Advertisement

Responsive Advertisement

के हामी जवानहरू यी कुराको सरोकार राख्छौ?

 


मिति पौष १२ गते, २०७९ का दिन आज, अफिसको कामले गर्दा मेरै घर नजिकैको रवि भवन स्थित एउटा भव्य शपिंग कम्प्लेक्समा निर्माण सम्पन्नको कामका लागि अफिसको दाइ सित गएका थियौं | शुरुमा त मैले सोचे कि त्यो भवन कि शपिंग सेन्टर होला कि त कुनै व्यवासायिक भवन | हामी भित्र गएर नापहरू लिन थाल्यौं र अचानक मैले त्यहाँ लास्ट सपरको एक तस्वीर पनि देखें | कोठाहरू भव्य ठुल्ठूला थिए | हाम्रो ध्यान पुरै नाप्ने काममा मात्र थियो जब सम्म त्यहाँको कर्मचारीहरूले आफ्नो परिचय खुलाएनन् | अफिसको दाइले कोठा के को लागि हो भनेर सोध्दा त्यहाँका कर्मचारीहरूले भने कि यो त मण्डली हो अर्थात चर्च | हामी सियोनका हौँ, ख्रीष्टियान हौँ | यो सुन्ना साथ दाइले म पनि ख्रीष्टियन नै हुँ भनेर उनीहरूलाई भन्नुभयो | मैले जय मशिह चाहिं गरिन किनकि सियोन शब्दले मलाई शंकाको घेरामा राखिसकेको थियो | नभन्दै उनीहरूले मेरो मण्डली सोधे र मलाई भने कि हामीहरू निस्तार चाड मान्छौं | यति सुने पछी मेरो दिमाग एकैछिन त खाली नै भयो | अनि वरपर हेर्दा साँचै नै माता मान्नेहरू रहेछन | आङ सांग होंगको तस्वीर, माताको नाउँमा प्रार्थनाका पत्रहरू, पुस्तकहरू, क्यालेन्डर आदि थिए | त्यो पुरै भवन भरि नै तिनीहरूको मात्रै मण्डली थियो | महिला कर्मचारीहरू हेर्दा पनि कोरियन चाइनिज जस्ता अनुहारका थिए | त्यो सब देखेर म छक्क परें | कहाँ सम्म यिनीहरू फैलिएका रहेछन र कहाँबाट मात्र पैसा व्यवस्थापन गर्दा रहेछन भन्ने कुरो दिमागमा खेल्न थाल्यो | मुख्य कुरो त मेरो अफिसको दाइ इसाई हुनुहुन्न | मेरो मनमा खेल्न थाल्यो कि उहाँले के सोच्नुभयो होला | यता अफिस फर्कदा उहाँले सोध्नु भयो कि आज गएको ठाउँ तिमीहरूको भन्दा फरक होला हैन र मैले निकै फरक छौं भनेर प्रतिक्रिया जनाएँ | बरु हाम्रो मण्डलीका विश्वासीहरूलाई ज्ञान नहोला तर बाहिरका मानिसहरूलाई थाहा छ कि इसाई जगतमा पनि विविध थरिका इसाई समुदाय छन् | अभिषेक जोशी लगायत मैले मेरा आफ्नै मित्रहरूबाट यो कुरालाई सुनेको छु |

अब कुरो यो छ कि, बुझाउने चाहिं कसरी ?   

यी मेरा व्यक्तिगत धारणाहरू हुन्:

१) मण्डलीहरू फरक हुँदैमा के हाम्रो विश्वास गलत हो भन्ने निस्कर्ष हुन्छ र? के अन्य धर्महरूमा विभाजन छैनन् र? अवश्य छन् | धर्मको सार पो समान हुन्छ | झूटा शिक्षा बाहेक अन्य सबै सम्प्रदायहरूको सार उही हो |

२) बाइबल एउटा छ भने कसरी तिनीहरू झूटो शिक्षा भए? बाइबल पो एउटा छ तर बाइबललाई कसरी व्याख्या गरिएको छ भन्ने कुरो मुख्य हो |

३) जसरी समाज र राष्ट्रमा बिगार, भ्रष्टाचार, दलाली गर्नेहरू हुन्छन्, त्यस्तै धर्ममा पनि बिगार गर्नेहरू हुन्छन् |

४) त्यहाँ सत्य कुरो भएको हुनाले नै झूट पनि अस्तित्वमा रहन्छ | ‘सत्य’ आफैँ तुलनात्मक तत्त्व हो |

५) झूटो कुरोले आफ्नो आस्था प्रतिको हाम्रो जिम्मेवारी र सरोकारलाई इंगित गर्नमा मद्दत गर्दछ | जहाँ झूट र विकल्प हुन्छन्, त्यहाँ बौद्धिक छनोट, चेतना, विवेक, ज्ञान र बुद्धिको खेल शुरु हुन्छ र हाम्रो सरोकारको मापनले संचालन गर्दछ | 

८) जति धेरै झूटा शिक्षाहरू निस्कन्छ, त्यसले वास्तविक आस्थाको सांचो जांच लिंदछ | त्यसले आफ्नो आस्था प्रति हाम्रो गम्भीरताको मापन गर्दछ |

९) हाम्रो विश्वास भावनात्मक मात्र हो कि विचारंशील पनि हो भन्ने कुरोको सीमाना झूटा शिक्षाहरू द्वारा पनि निर्धारित हुँदछ | जस्तै: चंगाई हुँदै छ भनेर सच्चाई केन्द्रमा लाग्ने होकी येशूमा अनन्त जीवन छ भनेर दुख-सुखमा उहाँलाई नै पछ्याउने हो?

१०) अन्तमा, सत्य जहिल्यै पनि बलवान हुन्छ | हामीले आफ्ना मित्रहरूलाई सुसमचारको विषयमा सुनाइराख्न आवश्यक छ | सुसमचारको मूल आशय बुझे पछी झूटा शिक्षाका नियतलाई चिन्न सकिन्छ |  

यो समयमा हामी इसाई जगत होसियार हुनुका साथ् साथै हाम्रा अइसाई जगतलाई पनि यस बारे बोध गराउन अत्यावश्यक छ | कतै हाम्रा मित्रहरू यी झूटा शिक्षकहरूको चंगोलमा त पर्न गएनन्? मेरै घर नजिकको ठाउँहरूमा यिनीहरूको डेधा नै पाउन सकिन्छ र मण्डलीको नाममा ठुल्ठूला भवनमा संगति संचालन गर्दै छन् | बाफलमा यहोवाका साक्षीको भवन नै पाइन्छ भने अब यस्ता अरु थुप्रै भवनहरू यिनीहरूको कब्जामा नहोला भन्न सकिन्न | यिनीहरू बिगाबिगी हाम्रो लागि चिन्ता र चुनौतीको विषय हुँदैछ | यस्तै समूहका कारण हाम्रो समाज झन बद्नाम हुँदैछ | के हामी जवानहरू यी कुराको सरोकार राख्छौ?   


Post a Comment

0 Comments