किशोर र जवान
अवस्थामा जीवन तनावग्रस्त हुनु स्वभाविक कुरो हो तर हेरचाह गरिएन भने यसले नराम्रो
रूप पनि लिन सक्छ । सामाजिक तनाव, सम्बन्धजनक तनाव, मानसिक तनाव,
मनोवैज्ञानिक तनाव र भावनात्मक तनावहरूका कारण धेरैले हार खान्छन् भने कतिपयले
आत्महत्या समेत रोज्न पुगेका छन् । प्रहरीबाट प्राप्त तथ्यांक अनुसार, गएको वर्षमा देश भर प्रत्यक दिन १९ जना भन्दा बढी मानिसहरूले आत्महत्या गरेका
छन् अर्थात एक वर्षमा ७१४१ मानिसहरू ।[1]
२०२० मा उल्लेखित तथ्यांक अनुसार विश्व स्वास्थ्य संगठनले नेपाललाई विश्वमा नै ७
औं उच्च आत्मा हत्याको दर रहेको देशको रुपमा सुचित गरेको पाइन्छ जसको मापन २४.९ प्रति १००००० रहेको छ ।[2]
(यो तथ्यांक तर्साउनका लागि प्रयोग गरिएको नभएर सचेत गराउनका लागि हो) यो एकदमै
भयावह स्थिति हो !
आजभोलिका इसाई जवानहरूको प्रश्न हुन्छ कि आत्महत्या गर्नाले उद्धार माथि के असर पर्छ होला ? यस विषयमा सायद अनेक विश्लेषण पाउन सकिन्छ तर यहाँ मूल कुरा त एक इसाईले किन आत्महत्यालाई छनौट गर्न पर्यो र ? उक्त प्रश्नलाई जवाफ दिने काम हैन तर प्रश्न नै गर्न पर्ने देखिन्छ ! यदि जीवनमा निराशाको बाढीले गर्दा आफ्नो जीवन नै अन्त्य गर्ने निर्णय गर्दै छौँ भने उद्धारको सम्बन्धमा त झन कसरी हामीले प्रश्न उठाउन सक्यौं ? के हामीमा जल्दो बल्दो आशा छैन र ? तनावग्रस्त जीवन देखि हरेस खाएर आत्महत्या जस्ता निर्णय लिनु भनेको त लज्जास्पद हार हो ! समाधान होइन ! फेरि एउटा इसाई जवानको मस्तिष्कमा यसको भूत सवार हुनु भनेको साह्रै खिन्न र गम्भीर कुरो हो ! हाम्रो भरोसा येशू माथी छ कि हाम्रो जीवनका अन्धकारमय परिस्थिति माथी ?[3]
पहिलो कुरो त विषय यहाँ उद्धार गुम्ने वा नगुम्ने सित त खास सरोकार नै छैन तर येशू माथिको हाम्रो भरोसा सित पो छ । के हामीले हाम्रो जीवनका संघर्षहरूलाई मात्रै ध्यान दिएर बोझ माथि बोझ थप्दै त छैनौं ? येशूलाई विश्वास गरेर, उहाँ माथि भरोसा राखेर र उहाँमा रहेर जिउनलाई हामीले बोलावत पाएका छौँ अनि हामीले उहाँ माथि पाएको आशालाई अरु मानिसहरू सम्म पुर्याउने जिम्मेवारी पनि पाएका छौँ (मत्ती २८:१९-२०, २ तिमोथी ४:२) । हामी आफैं यसरी निराशाले हरेस खाएर आत्महत्या जस्तो कदम सम्म पुग्यौं भने अनि अरु जीवनमा हार खाएका मानिसहरूका लागि कसरी आशाको किरण बन्न सकौँला र ? येशू माथि भरोसा राखेको जीवन र अन्य मानिसहरूले जिउने जीवनमा के फरक भयो त उसोभए ? यसले त उल्टै येशू प्रति हाम्रो विश्वास र सुसमाचार प्रति ठूलो प्रश्न खडा गरिदिन्छ । हामी उहाँको साक्षी र गवाही नै बन्न सक्दैनौं । हामी त झन् अरु भन्दा अझै दयनीय मानिस जसो देखिन थाल्छौं र येशूमा विनाशको लागि आएको जसो भान अरुको मगजमा पर्न जान्छ !
दोश्रो कुरो, तनावले दिने पीडा निकै कठोर र असह्य त अवश्य नै हुन्छ तर के यो हाम्रो प्रभु भन्दा बलवान् छ र ?[4] मानव पीडादायी जीवन त येशूले समेत यस धर्तीमा रहँदा जिएका थिए ![5] गेतसमनीको बगैंचामा कष्टकर प्रार्थना सम्म उहाँले गर्नु भएको थियो ! आफू पक्राउमा पर्दा उहाँ एक्लै छोडिनु भयो । उहाँको आफ्नो बस्ने घर, जग्गा, सम्पत्ति आदि केही थिएन । यति सम्म कि आधुनिक युगका अध्यात्मिक चिन्तक सद गुरुले समेत उहाँको जीवनलाई एक असफलताको जीवन सम्म भनेर आपत्तिजनक प्रतिक्रिया जनाएका छन् ![6] तर पनि किन येशू माथि नै हामीले भरोसा गर्यौँ ? किन उहाँलाई पछ्याउने निर्णय लियौँ ? किन उहाँलाई विश्वास गर्यौँ त ? किनकि उहाँले के काम गर्नुभयो भनी हामीलाई थाहा छ (१ यूहन्ना ३:८, कलस्सी २:१५, हिब्रू २:१४; १० इत्यादि) । उहाँको जीवन वास्तवमा कस्तो थियो भनेर हामी जान्दछौँ । उहाँलाई मानवीय पीडाको अनुभूत छ (हिब्रू ४:१५) ! उहाँ हाम्रो निमित्त ज्योति, बाटो, सत्य र आशा भएर आउनुभयो र आज पनि उहाँ त्यही हुनुहुन्छ (हिब्रू १३:८) !
तेश्रो कुरो, तनावग्रस्त जीवनमा आफ्ना संघर्षलाई ध्यान दिएर जिउन भन्दा हाम्रो ध्यान येशू तिर लगाउन सिकौं । उहाँले नै हामीलाई बोलाउनु भयो र उहाँले नै हाम्रो जीवन सम्हाल्नु हुनेछ (२ तिमोथी १:१२) ! जीवनको वरपरका विशाल छालहरू देखेर डराउने होइन तर आफू सित रहनु हुने येशू माथि भरोसा राख्दै उहाँलाई पछ्याइ राख्ने हो ! उहाँ सदा हामी सित हुने प्रतिज्ञा गर्नु भएको छ र आज पनि उहाँ हामी सित नै हुनुहुन्छ (मत्ती २८:२०) । जीवनका कठिन परिस्थितिमा निराशा तर्फ फर्कने होइन तर येशूलाई अङ्गाल्न सिक्ने हो ! इसाई जीवन भनेको नै उहाँ सितको हिँडाइ हो ! उहाँले नै हाम्रो फिक्री गर्नुहुन्छ (१ पत्रुस ५:७) !
अत: तनावग्रस्त जीवनमा आत्महत्या जस्ता सोच कुनै समाधानको विषय त हुँदै हैन ! साथै आत्महत्या गर्दा उद्धारमा असर पर्छ कि पर्दैन जस्तो खतरनाक प्रश्नलाई सम्बोधन गर्न पनि हुँदैन । हाम्रो साँचो आशा प्रभुमा नै छ र उहाँले नै हाम्रो जीवन सम्हाल्नु हुनेछ । हामीलाई कहाँ, कसरी, कहिले चलाउनु पर्ने हो, सम्हाल्न पर्ने हो त्यो उहाँलाई थाहा छ ! तसर्थ, हाम्रो ध्यान येशूमा राखौं, जीवनका समस्याहरूमा हैन !
References used:
Bhattarai, Sewa. “Nepal’s
Suicide Rate Vastly Underestimated,” n.d. Accessed August 1, 2022.
https://www.nepalitimes.com/here-now/nepals-suicide-rate-vastly-underestimated/.
Farquhar,
J.N. Gita and Gospel. Third Edition. The Christian Literature Society
for India, 1917.
Richard,
Raj. “Reasoned Musings: Sympathizing & Preventing Suicide; How Could God
Allow Suicide?” Reasoned Musings, October 26, 2015. Accessed August 1,
2022. https://rajkumarrichard.blogspot.com/2015/10/sympathizing-preventing-suicide-how.html.
Sadhguru
on Jesus and Rama, an Unsuccessful Failure! Jaggi Vasudev !, 2019. Accessed August 1, 2022.
https://www.youtube.com/watch?v=nR93ypIU49M.
“Suicide
Rate Is High, but Conversation about Issue Is Lacking.” Accessed August 1,
2022.
https://kathmandupost.com/health/2022/03/14/suicide-rate-is-high-but-conversation-about-issue-is-lacking.
The
Lesson of Samson,
2022. Accessed July 5, 2022. https://www.youtube.com/watch?v=4HXzG8wig7s.
[1] “Suicide
Rate Is High, but Conversation about Issue Is Lacking,” accessed August 1,
2022,
https://kathmandupost.com/health/2022/03/14/suicide-rate-is-high-but-conversation-about-issue-is-lacking.
[2] Sewa
Bhattarai, “Nepal’s Suicide Rate Vastly Underestimated,” n.d., accessed August
1, 2022,
https://www.nepalitimes.com/here-now/nepals-suicide-rate-vastly-underestimated/.
[3] The
Lesson of Samson, 2022, accessed July 5, 2022,
https://www.youtube.com/watch?v=4HXzG8wig7s.
[4] Raj
Richard, “Reasoned Musings: Sympathizing & Preventing Suicide; How Could
God Allow Suicide?,” Reasoned Musings, October 26, 2015, accessed August
1, 2022,
https://rajkumarrichard.blogspot.com/2015/10/sympathizing-preventing-suicide-how.html.
[5] J.N.
Farquhar, Gita and Gospel, Third Edition. (The Christian Literature
Society for India, 1917), 82.
[6] Sadhguru
on Jesus and Rama, an Unsuccessful Failure! Jaggi Vasudev !,
2019, accessed August 1, 2022, https://www.youtube.com/watch?v=nR93ypIU49M.
0 Comments