Advertisement

Responsive Advertisement

Finally the Second Collaborated Nepali Apologetics book!!!

 





आज नेपाली ख्रीष्टियान जगत्‌ले नयाँ पुस्तक पाएको छ । पुस्तकको नाउँ रहेको छ: बाइबलको विश्वव्यापी प्रभाव । नेपाली लेखकहरूद्वारा नेपाली भाषामा नेपालीहरूका लागि लिखित यो कृति बाइबलको बारेमा हो । यस पुस्तकमा योगदान पुर्याउने २४ जना योगदानकर्ताले नेपालका ६ ओटा प्रदेशको प्रतिनिधित्व गर्छन् । फरक–फरक पृष्ठभूमि र भूगोलका लेखकहरूद्वारा लेखिएको भए तापनि सबै पाठ एउटै ढाँचामा छन् । प्रत्येक पाठमा तपाईंले शीर्षक, परिचय, मुख्य भाग र निष्कर्ष पाउनुहुने छ । हरेक पाठको मुख्य भागलाई ७ ओटा बुँदामा विभाजन गरिएको छ ।

यस कृतिमा जम्माजम्मी ५ ओटा भाग छन् । संसारका सबै धर्मशास्त्र र पुस्तकहरूभन्दा बाइबल कसरी फरक छ भनी पहिलो भागमा प्रस्ट पारिएको छ । यसका ६ ओटामध्ये पहिलो पाठले अनेकताका बाबजुद पनि बाइबलमा एकत्व पाइन्छ भनी सम्बोधन गर्छ भने प्रचार–प्रसारको दुनियाँमा बाइबलले इतिहास रचेको छ भनी दोस्रो पाठमा चर्चा गरिएको छ । तेस्रो पाठ बाइबलको अनुवादसित सम्बन्धित छ जहाँ मानव इतिहासमा बाइबल सबैभन्दा बेसी अनुवाद भएको पुस्तक हो भन्ने तथ्याङ्क प्रस्तुत छ भने चौथो पाठमा मनग्गे सतावटको बाबजुद पनि बाइबल अविनाशी पुस्तक हो भनी छर्लङ्ग पारिएको छ । पाठ पाँचमा बाइबलको ईश्वरीय प्रेरणाको एउटा मजबुतको साक्षीको रूपमा पूरा भएका भविष्यवाणीहरूलाई प्रस्तुत गरिएको छ भने पाठ छमा बाइबललाई अन्य धर्मग्रन्थहरूसित तुलना गरिएको छ ।

बाइबल वैज्ञानिक पुस्तक हो भनी भाग दुईमा दाबी गरिएको छ । हामीलाई थाहा छ कि बाइबल कुनै वैज्ञानिक पाठ्यपुस्तक भने होइन । तरै पनि यसले विज्ञानसित सम्बन्धित विषयहरूबारे उल्लेख गर्दा यो शानदार ढङ्गमा साँचो साबित भएको छ । बाइबल प्राचीन धार्मिक ग्रन्थ भए तापनि आधुनिक औषधी विज्ञानले प्रमाणित गरेका तथ्यहरू यसमा पाइन्छन् भनी पाठ सातमा पढ्न पाइन्छ । पाठ आठले खगोल विज्ञानबारे सम्बोधन गर्छ जसमा कतिपय खगोल विज्ञानसित सम्बन्धित तथ्यहरू बाइबलमा हजारौँ वर्ष पहिले नै लेखिएका थिए भनी जिकिर गरिएको छ । पाठ नौमा बाइबलमाथि विश्वास गर्ने वैज्ञानिकहरूको सङ्क्षिप्त जीवनी पाउनुहुन्छ जसले बाइबल सामान्य पुस्तक मात्र नभई वैज्ञानिहरूले पनि विश्वास गर्ने उच्च कोटीको ग्रन्थ रहेछ भनी पाठकलाई विश्वस्त पार्न खोज्छ ।

भाग तीनले बाइबललाई ऐतिहासिक रचनाको रूपमा उभ्याउँदछ । बाइबल एउटा यस्तो ग्रन्थ हो जसमा भूगोलसाथै व्यक्तिका नाउँहरू र विविध संस्कृतिको बारेमा उल्लेख गरिएको छ । आधुनिक पुरातत्त्वविद्याले पुरानो र नयाँ करारमा उल्लिखित कैयौँ ऐतिहासिक सन्दर्भहरूको एकपछि अर्को गर्दै पुष्टि गरिरहेको छ भनी पाठहरू दश र एघारमा प्रस्ट पारिएको छ । पाठहरू बार्ह र तेर्ह बाइबलको विश्वसनियतासित सम्बन्धित छन् । अन्य ऐतिहासिक कृतिहरूको जस्तै हामीसित बाइबलको पनि अटोग्राफ अर्थात् मूल पाण्डुलिपि छैन । हामीसँग बाइबलका मूल लेखकहरूद्वारा लिखित दस्ताबेजहरूका प्रतिलिपि मात्र छन् । तब स्वाभाविक प्रश्नको उदय हुन्छः के हामीले एक्काइसौँ शताब्दीमा पढ्ने बाइबल सही प्रकारले प्रतिलिपि हुँदै हाम्रो हातमा आइपुगेको छ त ? पाठहरू बार्ह र तेर्हले तपाईंलाई सकारात्मक उत्तर दिन्छन् । बाइबलका लेखकहरूले जस्तो लेखेका थिए सारमा त्यस्तै वचन हामीसम्म आइपुगेको छ भनी अध्ययनले देखाएको छ भनी यी दुवै पाठमा छर्लङ्ग पारिएको छ ।

भाग चार बाइबलको प्रभावसित सम्बन्धित छ । यसमा जम्माजम्मी आठवटा पाठ छन् । बाइबल संसारमा सर्वाधिक प्रभावशाली पुस्तक हो भन्ने दाबीमा थोरैले मात्र बादविवाद गर्लान् । साहित्य, सङ्गीत, सभ्यता, आधुनिक विज्ञान, राजनीति, मानव अधिकार, परोपकारी अभ्यास, नैतिक शिक्षामा बाइबलको उल्लेखनीय प्रभाव देख्न पाइन्छ भनी यस भागमा चर्चा गरिएको छ ।

बाइबल परिवर्नत गर्ने पुस्तक हो भनी भाग पाँचले प्रस्ट पार्छ । बाइबलले मानिसहरूका जीवन मात्र परिवर्तन गरेको छैन तर समाजहरू पनि रूपान्तरण गरेको छ र बाइबलकै मूल्य–मान्यतामा आधारित रहेर मानव इतिहासमा अभ्यास गरिँदै आएका कुरीतिहरू पनि उन्मूलन भए भनी यस भागमा उल्लेख गरिएको छ । यो मेरो १६९ औँ सम्पादित पुस्तक हो ।

-Nepali Apologist Kamal Adhikari

Finally, this book is essential to Teens and Youths who are growing not only with Spirituality but also with rationality. Every church denominations are encouraged to navigate through this attempt and help believers and Christian thinkers to build their faith. 

Thank you!

Post a Comment

0 Comments