"के तिमीहरूले पवित्र आत्मा पायौ?" (प्रेरित १९:२) || पा. भोजराज भट्ट || 2025 || Review

 


Link: Click!

    मेरो व्यक्तिगत जीवनमा ठूलो प्रभाव पार्ने धेरै जना प्रभुका दासहरू मध्ये एक जना पी ए थोमस हुन् भने अर्को चाहिँ डा. भोजराज भट्ट | जुन प्रकारले उहाँहरूले ख्रीष्टियान जीवनलाई बुझाउनुहुन्छ, सायद यस्तो शिक्षा हाम्रो मण्डलीहरूमा पनि नितान्त आवश्यक छ | विशेषगरी पवित्र आत्माको सशक्तिकरण सम्बन्धी चासो राख्ने विश्वासीले पास्टर भोजराज जीको शिक्षाहरू सुन्न एकदमै आवश्यक रहेको म ठान्दछु | 

    उहाँ मेरो मनपर्दो प्रचारक हुनुभएकोले होइन तर उहाँको शिक्षामा त्यो ईश्वर शास्त्रीय ज्ञान सित उहाँको आफ्नो जीवनका कथा र अनुभव पनि बटुलिएर एक व्यावहारिक शिक्षा बनेको कारणले हो | धेरै बाइबल शिक्षक र ईश्वर शास्त्री वा आफ्नो जीवनको अनुभवबाट प्रचार गर्ने व्यक्तिहरूमा यो कुरा चाहिँ त्यति मैले पाएको थिइन जति उहाँ बाट मैले सिक्ने मौका पाएँ | पी ए थोमस सर बाट जति मैले ख्रीष्टियान हुनुको अर्थ, तात्पर्य र बोध आज सिक्न सकें, मैले पा. भोजराज सर बाट पनि जीवनमा ईश्वर शास्त्र र व्यक्तिगत अनुभवलाई कसरी सन्तुलनमा ल्याउने र जिउने भन्ने बारे धेरै सिक्न सकें | अक्सर यस्तो सिकाई र मार्ग निर्देशन हाम्रा मण्डलीका आम शिक्षा र प्रचारहरूमा पाइँदैन | 


    पवित्र आत्माको वरदान र मण्डलीको वृद्धि सम्बन्धी उहाँको हालसालको भिडियो पनि निकै लाभदायिक, चुनौतिपूर्ण र विचरणशील देखियो | जुन प्रकारले ईश्वर शास्त्र, गवाही, ऐतिहासिक घटना र व्यक्तिगत अनुभवहरूलाई समेटेर उहाँले यो वचन तयार गर्नुभयो यसले उहाँको जीवनको लामो समयको सेवाकाईको भोगाई र ईश्वर शास्त्र र अनुभवलाई सँगसँगै सन्तुलनमा लिएर यात्रा गर्ने एउटा ज्वलन्त उदाहरणलाई उत्कृष्ट रितिले पेश गरिएको पाइन्छ | आज मण्डलीमा कि त अनुभवलाई ज्यादा जोड दिएर ईश्वर शास्त्रीय पोषण कम हुँदै जान्छ भने कतै ईश्वर शास्त्रीय कुराले गर्दा मण्डली सुख्खा मात्रै हुँदछ, बिना कुनै अनुभवको ! यसैकारण प्रभुले सायद पावललाई विशेष रूपले चलाउनुभयो र आज पनि पावल जस्ता व्यक्तिहरू आवश्यक छन् | 

    पा. भोजराज सरको यस भिडियोले हामीलाई पवित्र आत्माको उपस्थिति मात्रै होइन तर हाम्रो जीवनमा उहाँको सक्रियतालाई पनि जोड दिन्छ | कतै आज हामीले पवित्र आत्मालाई केवल सिद्धान्तमा मात्रै सिमित त पारिरहेका छैनौँ? साथै, के हामी वरदान-वरदान मात्रै भनेर फेरी चरित्र वृद्धि र फल फलाउने कुरामा पछी त परिरहेका छैनौँ? के हामी पवित्र आत्माको वरदानको चक्करमा वरदानलाई नै मूर्तिपूजाको साधन त बनाइराखेका छैनौँ? के हामीले पवित्र आत्माको काम हरू देखिएन भन्दै वरदान र उहाँको काम अब पहिला जस्तो छैन रहेछ भन्ने भ्रममा पनि त जिइराखेका छैनौँ? पा. भोजराज सर यस्तै महत्त्वपूर्ण विषयवस्तुहरूमा हाल बोल्दै आउनुभएको छ जसको उत्तर धेरैलाई दिन साह्रै गाह्रो पर्दछ | 


    हाम्रो जीवनमा आत्मिक वृद्धि र बौद्धिक वृद्धि दुबैको सन्तुलन हुन नितान्त आवश्यक छ | हामी केवल आत्माको कामलाई अनुभवका आधारमा मात्रै पनि नाप्न हुन्न भने आत्माको विषयलाई केवल सैद्धान्तिक दायरा भित्रै मात्र पनि सिमित पार्न हुँदैन | आत्मा सम्बन्धी सिद्धान्तले हाम्रो व्यवहार, जीवन र अनुभवलाई प्रभाव पार्न पर्छ भने हाम्रो जीवनका अनुभवले पवित्र आत्माको सिद्धान्तलाई पुष्टि पनि गर्नपर्दछ | सतही रूपले हेर्दा विरोधाभाष जस्तो लाग्ने यो कुरालाई जीवनको जियाई र ख्रीष्ट सितको आत्माको अगुवाई सहितको हिंडाईबाट पनि हामी धेरै कुरा सिक्न सक्छौँ | 


    जसरी त्रिएक सिद्धान्त हामीलाई विरोधाभाष लाग्छ तर ख्रीष्टियन जियाईमा हामी उहाँहरूलाई बुझ्दै जान्छौँ त्यस्तै नै पवित्र आत्मा सितको संगतले पनि हामी उहाँको सिद्धान्त र उहाँको प्रभावको अनुभवलाई बुझ्दै जान्छौँ | पा. भोजराज सरलाई धन्यवाद यस्तो भिडियो ल्याइराख्नु भएकोमा!