हिन्दू जगतमा सुसमाचार सुनाउँदा के-के कुराहरूमा ध्यान दिने? भाग ६ || विरोधाभास विषयहरूलाई कसरी सामना गर्ने? || भाग १

 


नोट: अघिल्लो भागमा यी विषयहरू सँग सम्बन्धित लिंकहरू 'थप अध्ययन' मा दिइएका छन्


) उत्पत्ति १ को ६ दिनको सृष्टि अनि संसार केवल ६००० वर्ष पुरानो ! हो, आधुनिक विज्ञानको युगमा अक्सर यो मुद्दा बाइबल र विज्ञानको क्षेत्रमा ठूलो तगारो बनी ठडिन्छ! प्रायः धेरैले आलोचना गर्ने विषय पनि यही नै हो! हिन्दू जगतमा ब्रह्माण्डको आयु उनीहरू कै शास्त्रीय गणीत अनुसार आधुनिक विज्ञान सित मेल खाने कुरामा उनीहरू निकै गर्व गर्छन् ("विज्ञानको नजरमा वेद र बाइबल”, सुरेन्द्र गौतम, नवराज पनेरु द्वारा लिखित पुस्तक अवश्य पढ्नुहोला !) पटक -पटक हामी माथि ठूलो आलोचना तेर्स्याइन्छ कि हामी यस संसारलाई केवल ६००० वर्ष मा सिमित तुल्याउँछौँ! अनि हामी भयौँ विज्ञानको बिरोधि

अब यहाँ अर्को पनि के समस्या छ भने हाम्रो इसाई समुदाय पनि यसको ठोस समाधान आज सम्म छैन ! एक हिसाबले भनौँ भने यो विडम्बनाको कुरा हो! दर्जनौं सिद्धान्तहरू बोकी हिँड्ने अनेकौं इसाई विद्वानहरू छन् ! कोही हुबहु व्याख्यामा नै तटस्थ रही ६००० वर्ष र ६ दिन आम दिन हो भन्दै जिद्दी गर्ने समूह छन् त कोही ६ दिनलाई अरु नै किसिमले व्याख्या गर्दै संसार अरबौँ वर्ष नै हो भनी हिँड्ने समूह पनि छन् ! अब यस विषयमा हामीले कसरी उत्तर दिने त

एउटा चतुर्‍याइँ तरिका के छ भन्दा उनीहरू कै शास्त्रीय भाषा लिएर उनीहरूलाई बुझाउने ! अक्सर हिन्दू शास्त्रहरूमा आलंकारिक र चिह्नात्मक भाषाको प्रयोग द्वारा सृष्टिका कहानी सुनाइन्छ! हिन्दू धर्म भित्र कै कतिपय सृष्टि कथा सुन्दा अजीब लाग्दा हुन्छन् तर जब तिनको अर्थ खोलिन्छ तब ब्रह्माण्डको रचना र काम बारे गहिरो अर्थ खोलिन्छ ! हो, त्यसरी नै यदी त्यो साहित्य शैली उनीहरूलाई समस्या छैन भने हाम्रो ६ दिनको सृष्टि किन समस्या हुन पर्यो र? उत्पत्ति १-३ मा पनि धेरै आलंकारिक वा चिह्नात्मक प्रतिकहरूको प्रयोग द्वारा परमेश्वर, सृष्टि, मानव जाती र उहाँहरू बीचको सम्बन्धलाई बुझाइएको छ

फेरि, उत्पत्ति प्राचीन युगमा लेखिएको दस्तावेज हो! त्यो मोशा कै पालामा इस्राएलीहरूलाई उनीहरूले जानिराखेकै भाषा र बुझिराखेकै संसारको ढाँचाको भाषामा परमेश्वरले के गर्नुभयो र मानव जातिलाई कसरी सृष्टि गर्नुभयो अनि पतन कसरी भयो भन्ने बारे एउटा बोध गराउन लेखिएको दस्तावेज ! आधुनिक विज्ञान सिकाउन होइन ! अब यस सन्दर्भमा भन्नु पर्दा ती ६ दिन कस्ता थिए? उत्तर निश्चय नै आम दिन थिए! लामा-लामा युग होइनन्

आधुनिक वैज्ञानिकले निर्धारण गरेको आयु सँग खास ६ दिनको सृष्टि को कुनै सम्बन्ध नहुन पर्ने हो! तर यदी हिन्दू मित्रहरू गणीत शास्त्र द्वारा आयुलाई समेत प्रमाण गर्न खोज्छन् भने यस्तो कार्य हाम्रै जगतमा पनि गरिएको छ - डा. गेराल्ड स्रोडर ले! यस बाहेक मण्डली पिताहरू सबैले ती ६ दिनलाई आम दिनको रूपमा लिएका छैनन् पनि! कतिले चौथो दिनमा सूर्य उल्लेख भएको कारणले बाँकी अघिल्ला तीन दिन आम दिन हुन सक्ने कुरामा प्रश्न समेत उठाएका थिए ! मुद्दा जे-जस्तो भए तापनि उत्पत्तिको लक्ष वैज्ञानिक शिक्षा दिनु थिएन !

) यस्तै अर्को मुद्दा छ- चेप्टो पृथ्वी ! के बाइबलले चेप्टो पृथ्वी सिकाउँछ ? सुन्दा अजीब लाग्ला! तर हो, बाइबलले प्राचीन समयकै भाषा र संसारको बुझाईलाई प्रस्तुत गरेको छ! अर्को सत्यता यो पनि होकि प्रायः कसैले पनि यो कुरा सिकाएका छैनन् ! चर्च इतिहासमा पनि ! यद्यपि यसको निष्कर्ष वा आशय बाइबलले चेप्टो पृथ्वी सिकाउँछ भन्न खोजिएको होइन

बाइबलमा प्रयोग भएको संसारको चित्रलाई तीन-तहको संसार भनिन्छ ! स्वर्ग, पृथ्वी र पाताल लोक! स्वर्ग जहाँ परमेश्वर रहनुहुन्छ, पृथ्वी जहाँ हामी छौँ र पाताललोक जहाँ मृतकहरू रहन्छन् ! पृथ्वी माथि गुम्बज जस्तो केही हुन्छ जसले माथिल्लो पानीलाई थामिराख्छ! अनि पहाडहरूलाई अक्सर खाँबोको दृश्यले हेरिन्छ ! आकाशमा सूर्य, चन्द्र र तारा! यस्तै प्रकारको संसारको दृश्य त्यो बेला थियोे र यस सम्बन्धी पदखण्डहरू प्रशस्त पाउन सकिन्छ ! यद्यपि यी दृश्यहरू विज्ञान सिकाउने उद्देश्यले नभएर ईश्वर शास्त्रीय ज्ञान सिकाउनका लागि प्रयोग गरिन्थ्यो

यद्यपि कति इसाई समुदायले फेरि यी कुरालाई आज पनि जस्ताको तस्तै लिएर पालना गर्न पनि खोज्छन् जुन मूर्खता बाहेक केही होइन ! यस्तै बाइबलमा "बादल" शब्द पनि कति ठाउँमा पृथ्वी बाहिरको स्थानलाई जनाउन प्रयोग भएको छ । साथै, बाइबलमा पृथ्वी बाहेक अन्य ग्रहहरू बारे पनि त केही उल्लेख छैन नि! यो सब सन्देशला लागि भाषाको खेल हो! यस्तै, हिन्दू शास्त्रमा पनि तीन लोक चौध भूवनको दृश्य पाउन सकिन्छ ! विज्ञानकै चस्माले मात्रै सबै कुरा हेर्नू र जोख्नु सायद भूल हुनेछ ! फेरि विज्ञान आफैं प्रगतिशील छ! भोलि कुन सिद्धान्त आउने हो हामी जान्दैनौँ!


थप अध्ययन:

१) An Analytical insight on विज्ञानको नजरमा वेद र बाइबल: Click!

२) Space-Time relativity interpretation of Genesis 1 by Dr. Gerald L. Schroeder: Click!

३) Early church fathers in Genesis 1: Click!

४) St. Augustine questioning on Day 4 and Day 1 connection: Click!

५) Cosmology of Old Testament: Click!

६) How are we supposed to handle Flat Earth controversy? Click!

Post a Comment

1 Comments