आत्मिकी इसाई vs बौद्धिक इसाई
नोट: एक पेंतिकोस्तल मण्डलीमा हुर्केको सदस्य तर अधिकांश बौद्धिक, रक्षाशास्त्रीय विषय अनि रिफर्म्ड सामग्रीको अध्ययन गर्दै आएको हैसियतले लेखिएको एक काल्पनिक संवाद
आ: हामीलाई केवल आराधना चाहिन्छ, आत्माको भरपुरी अनि डिभोसन । त्यो थियलजी सियलजी के के हो तिम्रो हामीलाई मतलब छैन !
बौ: हो! ल त्यसो भए मलाई तिम्रो परमेश्वरको अस्तित्वको प्रमाण देउ न त पहिला! अस्तित्वमा भएकोलाई पो पुजिन्छ त होइन र? कि कसो?
आ: है? भनेपछि त तिम्रो परमेश्वर पो कमजोर रहेछन् कि कसो त? जसलाई प्रमाणित पहिला गरेर मात्रै पुज्न सकिने त्यस्तो? अनि प्रमाण खोज्दा खोज्दा बुढेसकाल कटेको पत्तै हुँदैन ! कि कसो?
बौ: ल तिम्रो तर्क दामी छ मैले मानेँ, अनि यही प्रश्न अविश्वासीहरूले सोधे भने नि? म त एक इसाईको नाताले तिमी सित तर्क अहिले गरेको छैन तर अरु मानिसहरूले तिम्रो यो तर्क सुनेर आफ्नो मुख त पक्का पनि बन्द गर्दैनन् !
आ: पहिलो कुरा त तिमी आफैंले आफैंलाई हेर । अरुको फिक्री किन गर्छौ ? समस्या मलाई लाग्छ तिम्रो सरोकार हाम्रो आराधना गर्ने तरिकामा छ अनि थियलजीलाई बेवास्ता गरेको कारण तिमीले त्यस्तो प्रश्न बनायौ! अब अरुले त्यस्तै प्रश्न सोधपुछ गरे उनीहरूलाई हाम्रो प्रभु एक पटक चाख्नलाई भन्ने हो म त! अनि अब तर्कको कुरा? तर्क गरेर चाहिँ कतिन्जेल सम्म हामी सक्छौं होला र? जस्तो कि चुरोटले क्यान्सर हुन्छ थाहा छ त, तैपनि खानेहरू थुप्रै छन् त! गर्छ हाम्रो तर्कले काम? उस्तै परे उनीहरू नै तर्कले हामीलाई जित्न खोज्छन् ! त्यति सानो कुरोमा त तर्कले काम गर्न गाह्रो हुन्छ भने तिमी परमेश्वरको बारे कसरी कुरा गर्न सक्छौ होला? अब, यहाँ मैले तर्क गर्नु बेकार भनेको पनि होइन ! मेरो आफ्नै मिल्ने साथीहरू सँग नै धर्मका कुरामा कति तर्क चल्छ-चल्छ ! कहिले मैले तीखो र मुख नै टाल्ने जवाफ दिन्छु, त कहिले मेरो साथीले मलाई त्यस्तो जवाफ दिन्छ ! उस्तै परे, हामी दुबैको भनाभन पनि निकै चल्छ! अब भन, यसरी तर्कमा मात्रै भर परेर हुन्छ त? यसमा त अक्सर मेरो साथीले नै मलाई धेरै जित्छ, अनि अब तर्कमा उसको तर्कले मेरो तर्कलाई उछिन्यो भन्दैमा म के मेरो विश्वास त्यागी उसैकोमा लाग्ने होर? होइन नि! यदि तर्कले जितेर परमेश्वर बारे कुरा गर्न सकिन्छ भन्ने तिम्रो अडान हो भने अभिषेक जोशी, धुर्वराज लुइटेल, एस्तर धनराज, कज्मिक स्केप्टिक, बार्ट अर्मन आदि बारे के भन्ने? के अभिषेक जोशी र पास्टरहरू बीच कडा तर्क-वितर्क भएन र? खै, के परमेश्वरमा उसले जीवन अर्प्यो त आफ्नो?
बौ: ओहो! ल तिम्रो कुरो पनि गलत त होइन साथी! तर तिमीले पनि मेरो कुरा बुझेनौ त्यति । मैले तर्क भन्दा पनि थियलजी चाहिँ महत्त्वपूर्ण छ भन्न खोजेको हो । अब तर्क कै कुरा गर्दा पनि म स्वीकार गर्छु कि तर्कले जितेर प्रभुमा मानिसहरू ल्याउन सकिँदैन । तर तिमीले यहाँ थियलजीको अर्थ नबुझी आफ्नो तर्क राख्यौ । मेरो आशय वास्तवमा यो थियो:
१) तिमीहरू निकै वर्शिप, रिभाइभल र डिभोसन अनि आत्माको भरपुरीमा जोड त दिन्छौ तर यी कुराको अर्थ र औचित्य हुर्किरहेको युवाहरूलाई खासै बुझाउँदैनौ । अक्सर तिनीहरू केही क्षण भावुक हुन्छन् अनि त्यसपछिको यात्रामा कुनै फल फलेको देखिंदैन |
२) थियलजी भनेको परमेश्वर सम्बन्धी ज्ञान हो, तर्क गरेर अरुलाई जित्ने मैदान होइन । बिना सटिक ज्ञान उहाँ सँग सम्बन्ध राख्न सकिँदैन । अनि अध्ययन नै नभएका आम विश्वासीहरू समेतको आफ्नो थियलजी हुन्छ | मानौँ यहाँ कति युवाहरूले पवित्र आत्मा नै आफू भित्र हुनुहुन्छ कि हुनुहुन्न सोच्छन । तर उनीहरूले ग्रहण र बप्तिश्मा लिइसकेका छन् । अनि अब यही बुझाइ लिएर जीवनकाल भर "आउ पवित्र आत्मा आउ" भनेर गाउने? यो गीत गाउनु हुन्न भनेको होइन, म पनि गाउँछु र गाउन पर्छ भनी अझै समर्थन गर्छु, तर हाम्रो बुझाइ चाहिँ के हो? अनि आज पनि कत्तिले सोधिरहेको मैले सुनेँ, "के मैले अन्यभाषा बोल्नै पर्छ र? ढल्नै पर्छ र?" हो, यहाँ छ समस्या साथी! यी कुराको ज्ञान बिना केवल अभ्यास मात्रै हुँदैछ ! अनि आजकल कतिले सोध्न थाले कि सच्चाई लगायत अन्य के-के माता मान्नेहरूले पनि त अन्य भाषा बोल्दा रहेछन्! उसोभए, तिनीहरू झूटा हुँदाहुँदै तिनीहरुमा पवित्र आत्मा हुनुहुन्छ? के यी आपत्तिजनक प्रश्नहरूलाई सम्बोधन गरिनु पर्दैन होला?
३) हाम्रो युवाहरू बाइबल अध्ययन त भन्छन् तर सन्दर्भका कुरालाई ख्याल गर्दैनन् । जताबाट जे पद पायो त्यताबाट नै आफ्नै तरिकाले पदको व्याख्या गर्छन् ! यस्तो डिभोसनले कसरी फल फलाउँछ होला साथी?
४) सोसियल मेडियामा युवाहरू अनेक पोस्ट र रील हेर्छन् । धेरै भन्दा धेरै कन्टेन्टमा बाइबलीय त्रुटी मनग्ये हुन्छन् । तर बिना विश्लेषण केवल आमेन मात्रै लेख्छन् !
५) युवाहरूलाई प्रश्न गर्ने प्ल्याट फर्म नै हुँदैन अनि उनीहरू नै पछि जीवनमा केही भयो कि पछि हट्छन्!
साथी यस्ता धेरै समस्याहरू त कति छन् छन् ! मैले आराधना, डिभोसन आदि को बिरोध गरेको होइन ! अझै भनौं भने थियलजीले त झन साँचो आराधना तर्फ हामीलाई लैजान पर्ने हो!
आ: साथी! सायद यस विषयमा तिमी सित तर्क गर्न म सित विरलै केही होला! तर मलाई के लाग्यो भन्दा तिम्रो सरोकार पनि एकदम ठीक छ! हुन त थियलजी जानेकाहरू बारे पनि म सित तिमीलाई दिन मुख भरी त जवाफ अघिनै संकलन भैसकेको थियो र तिमी सित तर्क गर्छु भन्ने सोच पनि आइसकेको थियो तर तिम्रो कुरालाई सुबिस्तार सित सुन्दा धेरै कुराले मलाई पनि झसङ्ग पार्यो! सायद हामीले हाम्रो आफ्नो अभ्यासलाई पनि एक पटक जाँच्न पर्छ होला भन्ने मलाई लाग्छ!
बौ: धन्यवाद साथी मेरो कुरा सुनिदिएकोमा ... हो सायद थियलजीको विषय लिएर तिमी सित पनि मनग्ये जवाफ त पक्का छन् र कुनै दिन हामी यस विषयमा तर्क पनि गरौंला । तर आजलाई चर्चमा भएका समस्यालाई सम्बोधन गर्न सकौँ !
आ: ल ठीक छ साथी, यसरी नै हामी एक-अर्काबाट सिक्ने त हो! तर्कमा हामी प्रतिस्पर्धा सायद गरौंला तर हामी एक-अर्काका पुरक हौँ, एक-अर्काबाट सिक्ने र सिकाउने | आशा छ आगामी दिनहरूमा हामी बीचको बुझाई अझै राम्रो बन्दै जानेछ | र अन्तमा म यो तर्क राख्न चाहन्छु कि डिभोसन, जागृति र आराधना बिना केवल बौद्धिक ज्ञानले आत्मिक वृद्धि गराउंदैन, तिमी सित थियालाजीको ज्ञान धेरै होला तर त्यस अनुसारको जियाई भएन भने तिमी विस्तारै चिसिन पनि सक्छौ |
बौ: तिम्रो कुरा पनि ठीक हो साथी तर म पनि यो तर्क राख्न चाहन्छु कि थियालाजी बिना डिभोसन, जागृति र आराधनालाई सही दिशामा लैजान सकिंदैन, तिमी सित अनुभवका कुराहरू त धेरै होलान तर त्यसको औचित्यको बुझाई भएन भने तिमी पछी गलत शिक्षा साथै अभ्यास तर्फ पनि लाग्न सक्छौ! अनि सायद हामी दुबैको तर्कलाई आपसमा विवाद गराउनु भन्दा बरु एक साथ सन्तुलनमा लैजानु बुद्धिमानी होला!
आ: एकदम हो साथी! ठीक कुरा गर्यौ! ल त फेरी पनि कुराकानी गर्दै गरौंला!
बौ: पक्का पनि!
1 Comments
अवश्य पनि, एक परिपक्व इसाइको जीवनमा बाईबलिय ज्ञान र आत्मिक अभ्यास बीच सन्तुलन रहेको हुन्छ। यी दुई बीचको सन्तुलन निकै महत्वपूर्ण कुरा हो। वास्तवमा, यी दुइ बीचको सन्तुलन भएको व्यक्ति नै एक परिपक्व इसाइ हो भन्न सकिन्छ।
ReplyDeleteयेशूको बारेमा तथ्यहरू जम्मा गर्नु एउटा कुरा हो भने उहाँसंग व्वयक्तिगत जीवन्त सम्बन्ध राख्नु अर्को कुरा। येशूलाई विश्वास गर्नु भनेको बाईबलमा प्रकाश भएको ज्ञान र व्यक्तिगत सम्बन्धको समिश्रण हो। एकातर्फ येशू को हुनुहुन्छ भन्ने ज्ञान हामीले राख्नु पर्छ भने अर्को तर्फ हामीले उहाँको उपस्थिति खोज्नु पर्छ, उहाँको आवाज सुन्नु पर्छ, र हामी आफैलाई रूपान्तरण गर्न अनुमति हामीले उहाँलाई दिनुपर्छ जून कार्यहरु गर्न हामीलाई पवित्रआत्माको सहायता चाहिन्छ। येशू को हुनुहुन्छ भन्ने कुरा, हाम्रो बाईबलीय ज्ञान र उहाँ संगको व्यक्तिगत सम्बन्ध अर्थात आत्मिक अभ्यासहरुको संयोजनबाट नै आउँछ। 🙏