Advertisement

Responsive Advertisement

किन सिद्धान्त?

 



तपाईंले प्रार्थना गर्नुहुँदा मेरा पूर्व जुनीका पापहरू क्षमा दिनुहोस् भनी पक्का पनि गर्नुहुन्न होला!

तपाईं ताइक्वान्डो सिक्न जाँदा पक्का पनि विङ्ग चनको खाँबो (Wooden Dummy) मा अभ्यास गर्नुहुन्न होला!

तपाईं कविता वा दन्त्यकथा पढ्नुहुँदा वैज्ञानिक दृष्टिकोणले पढ्नुहुन्न होला!

तपाईं ड्रम वा खैँजडी बजाउनुहुँदा कुन स्केल, कुन सुर भनेर सायद सोध्नुहुन्न होला!

 

किन यी विषयहरू मैले एकाएक गरि यहाँहरू माझ ल्याउँदै छु त? केही अड्कल गर्न सक्नुहुन्छ होला? माथिका कुराहरूमा कुन कुराले आफ्नो भूमिका खेल्दै छ? यदि यहाँहरूलाई ईश्वर शास्त्र बारे केही ज्ञान छ भने पनि सायद उत्तर मनमा आइसकेको हुन सक्ला!

 

त्यो हो- सिद्धान्त ! (doctrine/principle/theory/philosophy)

हामी के मान्छौँ, किन मान्छौँ, कसरी मान्छौँ ! हाम्रो हाउभाउ, व्यवहार र चालचलन के कुराले निग्रानी गरेको हुन्छ ?[1]

    हाम्रो ख्रीष्टियान जीवन यापनमा पनि सिद्धान्त एकदमै महत्त्वपूर्ण ठहरिन्छ | तपाईँ सोच्नुहुन्छ होला कि उद्धार त केवल येशुमा छ, सिद्धान्तले बचाउने होइन | ‘सिद्धान्त होइन आत्माहरु बचाउनु हो मुख्य कुरा’ भनी प्रचार गर्नेहरु पनि छन्।[2] हो, सिद्धान्तले उद्धार गर्दैन | कुनै व्यक्ति सिद्धान्त सबै जानेर पनि येशूमा नरहेको हुन सक्छ | तर यसो भनेर हामीले सिद्धान्तलाई पन्छाउने बहाना बनाउनुहुँदैन | सिद्धान्त हर ठाउँमा हुन्छ चाहे विज्ञान होस्, चाहे साहित्य होस्, चाहे संगीत होस्, चाहे कानून होस् ! किनकि सिद्धान्त नै आधार हो, जग हो, खाँबो हो!

एक वरिष्ठ बाइबल शिक्षक पि ए थोमस यसरी लेख्छन्:

“सत्य सिद्धान्तको प्रस्तुति, जानकारी र स्वीकारले मात्र आत्मा बाँच्न सक्दछ। करकापले, फाइदाको निम्ति वा लोभ-लालसा देखाई गर्ने आत्मा बचाउने काम परमेश्वरको वचन अनुसारको होइन। मत्ती २८:१९,२० मा येशूले “मैले सिकाएका कुराहरु पालन गर्न सिकाई चेला बनाउन” आज्ञा गर्नुभएको छ। आत्मा बचाउने नभई सिकाउने र चेला बनाउने काम पो दिनुभएको छ। आत्मा बचाउनु सुसमाचार मात्र सुनाई निर्णय गराउने काम हो भनी सम्झनु गलत हो। सिकाएर चेला बनाउने कामको जिम्मा हामीले पाएका छौं। शिक्षा र चेला बनाउने काम नभए सुसमाचार प्रचार लक्ष्यहीन र अर्थरहित हुन्छ। बाइबलमा भएको महान सुसमाचार प्रचारक पावल नै बाइबलको सबभन्दा महान परमेश्वरशास्त्रि पनि हो भने सत्य चिन्तनीय छ।“[3]

    गुडिरहेको बस बाट हाम फाल्नुहुँदा यदि तपाईँले ठिक प्रकारले हाम फाल्नुभयो भने, मलाई त न्यूटनको चाल सम्बन्धि सिद्धान्तले बचाएको होइन भनी भन्न सक्नुहुन्न | सिद्धान्त त कुनै पनि प्रक्रिया पछाडीको वर्णन हो, बोध हो, बुझाई हो | के आइन्स्टाइनको सापेक्ष्यवादको सिद्धान्तले नै एटम बम निर्माण गरिएको थिएन र? हिरोशिमा र नागासाकी बारे सबैलाई अवगत नै होला! अब के सिद्धान्तले विध्वंश गरेको होइन भन्नु र? ट्रिगोनोमेट्री कै सिद्धान्त प्रयोग गरेर कतिपय नापतौलका कुराका हिसाबकिताब निकाली पछी ट्रिगोनोमेट्रीले गरेको होर सोध्नु कत्तिको मूर्खता होला? त्यस्तै हाम्रो उद्धारलाई सम्भव तुल्याउनको पछाडी के-कस्ता कुराहरू छन् जान्न पर्दैन र? त्यो नै सिद्धान्त हो!

    म त आराधना मात्रै गर्छु, सिद्धान्त चाहिँदैन भनेर तपाईँले भन्न सक्नुहुन्न | किनकि आराधानालाई पनि सही बाटो तिर लैजाने काम सिद्धान्त कै हो! यदि मैले सोधेँ, के तपाईँ टिका लगाएर आराधना गर्न सक्नुहुन्छ? तपाईंले पक्कै आफ्नो मुख खुम्च्याउनु हुनेछ! किन? अब त्यो तपाईँले बुझ्नुभैसक्यो भनी म आशा राख्दछु ! गलत सिद्धान्तले भाडभैलो वातावरण तर्फ लैजान सक्छ! सिद्धान्तले मण्डलीको स्वास्थ्यलाई राम्रो पार्दछ भने हाम्रो जीवनमा असल फल फलाउन मद्दत गर्दछ![4]

    सिद्धान्तले उद्धार गर्दैन तर! यसले उद्धारका विषयमा जोडिएका सम्पूर्ण कुरालाई बुझ्न मद्दत गर्दछ! जसरी औषधिको सिद्धान्तले हामीलाई बचाउँदैन तर भौतिक, रसायन अनि जैविक शास्त्र बिना औषधि बन्दैन र औषधि के को लागि, किन, कसरी, कहिले आदि प्रश्नका लागि सिद्धान्त नै चाहिन्छ! त्यसै गरी सुसमाचारमा येशू किन आउनुभयो, के गर्न आउनुभयो, को थिए, किन उहाँ नै आदि प्रश्नहरू सैद्धान्तिक प्रश्न हुन्! एक व्यक्ति यी सब कुरा जानेर पनि उहाँलाई आफ्नो जीवन अर्पण नगर्न सक्ला ! तर कुनै विश्वासमा आएको व्यक्तिले आफ्नो समस्त ख्रीष्टियान जीवनको यात्रालाई बुझ्न सिद्धान्त नै चाहिन्छ! येशु क्रुसमा किन मर्नुभएको नै थाहा छैन भने त उहाँलाई ग्रहण केको लागि गरेको भन्ने कुरो अस्पष्ट ठहरिन पुग्छ | कति विश्वासी केवल निको हुनलाई भए पनि येशुमा आउँछ, उसको प्रार्थना पनि यसैमा मात्रै समर्पित हुन्छ तर जब संकष्टको समय आइपर्छ उसले प्रभुको हात छोडिदिन्छ! उसले येशुलाई चंगाईकर्ताको रुपमा मात्रै हेरिरहेको हुन्छ जुन सरासर गलत हेराई हो!

    तीतस १:९ ले हामीलाई ठिक सिद्धान्तहरूलाई सुरक्षित राख्न र गलत सिद्धान्तको प्रतिकार गर्न आव्ह्वान गर्छ ! मण्डली इतिहास पढ्नुहोस्! थुप्रै प्रभुका सेवकहरूले साँचो सिद्धान्तहरूलाई स्थापित गर्दै, जगेर्ना गर्दै आज हामी माझ ल्याउन निकै योगदान दिएका छन्! झूटा सिद्धान्तहरूका विरुद्ध सबै लडेका छन्! अनि आज आएर हामीले यस कुरालाई कसरी हल्का तवरले लिन सक्छौँ? नयाँ करारको अधिकांस भाग यसैमा समर्पित गरिएको हामी पाउँछौँ!

    आज कतिपय क्यारिज्म्याटिक समूहहरूको उग्र सेवाकाई देख्दा पनि उनीहरूले सिद्धान्तहरूलाई बेवास्ता गरेको जस्तो लाग्छ |[5] कतिले आफ्ना व्यक्तिगत भावनाका कुरालाई, अनुभवलाई सिकाइराखेको पाइन्छ, कतिले वरदानहरूलाई जथाभावी प्रयोग गर्दै व्यापारीकरण गरेको पनि पाइन्छ ![6] आजकल जथाभावी अपोसल, अगमवक्ता आदि पद लिएर आफैंलाई सम्बोधन गर्ने चलन पनि बढ्दो छ![7] फेरी कतिपय यस्ता व्यक्तिहरू परमेश्वरमा रमाइरहेका पनि हुन सक्छन् र उत्ताउलोपनमा आएर विविध गतिविधिमा लागिपरेका पनि हुन सक्छन्! तर जे भए पनि, सैद्धान्तिकरुपमा खस्के पछी त्यसले असल फल फलाउँदैन! परमेश्वरमा रमाउनु, वरदानहरू प्रयोग गर्नु, बाहिरी अनुभव वा प्रकटीकरण देखा पर्नु आदि कुरामा समस्या तब सम्म हुँदैन जब सम्म त्यसले बाइबलीय सीमा नाघ्दैन! फेरी अर्को तर्फ, धेरै सिद्धान्त-सिद्धान्त मात्रै भन्नेहरूको पनि आफ्नो छुट्टै कमजोरी नि छ! यदि सिद्धान्तको बोध अनुसारको जीवनमा कुनै अनुभव छैन, निश्चयता छैन, त्यस अनुसारको हिंडाई छैन भने त्यस्तो सैद्धान्तिक ज्ञानले पनि कुनै फल फलाउँदैन ![8] जस्तै कि कुनै इन्जीनियरलाई पाइप सिस्टम र हैड्रौलिक बारे ज्ञान छ तर उसलाई कुनै अनुभव छैन, कला-सीप छैन, काम गर्न आउंदैन भने त्यस्तो इन्जीनियरले फल फलाउन सक्दैन !

    पावलका लागि ख्रीष्टमत केवल जीवन थिएन तर सिद्धान्त पनि, अनि तार्किक हेराईले सिद्धान्त पहिले आयो![9] तसर्थ, आज हामी ख्रीष्टियान जीवनयापन गर्दा सिद्धान्तलाई बेवास्ता गर्ने काम कदापि गर्नुहुँदैन! मलाई येशु मात्र भए पुग्छ, वा दान-वरदान मात्र भए पुग्छ, म केवल आराधना गर्न चाहन्छु आदि भनाईहरू बचपना हुन्! किनकि यी कुरा गर्नेले सोहि कुरा किन गर्दैछन् भन्ने कुरा उसैलाई थाहा छ जुन सिद्धान्तको बोध नै हो! कुरा खुलस्त नै छ!    

***

If you love Christian memes, please follow the page Sacred Satire Memes. We bring memes in both English and Nepali languages in various Theological topics.


Other pages:

  Also by profession, 

we are civil engineer.
For civil engineering works associated with buildings, you can contact us at 
equipengineering527@gmail.com
(only for Nepal)
or
using
Our Facebook page: 


[1] “Why Is Doctrine So Important?,” Crossway, last modified September 3, 2020, accessed August 10, 2024, https://www.crossway.org/articles/why-is-doctrine-so-important/.

[2] ख्रीष्टिय सिद्धान्तको प्रस्तुति,” NepalChurch.Com, April 8, 2013, accessed August 10, 2024, https://nepalchurch.com/2532/2532/.

[3] Ibid.

[4] “Why Is Doctrine So Important?”

[5] अहिलेका प्रचलित झूटा शिक्षाहरु,” NepalChurch.Com, August 13, 2013, accessed August 7, 2024, https://nepalchurch.com/5259/%e0%a4%ae%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a4%b2%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%85%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a5%87-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%9a%e0%a4%b2%e0%a4%bf%e0%a4%a4-%e0%a4%85/.

[6] हाल प्रचलित केही अन्य नवीन सिद्धान्त तथा आत्मिक पद्दतिहरु,” NepalChurch.Com, August 26, 2013, accessed August 10, 2024, https://nepalchurch.com/5253/%e0%a4%b9%e0%a4%be%e0%a4%b2-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%9a%e0%a4%b2%e0%a4%bf%e0%a4%a4-%e0%a4%95%e0%a5%87%e0%a4%b9%e0%a5%80-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%af-%e0%a4%a8%e0%a4%b5%e0%a5%80/.

[7] झूठो शिक्षा र झूठा अगमवक्ताहरु,” NepalChurch.Com, June 17, 2013, accessed August 10, 2024, https://nepalchurch.com/2821/%e0%a4%9d%e0%a5%82%e0%a4%a0%e0%a5%8b-%e0%a4%b6%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%be-%e0%a4%b0-%e0%a4%9d%e0%a5%82%e0%a4%a0%e0%a5%8b-%e0%a4%85%e0%a4%97%e0%a4%ae%e0%a4%b5%e0%a4%95%e0%a5%8d/.

[8] “We Are Accountable for What We Know,” Desiring God, n.d., accessed August 10, 2024, https://www.desiringgod.org/interviews/we-are-accountable-for-what-we-know.

[9] “The Importance of Christian Doctrine,” Ligonier Ministries, accessed August 10, 2024, https://www.ligonier.org/learn/articles/importance-christian-doctrine.


Post a Comment

0 Comments