म सानै देखि ए जी चर्चमा हुर्केको थिएँ तर ए जी भनेको के हो मलाई थाहा थिएन । जे होस् प्रभुको अनुग्रहले मैले एउटा नयाँ जीवन पाएको थिएँ । उहाँको आश्चर्यकर्मको एक गवाही नै हुँ म । यद्यपि, मेरो हुर्काइ ज्ञानको तृष्णाले भरियो । बाइबल सम्बन्धी सामग्रीहरू पढ्ने रुचि निकै हुन्थ्यो । विभिन्न किताबहरू अध्ययन गर्थें र ईश्वर शास्त्रीय कुराहरूमा औधी रुचि राख्थेँ । किन? किनकि प्रभुको महान कार्यले उहाँ प्रति मेरो विश्वास र भरोसा जगायो । अनि उहाँ बारे अझै जान्ने उत्सुकता बढ्यो । आश्चर्यकर्म र अनुभवका कुराहरूले गर्दा नै मलाई अध्ययन तर्फ लम्कायो !
म विश्वासमा आए देखि सुसमाचार सुनाउने काम गर्थेँ र अक्सर धेरैको आलोचना सहन पर्थ्यो । तब मैले जानेँ कि हाम्रो विश्वास बारे कसैले सोधपुछ वा टिप्पणी गरे त्यसको जवाफ दिन सदैव तयार चाहिँ हुनै पर्दो रहेछ । ज्ञात रहोस् कि त्यो उमेर बेला बाइबल भर्खरै पढ्न मात्रै थालेको थिएँ अनि १ पत्रुस ३:१५ बारे त निकै पछि मात्रै जानेँ । मेरो यात्रा अनि आफ्नो विश्वास नै ठीक हो भनी कसरी देखाउने भन्ने कुरा तर्फ शुरु भयो । एक क्यारिजम्याटिक विश्वासी हुनुको सत्ता बौद्धिक तर्फ म ढल्किएँ । तर प्रेरणा प्रभु कै कार्यको अनुभवले गर्दा नै थियोे ।
शुरु शुरुमा चर्च जाँदा मलाई केही पनि थाहा थिएन । सम्प्रदायका कुरा त परै जाओस् ! म सोच्थेँ कि त्यहाँ हाम्रो साँचो चर्च र अर्को झूटो शिक्षा भन्ने हुन्छ । यद्यपि कताकता हेक्का लाग्थ्यो कि चर्चहरू एकै किसिमका छैनन् । किनकि अरु मानिसहरूबाट त्यस्तै कुरा र टिप्पणी सुन्नमा आउँथ्यो । उनीहरू भन्थे कि "फेरि एउटा चर्च जानेहरू अर्कोमा नजाँदो रहेछ ।" यद्यपि क्याथलिक र प्रोटेस्टेन्ट बारे चाहिँ ज्ञात थियो । समय बित्दै जाँदा, मैले अक्सर यू ट्यूबमा भिडियोहरू हेर्ने क्रममा एक जना प्रभुको जनको भिडियो हेर्न पुगेँ जो बिदेशी नै थिए र उनले थुप्रै प्रख्यात प्रचारकहरूका शिक्षा एवम् गतिविधिहरूमा आलोचना गर्दै थिए । पछि जानेँ कि उनी जस्टिन पिटर्स रहेछन् । खासमा चिह्न-चमत्कारको धाक देखाउने र अजीब लाग्दा शिक्षा दिने प्रचारकहरूको भन्डाफोर उनले गर्दै थिए । अनि यस्तै क्रममा अरु ईश्वर शास्त्रीय सिद्धान्त जस्तै: क्याल्भिनवाद बारे पनि जानेँ । तर कसरी, कहाँ बाट त्यो चाहिँ अब याद रहेन । जे होस्, मेरो हुर्काइमा विविध ईश्वर शास्त्रीय कुराहरूको समिश्रण चाहिँ थियोे ।
अनि यता चर्च तिर सानै देखि नै अन्यभाषा, अगमवाणी र चङ्गाई जस्ता कुराहरू देख्दै, सुन्दै आएँ । मानिसहरू प्रार्थना बेला काम्ने, ढल्ने, आदि दृश्यहरू त पेन्तिकोस्तल चर्चहरूमा साधारण कुराहरू नै हुन् । अक्सर शिविरहरू हुँदा पनि जागृति प्रार्थनाको लागि १-२ घण्टाको समय छुट्टै हुन्थ्यो । जे होस् अन्यभाषाको माग, आत्माको भरपुरी निकै जोड दिइन्छ । मेरो बोलावट अनुसारको वातावरण खासै चर्चमा मैले पाएको थिइन यद्यपि स्कुल सके पछि मैले बिस्तारै ती वातावरण पाउन थालेँ ।
पेन्तिकोस्तल चर्चका विश्वासीहरूमा सिद्धान्त प्रति निकै कम रुचि देखिन्छ । यहाँ बालबालिका, किशोर र युवाहरूलाई समेत सैद्धान्तिक कुरा खासै सिकाइएको हुँदैन । अक्सर दान-वरदान, जागृतिका कुरा मात्रै प्राथमिकता दिइने वातावरण मैले पाएँ । यसको मतलब पेन्तिकोस्तल चर्चमा सिद्धान्त प्रति वास्ता नै हुँदैन भन्न खोजेको होइन । आधारभूत सिद्धान्तहरू त सिकाइन्छ तर गहिराई भने हुँदैन । एक पटक, एक जना पश्चिमी मुलुकबाट आएका मिसनरीले एक अवसरमा जवानहरूलाई अनलाइन फारम भर्न लगाएका थिए । त्यसमा एउटा सेक्सनमा ईश्वर शास्त्रीय विषयवस्तुहरू उल्लेख थिए । धेरैलाई हम्मेहम्मे भएछ !
अक्सर पेन्तिकोस्तल चर्च अन्यभाषा र चङ्गाईको लागि चिनिन्छ । चङ्गाई सेमिनार र जागृति सेवा यहाँ अक्सर हुने गर्छ । जहाँ सम्म मैले याद गरेको छु, यी सेवा प्रति कतिपय जवानहरूको गुनासो हुँदो रहेछ जस्तै प्रार्थनालाई जबर्जस्ती अगाडी लग्न खोज्ने, प्रार्थना बेला ढाल्न खोज्ने र अन्यभाषामा जोड धेरै दिने । अझ मैले अन्य सम्प्रदायका साथीहरूबाट पनि सुनेको थिएँ कि एक जनाले त अगुवाई गर्नेले हदैसम्मको गर्यो भनेर केही अर्थ न वर्थको वाक्यांश बोलेसी बल्ल छोडेको रे! कुर्ट कोचको पुस्तक "अकल्ट ए बी सी" अनुसार अन्यभाषा प्रति गरिने अत्यधिक तृष्णाको नकारात्मक प्रभावहरू पनि छन् ।* जबर्जस्ती मागिएको अन्यभाषालाई उनले प्रभुबाट प्राप्त वरदानको रूपमा मानिलिन अस्वीकार गरेका छन् । बोल्नेहरूको जीवनमा पनि सुधारको साटो धेरै हलचल मच्चिएको घटना उनी लेख्छन् । अन्यभाषा मै बोल्नेहरू पनि बाइबल अनुसारको आत्माको परीक्षणमा विफल भएको उनले पाए । जे भएपनि १९०६ देखि शुरुआत भएको अजुसा स्ट्रीट जागृतिको प्रभाव आजसम्म देख्न सकिन्छ ।
एक पटक ख्रीष्टीय राजदूत शिविरमा सिङ्गापुरको एक टीमले त गर्न सम्म गरेथे! हरेक सेसन पछि जागृति सेवा हालेथे ! कति जवानहरू गुनासो नै पोख्न थाले कि उनीहरू थकित भैसके! एउटा सेसनमा त अझ जे मैले देखेँ मलाई निकै नमज्जा लाग्यो । अन्यभाषामा सबैले बोल भन्दै एक जना प्रचारकले ३ २ १ गो भन्दै कराए! अचम्म! कहाँको शिक्षा र अभ्यास हो फेरि यो? यस्ता शिविरहरूमा त जागृति सेसन बेला स्वयंसेवकहरू धेरै खाँचो पर्छ ताकि ढल्नेहरूलाई नियन्त्रणमा लिन सकून् । आजको यो वातावरण जसोतसो बितिजाला तर भविष्यको पुस्तालाई चाहिँ यस बारे के सिकाउने हो, म जान्दिनँ । आज यी विषयहरू बहस र उत्सुकताको विषय बनिसकेका छन् ।
तर यी सब कुरा गर्दैमा के म अन्यभाषाको बिरोधि हुँ? कदापि होइन । हो, यो मेरो लागि आज एक असहज विषय चाहिँ पक्का पनि हो र धेरै कुरामा अनिश्चित छु । यद्यपि, मेरो बुझाई यति छ कि यो वरदान आज पनि छ, संसारिक भाषा पनि हुन सक्छन् र अज्ञात भाषा पनि । तर यसको अतिवादी प्रयोग र अजीब लाग्दा सिद्धान्तहरू सित चाहिँ मलाई आपत्ति छ । अक्सर यो वरदानको लागि मैले निकै प्रार्थना र चाह पनि गरेँ तर पाएँ त केवल निराशा । स्वर्गीय पा. रोबर्ट कार्थक ज्यू को केही भिडियोहरूले भने मलाई निकै उत्साह त दिएको थियो तर पनि अन्य सम्प्रदायका ईश्वर शास्त्रीय विश्लेषणले गर्दा मैले यसको तृष्णा गर्न छोडिदिएँ । हामी अक्सर आफ्ना अनुभवबाट कुरा गर्छौं तर धर्मशास्त्रबाट ती कुरा देखाउन असमर्थ हुँदा हाम्रो अनुभव माथि प्रश्न खडा हुन जान्छ । अन्यभाषा सित पनि मैले यस्तै केही पाएँ । किनकि मण्डली इतिहास, भाषा अध्ययन, समसामयिक सन्दर्भ अध्ययन आदि मार्फत आजको चलिरहेको अन्यभाषालाई बाइबलीय हो भनी पुष्टि गर्न निकै सर्कस खेल्न पर्ने देखिन्छ । आफ्नो अनुभवबाट बोलेर मात्रै पनि केही प्रमाणीकरण नहुँदो रहेछ । यसैले म के ठान्छु भन्दा हाम्रो मण्डलीले अन्यभाषा बारे आजको पुस्तालाई राम्रो सित सिकाउन आवश्यक छ किनभने धेरै भ्रामक शिक्षाहरू मनग्ये पाइन्छ । अनि मैले पनि यी वरदान भएका व्यक्तिहरू सँग बातचित गर्दा यस बारे सटिक शिक्षा खासै नदिएको कुरा उनीहरूले स्वीकार गरेका छन् भने कतिले त यस वरदानलाई त्यागेका पनि छन् । अन्यभाषा मेरो वरदान होइन तर म यति चाहिँ आग्रह गर्न चाहन्छु कि यस बारे चर्चमा सिकाइनु पर्छ । झूटा शिक्षाका मानिसहरू समेतले पनि अन्यभाषा बोल्दा रहेछन् भनेर छक्क पर्ने विश्वासीहरूको घुइँचो शुरु भैसकेको छ भने यही मुद्दालाई लिएर अन्य सम्प्रदायका विश्वासीहरूले झूटा शिक्षकहरू सँग पनि पवित्र आत्मा छन् हो भनी सोध्न थालेका छन् । अनि यदि यो त्यति नै आवश्यक वरदान हो भने येशूले किन अन्यभाषा बोल्नुभएन त भन्ने प्रश्न समेत उठेको छ । तसर्थ, यस बारे पेन्तिकोस्तल मण्डलीमा अझै शिक्षा र छलफल हुन आवश्यक छ भनी म ठान्छु ।
अनि त्यस्तै चङ्गाईको कुरामा पनि धेरै अल्झिने गरेको पाएको छु । यहाँ कुरो के छ भन्दा येशूलाई उद्धारको लागि ग्रहण गरिएको होकि रोग निको हुनका लागि? कति विश्वासीहरू केवल रोग निको हुने कुरामा मात्रै पनि सिमित भएको मैले पाएको छु । केही रोग लाग्न हुन्न, वा निको नभएको मामिलामा "खै त प्रार्थनाको उत्तर? खै येशूले किन केही गर्नुभएको छैन?" जस्ता आलोचनात्मक प्रश्न उठ्न थालीहाल्छ । अनि फेरि अगुवाहरूले उत्तर पनि दिने उस्तै: "तिम्रो विश्वास पुगेन! प्रार्थना पुगेन!" आदि! खास भन्न पर्दा, येशूले निरोगी जीवनको प्रतिज्ञा गर्नुभएको नै छैन । हाम्रो पूर्ण स्वास्थलाभ अब उहाँको दोस्रो आगमन पछि मात्रै सम्भव छ । तपाईं आफैं भन्नुहोस्, कोरोनाको बेला चङ्गाई कता गयो? अनि चङ्गाईको ठूल्ठूला सेमिनार गराउने स्व-घोषित अगमवक्ता र प्रेरितहरू कता गए? फेरि आज एउटा रोगबाट निको हुने व्यक्ति भोलि अर्कै रोग लागेर बित्दैन र? हाम्रो मूल जोड शारीरिक चङ्गाईमा हुनुहुँदैन । आज केही सानो दुख कष्ट र रोग लाग्नै हुन्न, परमेश्वर माथि नानाथरी आरोप आइहाल्छ ! बाइबल स्पष्ट छ: संसारमा रहुन्जेल दुख पीडा हुन्छ नै र हामी पनि ती कुरा भएरै जान पर्ने हुन्छ । यति मात्र कि हाम्रो निम्ति भविष्यको एउटा आशा छ - अनन्त जीवनको । के हाम्रो मण्डलीले यी कुरामा बढी जोड दिनु आवश्यक छैन र?
बाँकी दर्शन, चिह्न, चमत्कारका कुराहरू पनि छन् र म यी सबैमा दृढ विश्वास गर्छु । यद्यपि वचन सित जाँच्न एकदमै आवश्यक छ । अगमवाणीका कुरामा पनि म विश्वास गर्छु तर सदैव साँचो अगमवाणी आइरहन्छन् भन्ने पनि छैन । मुख्य कुरा चाहिँ यी सबै बाट ख्रीष्टलाई महिमा दिनु आवश्यक छ - उहाँको गवाही र साक्षी बन्ने । हामीले यी सबै कुरामा जाँच्ने काम गर्न पर्छ किनकि यी कुराहरू मार्फत पनि धेरै झूटा शिक्षा पलाएका छन् । यदि उदाहरण नै दिने हो भने झूटा अगमवक्ताहरूद्वारा गरिएका झूटा भविष्यवाणी, येशूको दोस्रो आगमन बारे गलत भविस्यवाणी, झूटा चमत्कारहरू अनि स्वर्ग-नर्क बारे वाहियात दर्शनहरू आदि । यी कुराहरू आजभोलि मेडियामा प्रशस्तै पाइन्छ ! प्रभुबाट साँचो दर्शन पनि आउँछ किनकि यी घटनाहरू स्वयं म सित पनि घटिसकेका छन् अनि चमत्कार र अगमवाणीहरू पनि साँचो रूपले हुने गर्छन् । तर पनि यी कुराहरू मै भर परेर जिन्दगी गुजार्नु चाहिँ लाभदायक हुँदैन ।
अब अन्त्य तिर आउन चाहेँ ! पेन्तिकोस्तल चर्चको सबल पक्षहरू के-के हुन् त?
१) प्रभु सँगको व्यक्तिगत र घनिष्ठ सम्बन्ध माथि जोड दिने
२) पवित्र आत्माको भरपुरी र उहाँको हाम्रो जीवनमा हुने सक्रिय संलग्नता एवम् काम माथि जोड दिने
३) पवित्रीकरणको पक्षलाई जोड दिने ।
४) पश्चात्ताप र हृदयमा नवीकरण हुने पक्ष ।
५) वरदानहरूको प्रयोग मार्फत प्रभुको शरीरलाई निर्माण गर्ने ।
६) सैद्धान्तिक कुरामा मात्रै नभइ अनुभवी कुरामा पनि जोड दिने ।
७) पेन्तिकोस्तल चर्चहरू मार्फत धेरैले प्रभुको उपस्थिति र छुवाईलाई अनुभव गर्न पाएका छन् ।
८) आत्मिकी जागृति मार्फत पनि धेरै जनाको बन्धन तोडिएको पाइन्छ ।
९) प्रभुको प्रेम, वास्ता, भलाई, करुणा, दया, कृपा र अनुग्रहलाई धेरैले चमत्कार मार्फत पनि जान्न सकेका छन् ।
१०) दर्शन र अगमवाणीहरू मार्फत परमेश्वरको चेतावनी, न्याय, रक्षा आदि कुराहरूको अनुभव धेरैले गर्न पाएका छन् ।
११) चङ्गाई मार्फत धेरैजसो मानिसहरू येशूमा आएका छन् ।
१२) अन्त्यमा, यस मण्डलीले मिसनका कामहरूमा पनि धेरै सहयोग पुर्याइरहेको छ ।
पेन्तिकोस्तल मण्डलीहरूले सुधार गर्न पर्ने पक्षहरू:
१) चङ्गाईका कुरालाई मात्रै जोड धेरै नदिने । "बोलीमा शक्ति छ", "यो परमेश्वरको इच्छा हो", "हामीले निको भएका छौँ भनी विश्वास गर्न पर्छ", "वचनलाई दाबी गरौँ" जस्ता अभिव्यक्तिहरू सकभर नबोल्ने ।
२) "अन्य भाषा" लाई धेरै मुल्य नदिने । अन्य भाषाको आलोचना अचेल धेरै भैरहेको छ । "बाइबल पढ" उत्तर दिने सोच नराख्दा राम्रो । अन्य भाषाको पक्षमा भन्दा विपक्षमा बढी तर्क र बाइबलीय आधार बलियो छ । अक्सर अन्य भाषा बोल्नेहरूले आफ्नो अडानको प्रतिरक्षा गर्न पनि सकिरहेका हुँदैनन् ।
३) अन्य सम्प्रदायका चर्च जस्तै: रिफर्म्ड, बप्तिस आदिलाई "पवित्र आत्मा नमान्ने" चर्च भनी गलत संज्ञा नदिने । ऐतिहासिक दृष्टिकोणले ती चर्चहरू पहिला आए र धेरै योगदान दिए । आज हामीले पाएका ईश्वर शास्त्रीय ज्ञान ती चर्चहरू कै उपज हुन् । हाम्रो सम्प्रदाय १९०६ पश्चात् मात्रै आएको हो र पवित्र आत्माको वप्तिष्मा सँग अन्य भाषाको सम्बन्ध त्यस पछि जोडिन पुग्यो ।
४) धेरै काम्ने, ढल्ने, उछलकुद गर्ने गतिविधिलाई नियन्त्रण गर्न सिक्न पर्छ । जीवनमा फल र ख्रीष्टियान चरीत्र विकास भएको छैन भने यी सबै प्रदर्शनीमा मात्रै सिमित ठहरिन्छ ।
५) झूटा शिक्षाहरूबाट जोगिने । अक्सर क्यारिजम्याटिक अभियान, वर्ड अफ फेथ, समृद्धिको सुसमाचार का क्षेत्रहरूबाट केही न केही झूटा शिक्षाहरू यस मण्डलीका विश्वासीहरूले समेत मान्दै आएको कताकता पाइन्छ । जस्तैः अभिषेकको तेलको नाउँमा व्यापार, अन्यभाषा बोल्न सिकाउने अभ्यास, स्कुल अफ सुपरन्याचुरल, चाहना गर र दाबी गर (Name it & claim it), गर्जने प्रार्थना, आत्मा फुक्ने, आदि ।
अब अन्तिममा भन्नपर्दा मैले पेन्तिकोस्तल चर्चलाई नराम्रो भन्न खोजेको होइन । म आफैं पनि यसै चर्चको सदस्य हुँ र मलाई लाग्छ यो एक राम्रो सम्प्रदाय हो जसमा सिद्धान्त र अनुभवलाई सँगै लिएर हिँडिन्छ । जे होस् आगामी पुस्ताका लागि धेरै नै चुनौती रहेको म देख्छु । उनीहरूले समयमा नै ठीक एवम् स्पष्ट शिक्षा पाउन आवश्यक छ ।
* कुर्ट कोचको पुस्तक 'अकल्ट ए बी सी' चाहिएमा 'For any comment & queries' मा गएर मलाई मेसेज गर्न सक्नुहुनेछ !
0 Comments