प्रश्न देखेर अचम्म नमान्नु होस् तर यो एक तीतो यथार्थ हो । कता कता थियोलजीको नाममा अनेक थरी सिद्धान्तहरू अध्ययन गरेर आएका ईश्वर शास्त्रीका पद्दिताहरूले वर्तमान मण्डली युगमा परमेश्वरलाई नै बाँडफाँड गरिदिएका छन् । आज मण्डलीको सम्प्रदाय सोधपुछ गर्ने देखि विश्वासीले कुन सिद्धान्तलाई अपनाउँछन् भन्ने विषय लिएर नै परमेश्वरलाई टुक्राटुक्रा पारिदिएको बिडम्वनात्मक स्थिति देखिन्छ ।

 

एउटा सिद्धान्त पछ्याउँदै आएको विश्वासीले अर्को सिद्धान्त मान्नेलाई बिरोध गर्ने, व्यङ्ग्य हान्ने, गिज्याउने जस्ता काममा हुँदा हुँदै तेरो परमेश्वर त यस्तो, मेरो चाहिँ त यस्तो भन्न थालिसकेको पाइन्छ । यो कस्तो तीतो परिस्थितिमा हामी छौँ ? तिम्रो भन्दा मेरो परमेश्वर सार्वभौम, तिम्रो भन्दा मेरो येशू सबैको लागि प्राण दिने येशू, तिम्रो भन्दा मेरो परमेश्वर संसारलाई हजारौं वर्ष मै सृष्टि गर्न सक्ने, तिम्रो भन्दा मेरो परमेश्वर यस्तो उस्तो भनेर अब त विवाद चर्काउने माहोल बनिसकेको छ । उसोभए के परमेश्वर पिता, पुत्र र आत्मा बाँडिएको हुन् त ? कि अब सबै सम्प्रदायका मण्डलीलाई आफ्नो आफ्नो प्रभु र मुक्तिदाता चाहियो ?

 

यो कुरा राख्न पछाडीको पृष्ठभुमि एक मोलिनिस्ट सिद्धान्तलाई अङ्गाल्ने इन्स्टा पेजमा एउटा दु:खद पोस्ट देखेँ जहाँ क्यालभिनिजम सिद्धान्त मान्नेलाई व्यङ्ग्य हानिएको थियो (पोस्टलाई म यहाँ देखाउन चाहँदिन) उक्त पोस्ट एक मिम थियो जहाँ ‘क्याल्भिनिस्ट गाड’ लेखिएको थियो | यो एक पश्चिमी मुलुकको सन्दर्भ भए तापनि हाम्रो देशमा पनि अब यस्तो माहोल बनिन ढिलो छैन | उसोभए के त्यहाँ अनेक थरी ईश्वर छन् भनेर तमासा देखाउन खोजेका हुन् यी पेजहरूले ? कसको लागि सेवाकाई गर्दै छन् ? अरुहरूलाई प्रहार गर्न सेवाकाई गर्दै छन् हो ? यो पेज मात्रै नभएर आजभोलि त अनेकौं विषय वस्तुमा यस्तो द्वन्द्वात्मक परिस्थिति उब्जिएको पाइन्छ । एउटाले अर्काको सिद्धान्तलाई घोच्ने कुरो त परै जाओस् अब हुँदा हुँदा तेरो र मेरो परमेश्वर समेत भनेर परमेश्वरलाई नै तानातान गर्न थालिसके त गाँठे!

 

आजको युगमा हामीले आफ्नो परिचय र त्यो भन्दा बढी हाम्रो परमेश्वरको परिचय कसरी दिँदै छौँ सो कुरो ख्याल गरौँ ! यो कुनै देवी देवताहरू बीचको कुस्ती होइन । के पावलले १ कोरिन्थी १ अध्यायमा स्पष्टीकरण दिएका छैनन् र यस बारे? पद १३ मा अझ उनले गतिलो व्यंग्यात्मक प्रश्न सोधेका छन् | त्यस समय कोरिन्थका विश्वासीहरू पनि अगुवाहरूको आधारमा विभाजित अवस्थामा थिए | अब आजको माहोलमा पनि विश्वासीहरू विविध सिद्धान्तहरूका कारण विभाजित भएका छन् र अझै हुँदै छन् | हाम्रो परमेश्वर पिता, पुत्र र पवित्र आत्मा के बाँडिनु भयो ? याद राख्नुहोस् स्वयम् येशूले पनि यूहन्ना १७:२१ मा पिता सित के भनेर प्रार्थना राख्दै हुनुहुन्छ | यहाँ उनले उद्देश्य र नियतमा एकताको माग राख्दै हुनुहुन्छ | के हामी सम्पूर्ण विश्वासीहरूको उद्देश्य र नियत एकै होइन र ? सिद्धान्तमा फरक र मत भिन्नता होला रे लौ, तर यो भन्दै गर्दा तेरो परमेश्वर ठूलो कि मेरो ठूलो भनेर द्वन्द्व गर्नु, कहाँ सम्मको लज्जास्पद कदम हो थियोलजीका महाशयहरूको ? अनि यस्तो ईश्वर शास्त्र र रक्षा शास्त्रले के परमेश्वरको राज्यमा केही योगदान देला र ?

 

खेँलाची नगरौं, परमेश्वरको ठट्टा हुँदैन ! हाम्रो औँलाको ईशारामा नाच्ने प्रभु होइनन् उहाँ ! आज हामी उहाँको खातिर सेवाकाई गर्दै छौँ कि उहाँकै बदनाम गर्न सेवाकाईको खोल मात्रै ओढिराखेका छौँ ??? हामीले हाम्रो युगमा कस्तो उदाहरण छोडेर जाँदैछौं होला ?