तिमी कृश्चियनहरू किन टीका लगाउँदैनौँ, प्रसाद किन खाँदैनौँ? हामी त सबै आस्थालाई मान्छौँ, मन्दिर जान्छौं, मस्जिद जान्छौँ, गुम्बा जान्छौँ, चर्च जान्छौँ । तिमीहरू चाहिँ किन यस्तो
संकीर्ण भएको?
सायद यो प्रश्न तपाईंहरूले पनि सामना गर्नु
भएको होला! म स्कुलमा हुँदा होस्,
आफन्तहरूका
जाँदा होस्, कलेज पढ्दा
होस्, मलाई यस प्रश्नले
कहिल्यै छोडेन जुन पछि गएर नै रक्षा शास्त्र क्षेत्रमा मेरो प्रवेश हुन पुगेको हो
। यस्ता प्रश्न हामीहरूका लागि साह्रै घोचपेच गर्ने प्रश्न र हाम्रो भावनामा चोट
पुर्याउने हतियारका रूपमा स्थापित भएका छन् ।
स्कूलमा छँदा प्रभुमा ग्रहण गरे पश्चात्, मैले टीका लगाउन र प्रसाद खान इन्कार गरेको
विषयवस्तुको कारण प्रधानअध्यापकले मेरो एक पिरियड नै ओगट्ने गरि मलाई अफिसमा
बोलाएर निकै बहस गरे । बहस भन्नाले झगडा होइन तर सुझाव दिने काम गरे । त्यस्तै, साथीहरू सित पनि मेरो बहस हुन्थ्यो तर म
सित दिनलाई कुनै उत्तर हुँदैनथ्यो । म सित केवल गवाही थियो: आज म जीवित हुनुमा
येशुको हात छ । यो बाहेक साथीहरू सित बहस गर्न, तर्क गर्न म सित केही अध्ययन थिएन । यद्यपि, त्यो बेला हिन्दू- इसाई समुदाय बीच भने
निकै तर्क-वितर्क चल्ने गर्थ्यो । जो बोल्न सक्थे, उनीहरू बीच टक्कर मज्जाले पर्थ्यो र एकले अर्कालाई तर्कमा
जित्न खोज्थे तर बोल्न नसक्नेहरू चुपचाप सहन पर्थ्यो । म दोश्रो समूहमा पर्थेँ । म
जहाँ गए पनि सुसमाचार मात्रै सुनाउँथेँ यद्यपि हिन्दू धर्मबाट नै विश्वासमा आएको
कारण आफूले सके जति उदाहरणहरू दिँदै येशु किन महान छन् भनेर चाहिँ बुझाउने गर्थेँ
। जे होस्, स्कुल पढ्दा
मेरा केही साथीहरूमा चाहिँ ईश्वर प्रति मेरो लगाव देखेर कोही कोही निकै प्रभावित
पनि भएको थियो । यत्ति सम्म कि एउटा क्रुसको लकेट धरी म सित माग्न आएको थियो !
स्कुलमा छँदा मैले कोही सङ्ग तर्क र विवाद गरिन, सब ओझेल सहेर बस्थेँ । अनि मौका पाउँदा सुसमाचार चाहिँ
सुनाउँथेँ र अरुले बाइबल र इसाई विश्वास बारे केही गलत धारण दिएका छन् भने त्यसलाई
सच्याउने काम पनि गर्थेँ ।
पछि स्कुल सकेर रक्षा शास्त्रको जगतमा
प्रवेश गरे पछि, मैले अध्ययन
शुरु गरेँ । विविध धर्महरू बारे पढेँ । यही कारण +2 विज्ञान विषयमा पढ्दा मलाई सुसमाचार सुनाउन गाह्रो भएन ।
त्यो बेला पनि मैले विविध माध्यमले सुसमाचार मज्जाले सुनाउथेँ । पेल्नेहरू पनि
निकै हुन्थे, चाहे साथीहरू
होस् या शिक्षकहरू । यद्यपि मैले सुसमाचारको काम भने गरेँ । कलेज छँदा नै मेरो
रिपोर्ट त्रिएकताको विषयमा थियोे । अनि एक जना नेपाली शिक्षकले चाहिँ आफूले सबै
धर्म अध्ययन गरेको छु भन्दै धाक देखाउथेँ र धर्मका मामिलामा इसाई विश्वासलाई पनि
प्रतिक्रिया दिने गर्थे । यद्यपि यस्तै सिलसिलामा उहाँकै मुखबाट मैले हिन्दू
धर्मको आलोचना गर्न लगाएँ । यसरी प्रभुले मलाई निकै सामर्थ्य भने दिनुभयो । कतिपय
नास्तिक साथीहरू सित नि वादविवाद पर्थ्यो तर म सक्दो प्रेम साथ व्यवहार गर्थेँ ।
अनि कलेज छँदा नै एक जना मुस्लिम साथी पनि थियो र उसलाई समेत मैले सुसमाचार
सुनाएथेँ । मैले पनि उसको विश्वास बारे सुन्थेँ । कुरान र बाइबलमा मिल्दोजुल्दो
कुराहरू के-के छन् भनी मलाई ज्ञात थियो अनि त्यसैले बुद्धि पुर्याएर मैले कुराकानी
गर्दथेँ र साथी छक्क पर्दथ्यो । यद्दपी,
साथी
त्यस्तो कट्टर मुस्लिम भने थिएन ।
ब्याचलर पढ्दा पनि मैले सुसमाचारको काम
छोडिन । धेरैलाई सक्दो येशु बारे सुनाउने काम गरेँ यद्यपि त्यो समयमा निकै गाह्रो
भने थियो । किनकि त्यो समयमा प्रश्नहरू गाह्रो सोध्थे, कतिले इसाई बने पछि झन जीवन बिजोग अवस्थामा
पुगेको कुराहरू म सित गर्थ्यो, कतिले
जिस्क्याउँथे अनि केही साथीहरू शीत तर्क-वितर्क समेत पर्थ्यो । एक जनालाई मैले
जीवन गवाही सुनाएको थिएँ, उसले पछि त
मेरो आमा बुबा नै येशु हुन् भन्ने भावनात्मक निष्कर्ष निकाली । केही समय हामी दुई
बीच तर्क चल्यो यद्यपि बहस भएन । अनि एक जना साथीले त फोन गर्दा नै मेरो
अन्तर्वार्ता जस्तै नै लियो । त्यो बेला पनि मुस्लिम साथी थियो तर त्यस्तो कट्टर
थिएन । अनि कति जना बाहुन जातका थिए जो अध्यात्ममा पनि अध्ययन बिताउँथे । उनीहरूका
लागि त येशुको पुनरुत्थान समेत कुनै आश्चर्यजनक कुरा हुँदो रहेनछ । यस्तै गरि
धेरैले मलाई म किन कृश्चियन भएको भनी अनेक प्रश्न सोध्थे । यद्यपि म कोहि सित
विवाद गर्दिनथेँ तर मौका बेला आफ्नो विश्वास बारे कुराकानी गर्थें र सुसमाचार
सुनाउँथेँ । एक पल्ट एक जना शिक्षकले त हिन्दू धर्ममा कसरी विज्ञान छ जस्ता कुरा
गरेर कृसमस चाड माथि प्रश्न समेत गरे । आफ्नो मौलिक संस्कृति बारे कम ज्ञान हुनु र
पश्चिमी संस्कृति बारे किन चासो जस्ता कुरा निकाले । यद्यपि म मौन रहेँ । केही
साथीहरूले मलाई किन प्रतिकार नगरेको समेत सोधे । यद्यपि मैले त्यसो गर्न उचित
ठानिनँ । यसका साथै मेरो व्यक्तिगत विश्वासमा ठूलो धक्का परेको पनि यही समयमा थियो
। एउटा झूटा शिक्षाको जालमा परेर मैले प्रार्थना गर्ने र बाइबल पढ्ने शक्ति समेत
गुमाएँथेँ र मलाई पुनःस्थापन हुन पनि निकै समय लागेथ्यो ।
यी सब मेरा व्यक्तिगत जीवनका अनुभवहरू हुन्
। जे होस् मैले यत्ति कुरा चाहिँ जानेँ कि धेरैलाई धर्मका कुरामा चासो नहुँदो रहेछ
। कोही आफू मुस्लिम भएर टीका लगाउँदै हिँडेको पाएँ र मैले प्रश्न गर्दा आखिर खुदा
त हो जुन भगवान भए पनि जस्ता कुरा गर्यो । म छक्क परेँ । उसको बोलीले खास इस्लाम
धर्मलाई नै चुनौती दिएको थियो ! अनि हिन्दू धर्म मान्नेहरू पनि आफ्नो धर्मलाई लिएर
गम्भीर थिएनन् । आफ्नो शास्त्रहरू बारे थाहा थिएन, आफ्नो धर्मका मान्यताहरू बारे थाहा थिएन अनि ती
व्यक्तिहरूले नै हामीलाई सुझाव दिन्थे! कठै!
आज म यति कुरामा खुशी छु कि मण्डली जगत
विश्वासका कुरामा गम्भीर छन् ! जुनसुकै खेमा किन नहोस्, सिद्धान्तका कुरामा सौदा गर्दैनन् ।
हामीलाई धर्मको मामिलामा सुझाव दिनेहरू आफैंले जानिरहेका हुँदैनन् कि उनीहरू के
विश्वास गर्छन् ! उनीहरूका लागि सबै कुरा ईश्वर हो, ईश्वर सबै कुरा हो भन्ने धारण र ईश्वर सृष्टिकर्ता हुन् र
सबै थोक सृष्टि हो भन्ने धारण एकै रहेछ! उनीहरूका लागि पुनर्जन्मको अवधारणा र
मृत्यु पछि गन्तव्यको अवधारणा पनि एकै रहेछ! उनीहरूका लागि ईश्वरको पटक-पटकको
अवतार र ईश्वरको एक मात्रै देह धारणको घटना एकै रहेछ! उनीहरूका लागि अनात्मवाद र
विश्वव्यापी आत्मावाद उस्तै रहेछ! उनीहरूका लागि क्रुसमा मर्नुभएको येशु र क्रुसमा
नमर्नुभएको येशु एकै रहेछ! उनीहरूका लागि प्रसाद, योग द्वारा मोक्ष प्राप्ति र येशु द्वारा उद्धरण प्राप्ति
उस्तै नै रहेछ ! उनीहरूका लागि एक अनन्त ब्रह्माण्ड र सृष्टि गरिएको ब्रह्माण्ड
उस्तै रहेछ! कति अचम्म! यही कुराले मलाई अचम्मित तुल्याएको थियो । फरकपन स्पष्ट
अगाडि देखिन्छ यद्यपि उनीहरू कहिल्यै यी कुरालाई ख्याल गरिरहेका हुँदैनन् । माइकल ग्रिनले भने झैँ मानिसहरू बाँकी सब कुरामा गम्भीर छन् तर धर्मका मामिलामा मात्रै
मिलेमतो गर्न खोज्छन् ।
मैले यसरी जीवनमा विविध अनुभवहरू बाट जाने
अवसर पाएँ जसको लागि म परमेश्वरलाई धन्यवाद दिन चाहन्छु । हाम्रो समाजमा
सुसमाचारको खाँचो एउटा कुरा हो भने उनीहरूको अज्ञानता अर्को कुरो जसलाई हामीले
सम्बोधन गर्न पर्ने देखिन्छ !
0 Comments