क्याल्भिनवाद के हो? र किन यसको प्रतिरक्षा गरिनुपर्छ? || सी. एच. स्पर्जन || एक विश्लेषण || २०२५

 



क्याल्भिनवाद के हो? र किन यसको प्रतिरक्षा गरिनुपर्छ? 

- सी. एच. स्पर्जन 

एक विश्लेषण ...


यस पुस्तकमा मैले पाएको केही मुख्य शिक्षाहरू: 

१) सृष्टिको उत्पत्ति देखि नै परमेश्वरले हामीलाई चुन्नुभएको 

२) क्याल्भिनवादले हामीलाई प्राचीन शिक्षा, प्रेरितहरू कै शिक्षा तर्फ फर्काउँदै छ 

३) परमेश्वरको पूर्वनिर्धारण सत्य हो र यसका साथै मानिसको जिम्मेवारी पनि । 

४) ख्रीष्ट केवल चुनिएकाहरूका लागि मात्रै मर्नुभयो 

५) नरकमा हुने मानिसको भीड भन्दा स्वर्गीय राज्यमा हुने भीड नै अधिकतम हुनेछ - यति सम्म कि मरेका नवजात शिशुहरू पनि ! कारण ख्रीष्टले सर्वोच्चताको महिमा पाउनुपर्छ । 

६) चुनिएकाहरू कहिल्यै नष्ट हुने छैनन् अर्थात् मुक्ति गुम्दैन ।

७) मुक्ति केवल परमप्रभुको काम हो ।

८) हाम्रो विश्वास पहिल्यै देखेर परमेश्वरले हामीलाई प्रेम गर्नुभएको होइन । हामी सृष्टि हुनु अघि नै उहाँले प्रेम गर्नुहुन्थ्यो नत्रता हामी जन्मेको समय पछि हामीलाई प्रेम गर्ने कारण उहाँले केही पाउनु हुने थिएन । 

९) संसारको सृष्टि अघि परमेश्वर आफ्ना चुनिएकाहरूलाई प्रेम गरिरहनु भएको थियोे ।

१०) हाम्रो जन्म र जीवन उहाँकै सार्वभौम पूर्वनियुक्तिको प्रवन्ध माथि आधारित हुन्छ ।

११) हामीलाई विश्वासमा खिच्नुहुने उहाँ नै हुनुहुन्छ ।

१२) अन्ततः पूर्वनियुक्ति र अनुग्रहको सिद्धान्त नै वास्तविक सुसमाचार हो! 


मेरा आफ्नै केही जिज्ञासाहरू:-

१) कुनै पनि अन्जान व्यक्तिलाई "परमेश्वर तपाईंलाई प्रेम गर्नुहुन्छ; उहाँ तपाईंको निम्ति क्रुसमा मर्नुभयो" भन्ने कि नभन्ने होला? एकातर्फ सुसमाचार सुनाउने बाध्यता हाम्रो काँधमा दिइएको छ, अर्को तर्फ उद्धारमा आउने मानिसहरू त फेरि पहिल्यै बाट छानिएका छन् ! अनि यदि त्यो व्यक्तिले धेरै पटक इन्कार गरिरह्यो भने उसको निम्ति प्रार्थना गरिरहने कि गर्न छोड्ने? उसको निम्ति चिन्ता-फिक्री वास्ता गर्ने कि हामी आफ्नो बाटो लाग्ने? अनि परमेश्वरले हाम्रो हिसाबकिताब लिनुहुन्छ भनेर पनि डर मान्ने कि नमान्ने? हो, मुक्ती हाम्रो काम होइन तर सुसमाचार सुनाउने त हाम्रो काम हो! जिम्मेवारीको भार त हाम्रो पनि छ! यो एउटा सोच्न पर्ने कुरा हो! 

२) विनाश कै लागि सृष्टि गरिएको मानिसहरूलाई पनि यस संसारमा हुँदा हामीले प्रेम र वास्ता चाहिँ गर्न पर्ने रे! हुन त को नियुक्त गरिएका हुन् र को होइनन् हामीलाई थाहा छैन क्यार! ठिक छ, ठिक छ! अब परमेश्वरले तिनीहरूलाई त घाम, पानी, वायु, जमीन आदि दिइनै रहनु भएको छ भने हामी को हौँ र हाम्रो प्रेम र वास्ता नदिने होइन त? बरु नरकमा दुर्गति सहनु अघि यही संसारमा परमेश्वरको भलाई चाखोस भनेर होला नि सायद, त्यस्तै हो क्यार! 

३) स्पर्जनले त अझै नव जात शिशु मृत्यु पश्चात् स्वर्ग जान्छन् रे त! खै त्यही पढेँ त मैले! होइन होइन, पक्का पनि मै गलत हुँ ! क्याल्भिनवाद त सही होरे नि त! अनि कसरी उनी गलत भए? भने पछि, नवजात शिशु मृत्यु पछि चाहिँ स्वर्ग जाने भए? चुनिएकाहरू हुन् कि होइनन् ? नचुनिएकाहरू त पक्का पनि शिशु अवस्था पार नगरी व्हाट ठूला भएर जन्मेका त होइनन् क्यार! भनेसी मानिस चुनिएका र नचुनिएका चाहिँ अलि पाको उमेर भएसी मात्रै छुट्टिने हुन् क्यार! होइन होइन, यो पनि हुनै सक्दैन ! चुनिएकाहरूका शिशु अवस्थामा नै निधन भयो भने मात्रै स्वर्गमा जाने हो ! ठैट म पनि! 

४) हामी जन्मन अघि नै परमेश्वरले प्रेम गर्नुभयो नत्र हामी जन्मे पछि त हामीमा त्यस्तो प्रेम गर्न लायक नै के पाउनुहुन्थ्यो रे त! ओहो! अनि हामी जन्मन अघि चाहिँ हामीमा के देखेर प्रेम पहिल्यै गर्नुभयो होला त? कि रोमीको पुस्तकले भने झैँ यो कुमालेको इच्छा हो? कसलाई काम लाग्ने बनाउने र कसलाई नबनाउने? अनि उहाँले त अनन्त एक्लोपनमो अवस्था देखि नै पो चुनिएकाहरू सबलाई प्रेम गरिरहनु हुन्थ्यो रे त! भनेसी उहाँले पछि छुट्टै नचुनिएकाहरू पनि सृष्टि गर्नुभयो ? तर फेरि त्यस्तो नि होइन रे! जिम्मेवारीको कुरा पनि गरेको छ र पाप गर्यौँ भने पनि त्यसको दोष त हाम्रै शीर माथी होरे! यो त बडो अचम्मैको रहस्य रहेछ ! 

५) हामीलाई विश्वासमा खिच्ने पनि परमेश्वर नै भए पछि हामीले किन धेरै टाउको दुखाउने होला त? हो... सुसमाचार त सुनाउने नै हो! लागिपर्ने नै हो! तर विश्वासमा आउँला कि नआउँला भनी त खास तनाव लिने नै होइन नि! आखिर चुनिएकाहरू मात्रै त हुन् प्रभुमा आउने, बाँकी त गए नरक के सफर पर! 


स्पर्जनको यो पुस्तिका पढ्न रोचक त लाग्यो तर अझै मेरो मन चाहिँ शान्त छैन । अझै धेरै प्रश्नहरू दनदनी बलिरहेकै छ! तर मलाई ढुक्क भयो अब, यस सिद्धान्त सम्बन्धी धेरै जिज्ञासा मेटाउने मेरो सपना अब यस धर्तीमा पूरा हुने वाला चाहिँ छैन । जे होस्, स्पर्जन एक आदरणीय प्रभुका दास थिए, उनलाई चाहिँ म आदर एकदमै गर्छु ! उनको यस पुस्तिकालाई पनि मेरो कृतज्ञता व्यक्त गर्दछु !

Post a Comment

0 Comments