आत्मिकी इसाई vs बौद्धिक इसाई II || क्यारिजम्याटिक र रिफर्म्ड/रक्षाशास्त्रीय || एक स्वस्थ काल्पनिक तर व्यावहारिक संवाद || २०२५

 


आ: (उत्साहपूर्वक) साथी, तिमीले सन्तुलनको कुरा त ठीक गर्यौ, तर मलाई अझै लाग्छ कि तिम्रो थियलजीको जोडले कहिलेकाहीं हाम्रो आत्मिक जागृतिको आगोलाई चिसो पार्न खोज्छ। तिमीले बाइबलको सन्दर्भ, व्याख्या, र ज्ञानको कुरा गर्छौ, तर हाम्रो चर्चमा ती भजन गाउँदा, प्रार्थनामा डुब्दा, अनि पवित्र आत्माको उपस्थितिमा रमाउँदा जो आनन्द आउँछ, त्यसको तुलना के तिम्रो किताबी ज्ञानले गर्न सक्छ? मलाई त लाग्छ, तिमीहरूको थियलजीले आत्मिक अनुभवलाई पछाडि पार्न खोज्छ, अनि त्यही कारणले धेरैजसो थियलजी पढ्नेहरूको विश्वास चिसो हुन्छ। तिमीले नै भन, तिम्रा किताब पढेर मात्रै कति जनाले प्रभुको अनुभव गर्छन्?


बौ: (शान्त तर दृढ स्वरमा) साथी, तिमीले फेरि पनि मेरो कुरालाई बुझेनौ। मैले आत्मिक जागृति वा आराधनाको विरोध गरेको होइन। म त भन्छु, त्यो आगो, त्यो जागृति, त्यो अनुभवलाई सही दिशामा लैजान चाहिँ थियलजी चाहिन्छ। तिमीले भन्यौ, भजन र प्रार्थनाको आनन्द—त्यो साँचो हो, म पनि त्यसमा रमाउँछु र थियलजीमा यसलाई नै हाम्रो जीवनको लक्षको रूपमा लिइन्छ जसलाई 'क्रिस्चियन हेडोनिजम' भनिन्छ र म त यो पनि स्वीकार्छु कि यसको लागि बल्दो अनुभव नै चाहिन्छ। तर तिमीलाई थाहा छ, आजकल कति चर्चहरूमा "जागृति" को नाममा गलत शिक्षाहरू फैलिरहेका छन्? कति ठाउँमा पवित्र आत्माको नाममा मानिसहरू उग्र-भावनामा बगेर गलत अभ्यासतिर लाग्छन्। उदाहरण दिऊँ? कतिपयले "अन्यभाषा" लाई पवित्र आत्माको एकमात्र प्रमाण ठान्छन्, तर बाइबलले त्यस्तो कहाँ भन्छ? १ कोरिन्थी १२ मा त विभिन्न आत्मिक वरदानहरूको कुरा छ, सबैले अन्यभाषा बोल्नैपर्छ भन्ने कहाँ लेखिएको छ? यस्ता कुरामा सही बुझाइ नहुँदा मानिसहरू भ्रममा पर्छन्। थियलजीले यही भ्रम चिर्न मद्दत गर्छ। तिमीले मलाई चिसो भन्छौ, तर म त भन्छु—थियलजीले तिम्रो आत्मिक आगोलाई झन् बलियो बनाउँछ, चिसो होइन!


आ: (हाँस्दै, तर चुनौतीपूर्ण स्वरमा) ल, ल, तिमी फेरि किताब खोल्न थाल्यौ! १ कोरिन्थी १२ भन्यौ, ठीक छ, तर तिमीले यो किन बिर्सियौ कि बाइबलमा नै लेखिएको छ, "परमेश्वर आत्मा हुनुहुन्छ, र उहाँका आराधकहरूले आत्मा र सत्यतामा आराधना गर्नुपर्छ" (यूहन्ना ४:२४)? आत्मा र सत्य—दुवै चाहिन्छ, तर तिमीहरू सधैं सत्यको कुरा मात्रै गर्छौ, आत्माको अनुभवलाई किन कम आँक्छौ? मलाई त लाग्छ, तिमीहरूको थियलजीले मानिसलाई किताबको पानामा सीमित गर्छ, तर हाम्रो आराधनाले प्रभुको उपस्थितिमा लैजान्छ। अनि तिमीले गलत शिक्षाको कुरा गर्यौ—ठीक छ, म स्वीकार्छु, कतिपय ठाउँमा भ्रम छ। तर त्यो भ्रम हटाउन तिम्रो किताबी ज्ञानले मात्रै पुग्छ र? मानिसको मन परिवर्तन गर्न त आत्मिक अनुभव चाहिन्छ, होइन र? तिमीले अभिषेक जोशीको कुरा सुनेर तर्कमा जित्न खोज्यौ भने तिमीलाई पनि उसले तर्कमै हराउँछ! तर हाम्रो चर्चमा एक पटक आएर प्रभुको अनुभव गरे भने उसको मन पक्कै पग्लिन्छ!


बौ: (हल्का मुस्कुराउँदै) साथी, तिमीले यूहन्ना ४:२४ को कुरा निकाल्यौ, मलाई खुशी लाग्यो। तर तिमीले त्यही पदको "सत्यतामा" लाई किन बिर्सियौ? आत्मा र सत्य—दुवै चाहिन्छ। तिमीले भन्यौ, आत्मिक अनुभवले मन पग्लिन्छ—ठीक छ, म सहमत छु। तर त्यो अनुभव सही दिशामा छ कि छैन भनेर कसले जाँच्छ? तिमीले नै भन्यौ, गलत शिक्षाहरू छन्। उदाहरण दिऊँ—आजकल कति चर्चमा "समृद्धिको सुसमाचार" को नाममा मानिसलाई धन र सुखको लोभ देखाइन्छ। यो बाइबलको सन्दर्भमा छ कि छैन? येशूले त "मेरो पछि लाग, आफ्नो क्रूस बोकेर आऊ" (मत्ती १६:२४) भन्नुभयो, धनको लोभ देखाउनुभएन। यदि तिमीले बाइबलको सही समझ र थियलजी बिना यस्ता शिक्षालाई स्वीकार गर्यौ भने तिमी पनि भ्रममा पर्न सक्छौ। अनि अभिषेक जोशीको कुरा—हो, उसले तर्कमा धेरैलाई हराउँछ, तर त्यो तर्कले हामीलाई सिकाउँछ कि हामीले आफ्नो विश्वासको आधार बलियो बनाउनुपर्छ। आत्मिक अनुभवले मन पग्लिन्छ, तर त्यो अनुभवलाई बुझाउन र जोगाउन थियलजी चाहिन्छ। तिमीले तिम्रो साथीहरूसँग तर्क गरेको कुरा गर्यौ—त्यो तर्कमा तिमीले जित्दा वा हार्दा तिम्रो विश्वास डगमगाएन, किन? किनकि तिमीसँग आत्मिक अनुभव छ, तर त्यसलाई बुझ्ने र व्यक्त गर्ने आधार तिम्रो थोरै-थोरै थियलजीले नै दिएको हो, होइन र? अनि अर्को कुरो, मैले किताब खोलेको होइन | थियलजीको महत्त्व त पावल आफैंले पनि दिएका छन् जो अनुभव र बौद्धिक दुवै क्षेत्रमा निपुण थिए! उनले के-कस्ता कुरा अनुभव गरेका थिए भनी पक्का थिए किनकि उनले त्यसको औचित्यलाई पनि बुझेका थिए! पावल आफैं पनि हाम्रो लागि एक ज्वलन्त उदाहरण छन् त!


आ: (केही सोच्दै, तर अझै चुनौती दिंदै) हाहा! तिमीले कुरा घुमाउन जानेको छौ, साथी! ठीक छ, म स्वीकार्छु, तिम्रो थियलजीले हामीलाई गलत शिक्षाबाट जोगाउन सक्छ। अनि आफ्नो तर्कलाई फेरी बलियो पार्न पावललाई लिएर आयौ! तर मलाई यो कुराले चित्त बुझेन कि तिमीहरू सधैं हाम्रो आराधनालाई सतही ठान्छौ। हाम्रो चर्चमा कति युवाहरू छन्, जो बाइबल नपढे पनि प्रभुको उपस्थितिमा रुँदै आफ्नो पाप स्वीकार्छन्, जीवन परिवर्तन गर्छन्। तिमीले ती किताब पढेर यस्तो परिवर्तन देख्यौ? अनि अब पावलको कुरा! तिमीले अघि मण्डलीमा बोलिने अन्यभाषा बारे कुरा गर्यौ! ल भन त साथी, के पावल आफैंले पनि अनुभव कै आधारमा १ कोरिन्थी १४ मा सिद्धान्त दिएका होइनन् र? मैले मानें कि तिमी बिरोधी होइनौं, तर तिम्रो आफ्नै तर्कले पनि त मेरो तर्फबाट आउने उत्तर तिमीलाई दिइरहेको छ त! आत्मिक अनुभवहरूले पनि आत्मिक वृद्धिमा मद्दत गर्छ! अझ मलाई त के पनि लाग्छ भन्दा, यही आत्मिकी अनुभवहरू द्वारा नै पावलले ख्रीष्टियान सिद्धान्तलाई बुझ्न अनि व्याख्या गर्न सके! उनको आफ्नै बयान यति जटिल थियो कि पत्रुस आफैंले पनि स्वीकार गर्छन् कि पावलका कति कुरा बुझ्न नसकिने नै छ! अनि तिमीले समृद्धिको सुसमाचारको कुरा गर्यौ—हो, त्यो गलत हो, तर हाम्रो चर्चमा त त्यस्तो हुँदैन। हामी त प्रभुको प्रेम र पवित्र आत्माको शक्तिमा विश्वास गर्छौं। तिमीले सधैं सन्दर्भ र व्याख्याको कुरा गर्छौ, तर बाइबल त आत्माले लेखिएको हो, आत्माले नै बुझिन्छ। तिमी किन यति धेरै किताबमा मात्रै अडिन्छौ? तिम्रो तर्क यो पनि थियो कि मैले किताब खोलेको होइन | तर बिना थप अध्ययन तिमीले यी ज्ञान फेरी कहाँबाट प्राप्त गर्दैछौ त? तिमीले बाइबलको सन्दर्भ बुझेर मात्रै प्रभुलाई चिन्छौ, तर हामीले त उहाँलाई हृदयले चिन्छौं। यो फरक छ, साथी!


बौ: (गम्भीर भएर) साथी, मलाई तिम्रो विश्वास र उत्साहमा कुनै शंका छैन। तिमीले भन्यौ, बाइबल आत्माले लेखिएको हो र आत्माले नै बुझिन्छ—यो सत्य हो। तर तिमीलाई थाहा छ, बाइबलमा नै लेखिएको छ, "मेरो आत्माले तिमीहरूलाई सबै सत्यतामा डोर्याउनेछ" (यूहन्ना १६:१३)? यो सत्य बुझ्न थियलजीले मद्दत गर्छ। तिमीले भन्यौ, तिम्रो चर्चमा युवाहरू रुँदै पाप स्वीकार्छन्—यो अद्भुत छ! तर ती युवाहरूले त्यो अनुभवलाई जीवनभर कसरी जोगाउने? यदि उनीहरूलाई बाइबलको सही शिक्षाको ज्ञान भएन भने, उनीहरू भोलि अर्को गलत शिक्षाको पछि लाग्न सक्छन्। उदाहरणका लागि, तिमीले "सच्चाई केन्द्र" को कुरा सुन्यौ होला, जहाँ अन्यभाषा बोल्ने अभ्यास हुन्छ। तिमीले नै भन्यौ, त्यो गलत हो। तर यदि कसैले तिमीलाई सोध्यो, "तिम्रो अन्यभाषा सही, तिनको गलत किन?" तिमीले के जवाफ दिन्छौ? "मेरो अनुभव सही छ" भनेर मात्रै पुग्छ? कि बाइबलको आधार चाहिन्छ? थियलजीले यस्ता प्रश्नहरूको जवाफ दिन सिकाउँछ। अनि तिमीले पावल बारे पनि गजबको तर्क दियौ जस सित म आफैं सहमत छु! तर मेरो तर्क यहाँ खास यो थियो कि पावल आफैं पनि अनुभव र ज्ञानका कुरामा निकै सन्तुलित थिए! अनुभव काम छैन भनी मैले भनेकै छैन | म आफैं पनि सयौं आश्चर्यजनक अनुभवहरूका गवाही सुनेर र देखेर हुर्केको व्यक्ति हुँ! प्रार्थना, आराधना र जागृतिको शक्ति मलाई मनग्य थाहाछ! तर मेरो आपत्ति केवल यसमै होकी धेरै विश्वासीहरू केवल यी कुरामा मात्रै अल्झेर बस्छन् र अक्सर बाइबलीय सही ज्ञान बिना जे पनि मान्न तयार हुन्छन्! गएको कोविड महामारीको समयमा के हाम्रै मण्डलीका धेरै सदस्यहरू चिनियाँ झूटो शिक्षाको फन्दामा परेनन् र? मैले आफ्नै एक जना मिल्ने साथीलाई समेत जोगाएको छु! उ त प्रार्थना, उपवास, आराधना र जागृतिमा म भन्दा निकै बलियो छ! र पनि बाइबलीय कुरामा झूटा शिक्षाको समझ नभएर ऊ लगभग गलत बाटोमा लागिसकेको थियो! हो, मैले यो सन्तुलनको कुरा गरेको हुँ साथी! म अझ यो पनि थप्छु कि हाम्रो थियलजीले हामीलाई साँचो आराधना तर्फ लैजाँदैन भने त्यो थियलजी मरेतुल्य हो! अर्थहीन हो! पाखण्डी हो!  म तिम्रो आराधनालाई सतही कदापि भन्दिनँ, तर त्यसलाई बलियो बनाउन सही ज्ञान पनि चाहिन्छ। तिमीले हृदयले प्रभुलाई चिन्छौ, तर त्यो चिनाइलाई बुझाउन र अरूलाई देखाउन मन र दिमागको पनि जरुरत पर्छ, होइन र?


आ: (हल्का मुस्कुराउँदै) तिमीले कुरा त ठीकै गर्यौ, तर मलाई अझै लाग्छ कि तिमीहरूको थियलजीले कहिलेकाहीं हामीलाई नियम र किताबमा बाँध्न खोज्छ। हाम्रो चर्चमा एकजना दिदी थिइन्, उनले बाइबल नपढे पनि प्रभुको प्रेमले उनको जीवन परिवर्तन भयो। उनले कुनै थियलजी पढिनन्, तर उनको प्रार्थनाले अरूलाई पनि प्रभुको नजिक ल्यायो। तिमीले यस्ता कुरालाई कसरी बुझ्छौ? अनि तिमीले सधैं गलत शिक्षाको डर देखाउँछौ, तर हाम्रो विश्वास प्रभुमा छ, गलत शिक्षामा होइन। हामीले आत्मिक अनुभवलाई प्राथमिकता दिंदा हाम्रो विश्वास बलियो हुन्छ, तर तिमीहरूको किताबी ज्ञानले कहिलेकाहीं विश्वासलाई जटिल बनाउँछ। मलाई त लाग्छ, हामीले सन्तुलनको कुरा त गर्छौं, तर तिमीले आत्मिक अनुभवलाई अझै कम आँकेकै छौ!


बौ: (हाँस्दै) साथी, तिमीले मलाई जटिल भन्यौ, तर म त भन्छु—तिमीले पनि कुरालाई जटिल बनाइरहेका छौ! तिमीले भन्यौ, ती दिदीको कथा—यो साँचो हो, र म त्यसलाई सम्मान गर्छु। अझै थपौँ भने, मैले अघिनै भनिसके मेरो आजको विश्वास बलियो पार्ने मेरै घर-परिवार हो र यस्ता कति आश्चर्यजनक गवाही सुन्दै र अनुभव गर्दै हुर्केको व्यक्ति नै हुँ म! तिमीले त केवल प्रार्थनाको कुरो गर्यौ,मेरो त आफ्नै परिवारमा दर्शन देख्ने, चंगाई भएको आदि थुप्रै गवाही छन्! म आफैं पनि दर्शन मार्फत प्रभुमा निर्धक्क भएको व्यक्ति हुँ! जागृति मलाई पनि मन पर्छ| म पनि रोएको छु र प्रभुको कृपालाई अनुभव गरेको छु ! तनावग्रस्त अवस्थामा 'सिद्धान्तमा होइन, प्रभुमा भरोसा राख' भन्ने सुस्केरा रुपी आवाजले मलाई सान्त्वना समेत पनि दिएको छ साथी! यद्दपी, म आत्मिक र बौद्धिक दुबैमा संगै हुर्के! किनकि बाइबलले यसैको आवश्यकता देखाउँछ!  अनि तिमीलाई थाहा छ? बाइबलमा पनि यस्ता कथाहरू छन्। उदाहरणका लागि, प्रेरित १० मा कोर्नेलियसलाई हेर—उनले प्रभुलाई पूर्ण रूपमा चिनेका थिएनन्, तर उनको प्रार्थना र विश्वासले प्रभुको ध्यान तान्यो। तर पछि पत्रुसले गएर उनलाई बाइबलको सत्य बुझाए, अनि उनको विश्वास अझ बलियो भयो। आत्मिक अनुभवले सुरु गर्छ, तर थियलजीले त्यसलाई पुष्टि गर्छ र अगाडि बढाउँछ। म तिमीलाई यो भन्छु—हामी दुवै एकअर्कालाई चाहिन्छौं। तिमीले हामीलाई आत्मिक आगो दिन्छौ, हामीले तिमीलाई त्यो आगोलाई सही दिशामा जलाउन मद्दत गर्छौं। अब भन, यो सन्तुलनमा तिमी सहमत छौ कि छैनौ?


आ: (हाँस्दै) ल, तिमीले मलाई फसाउने कोसिस गर्यौ, तर म पनि सहमत छु कि हामी एकअर्काका पूरक हौं। तर म यो पनि भन्छु—तिमीले हाम्रो जागृतिको आगोलाई चिसो नपार, र हामीले तिम्रो किताबी ज्ञानलाई बेवास्ता गर्नेछैनौं। अब यो तर्क यहाँ सकौं, र अर्को दिन फेरि कुनै नयाँ विषयमा भिडौं!


बौ: (मुस्कुराउँदै) ठीक छ, साथी! यो तर्क यहाँ रोकौं, तर हाम्रो सिकाइ र सन्तुलनको यात्रा चलिरहोस्। अर्को पटक तिमीलाई म बाइबलको कुनै पदमा फसाउँछु, तयार रहनू!


आ: हेरौं, को कसलाई फसाउँछ! (हाँस्दै)

Post a Comment

0 Comments