journey of Christian life and how should we relate ourselves to Christ.
0 Comments