Advertisement

Responsive Advertisement

A Review of Khulduli Show Questions/Answers event

 



गुड न्युज च्यानल द्वारा संचालित खुल्दुली कार्यक्रममा प्रभुका सेवक एल्डर पि ए थोमस ज्यूलाई आमन्त्रित गरिएकोमा म धन्यवाद ज्ञापन गर्दछु । बाइबलिय प्रश्नोत्तरमा निकै जानकारीमूलक र विचरणशील उत्तरहरू प्रस्तुत गराउनु भइ पि ए थोमस ज्यूले आफ्नो बहुमुल्य समयको योगदान दिनुभएको छ । आशा छ उहाँको उत्तरहरूले प्रश्न सोध्ने दर्शकहरूलाई केही राहत पक्का पनि मिलेको छ । चित्त बुझाइका कुरा एउटा व्यक्तिगत स्तरमा छँदै छ । कतिपय प्रश्नहरू निकै विवादस्पद खालका पनि थिए ।

 

कार्यक्रममा जम्मा २९ प्रश्नहरू थिए भने लगभग २ घन्टाको (१.५७.४०) समय ओगटिएको थियो । ५० वर्ष देखि नेपालमा सेवा गर्नुभएका बाइबल शिक्षक पि ए थोमसले नेपाली मण्डली इतिहासलाई गहिरो रूपले बुझ्नु भएको छ । वर्तमान मण्डली स्थापनामा उहाँको ठूलो योगदान पनि रहेको छ । यस कार्यक्रममा उहाँले आवश्यक पर्ने सिमाना भित्र रहेर मात्रै प्रश्न र जिज्ञासाहरूलाई सम्बोधन गर्नु भएको पाइन्छ । सबै उत्तरहरू निश्चय नै सबैलाई पचन हुने पक्का पनि हुँदैन र विविध खेमामा बाँडफाँड भएका मण्डलीका विश्वासीहरूलाई चित्त बुझ्दो उत्तर पनि दिन आजको युगमा असम्भव नै छ । निश्चय नै ती प्रश्नहरूको उत्तर सायद येशू आउन्जेल पनि विवादमा कायम नै रहन्छन् ।

 

सोधिएका प्रश्नहरूमा विविध विद्याहरू समावेश थिए । कुनैको सरल उत्तर दिन सक्ने खाले थियो भने कुनै विविध पक्षलाई समेटी विश्लेषणात्मक उत्तर दिन पर्ने अवस्था पनि थिए । वक्ता आफैंले स्वीकार गर्नु भए झैँ सबैलाई सबै कुराको ज्ञान कदापि हुँदैन ।

 

यस कार्यक्रममा सोधिएका प्रश्नहरू र दिइएका उत्तरहरू माथि केही कैफियत जाहिर गर्ने जमर्को गरेको छु । हामी एक विचरणशील एवम् विश्लेषणात्मक विश्वासी हुन पर्छ । यो भन्दै गर्दा मैले वक्ताको आलोचना वा समालोचना गर्न चाहेको कदापि होइन तर उहाँको उत्तरहरूको विश्लेषण मात्रै दिन चाहेको हुँ । म आफ्नो विश्लेषण दुई चरणमा दिनेछु: प्रथम चरणमा वक्ताको उत्तर प्रति मेरो प्रतिक्रिया दिनेछु र दोस्रो चरणमा मेरो आफ्नो विचार राख्ने छु । उहाँ मेरो लागि एक प्रेरणादायी पात्र पनि हुनुहुन्छ जसका कारण नै प्रभुको वचन बुझ्न र उहाँमा अझै लीन हुन मलाई धेरै टेवा मिलेको थियो ।

 

Questions

1) हामीले बाइबल अध्ययन गर्ने बेलामा वा उल्था गर्ने बेलामा कसरी गर्ने ? के कुरामा ध्यान दिने ?

2)कतिपय मानिसहरू भन्ने गर्छन कि पुरानो नियम भन्दा नयाँ नियम मात्रै प्रचार गर्नु राम्रो हो ? के यो साँचो हो ?

3)भजनसंग्रह र हितोपदेशकोमा लेखिएका पदहरूलाइ हामीले कसरी लिने ?

4)पिता,पुत्र र पवित्र आत्मा को हुनुहुन्छ ?

5) येशू अहिले कहाँ हुनुहुन्छ ?

6) येशूको पछि लाग् भनेर धेरै पटक येशुले भन्नू भएको छ यस्को अर्थ के हो र कसरी पछि लाग्ने पछि लाग्न के गर्ने ?

7) २ वा ३ जना मेरो नाउमा मेरो नाउमा भेला हुन्छौं भने म त्यहा हुनेछु भन्नुको अर्थ ?

8 )  येशुले सिकाउनु भएको प्रार्थनाको अर्थ के हो  ?

9) परमेश्वरको शरिर छ कि छैन ?

10) बाइबलमा पढ्छाै भने येशूको अरू चेलाहरू पनि छन् तर पनि पावललाइ धेरै चलाउनु भएको पाइन्छ किन होला ?

11) परमेश्वरको अभिशिक्त जनहरु पास्टर अगुवाको विरोध गर्नु भनेको छ के साच्चिकै  नहुने नै हो ?

12) नेपालको केहि स्थानमा चङ्गाइ गर्नेहरूले येशूको नाममा, हातको पन्जाबाट सुन, चाँदी र तेल Golden Dust हातमा देखिएको पाइन्छ के यो बाइबलिय हो ?

13) परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति भाकल गर र त्‍यो पूरा गर, उहाँको चारैपट्टि रहनेहरू सबैले उहाँलाई भेटी चढ़ाओ,भजः 76:11

के अझै भाकल हुन्छ र ?

14) हामीले प्रार्थना गर्दा पनि किन ? कुनैकुनै रोगहरु निको हुदैन ?

15) पुरानो करारमा परमप्रभुको आत्मा ओर्लनु भयो भनेर पढ्न पाउछौ  तर नयाँ नियममा भएको पवित्र आत्मामा के भिन्नता छ ?

16)पवित्र आत्माले कसरी काम गर्नुहुन्छ ?

 

..............Break  ........

 

१. हामीले योग गर्न हुन्छ कि हुँदैन?

२. खास अन्य भाषा भनेको कस्तो वरदान हो? प्रेरित २ अध्याय र १ कोरिन्थी १४ को अन्य भाषामा के फरक होला?

३. सम्प्रदायहरू हुनु राम्रो होकि होइन? र कसरी विविध सम्प्रदायहरू बीच एकता कायम गर्न सकिन्छ ?

४. उत्पत्ति ६:१-४ को उचित व्याख्या के होला?

५. के बाइबलले यो संसार केवल ६००० वर्षको मात्र छ भनेर सिकाउँछ ?

६. हाम्रो आफ्नो व्यवसायिक काम हरू मा कहिलेकाही बाध्य भएर घुस लेन देन गर्न पर्ने अवस्था आउँदा के त्यो गर्न उचित होला ? कसरी बाइबल ले यस लाई सम्बोधन गर्दछ?

७. एउटा इन्जिनियर को नाताले यदि अन्य धार्मिक स्थल को नकसा को काम आउँदा गर्न ठिक कि बेठिक?

८. के हामीले वास्तु शास्त्र लाई मान्न आवश्यक छ?

९. के तीन त्रीलोक चौध भुवन फिल्म बाइबलिय छ?

१०. हामीले उद्धार गुमाउन सक्छौं कि सक्दैनौं ?

११. चङ्गाई यदि वरदान हो भने किन आज कोरोना जस्ता रोग निको हुन सकेको छैन ?

१२. के आत्मिकी वरदान प्रेरित हरू का निमित्त मात्र थिए? के आज सबै आत्मिकी वरदान हरू बन्द भएका छन् ?

१३. जोन क्याल्भिन का अनुसार के परमेश्वर ले पहिल्यै निश्चित मानिस हरू मात्रै स्वर्ग का लागि नियुक्त गर्नुभएको छ?

 

यी सबै प्रश्नहरू निकै लाभदायक थिए । बाइबल शिक्षक पि ए थोमस ज्यूले आवश्यक सिमाना भित्र मात्रै आफ्नो उत्तरहरू दिनुभएको पाइन्छ । आजको युगका जिज्ञासुहरू सायद त्यति नपच्ला किनकि आजको युगका युवा वर्ग लगायत ईश्वर शास्त्रमा धेरै लीन हुनेहरूलाई बहस ज्यादा मन पर्छ । कतिपय त आफ्नै सम्प्रदायिक शिक्षामा कट्टर नै हुन्छन् । तर उहाँले प्रदान गर्नु भएको उत्तरले वास्तविक ख्रीष्टियान जीवनको परिवेशलाई सम्बोधन गर्दछ । जुन प्रकारले उहाँले खेमा, चङ्गाई, वरदान, विश्व दृष्टिकोण, विज्ञान, विवेकशील छनौट, आदिका विषयमा बयान दिनुभएको छ, उहाँको प्रमुख प्राथमिकता प्रभु सङ्गको हाम्रो व्यक्तिगत सम्बन्ध रहेको पाइन्छ । विवादस्पद विषयहरूमा पनि उहाँले वास्तविक जीवनमा सार्थक हुने किसिमले उत्तरहरू दिनुभएको पाइयो । कुनै कुनै विषयहरू उहाँले हाम्रो आफ्नो विवेकको जिम्मेदारीमा छोड्नुभएको छ भने उहाँले प्रायः बाइबलको मुख्य विषयहरू जस्तै येशू सङ्गको सम्बन्ध, परमेश्वरको राज्य, पवित्र आत्माको अगुवाई र भरपुरी आदि भित्र केन्द्रित रहि प्रश्नहरूलाई विश्लेषण गर्नु भएको पाएँ । उहाँको मुख्य विशेषता चाहिँ के पाएँ भन्दा हाम्रो युवा परिधिभित्र जसरी तीललाई अनावश्यक पहाड बनाई विवाद ल्याउने र बहस गर्ने तर निस्कर्ष ननिकाल्ने प्रचलन छ, उहाँको त्यस्तो छैन । हाम्रो परिधिभित्र अनावश्यक विषय वस्तुहरूमा पनि बहस निकै चल्छ जुन धेरै पढेको, जानेको भनेर घुर्की देखाउने मन्च झैँ आजको वातावरण भएको पाइन्छ । यो हामी सबैको तीतो यथार्थ हो । यो भन्दै गर्दा उहाँको सबै उत्तर सङ्ग म १००% सहमत छु भन्न खोजेको होइन । कतिपय प्रश्नहरूमा मेरो व्यक्तिगत मान्यता उहाँको भन्दा निकै फरक छ । तर उहाँको उत्तर दिने, विश्लेषण गर्ने, विविध पक्षहरूलाई समेट्ने, विवादित विषयहरूमा पनि उचित निस्कर्ष कोर्ने शैली एकदमै राम्रो रहेको छ । कतिपय प्रश्नहरूमा उहाँले विवेचनात्मक विश्लेषण गर्नुभएको छैन यद्यपि उहाँले आवश्यक जगलाई खुलाउनुभएको पाइन्छ । कुनै डर, हिचकिचाहत र अलमल बिना नै निर्धक्क साथ उत्तर दिने उहाँको राम्रो शैली भने पक्कै देखिन्छ ।

 

अब माथिका प्रश्नहरूमा धेरै प्रश्नहरूले अरु पुछ्रे प्रश्नलाई जन्म दिँदै जान्छ । यी सबै प्रश्नहरू आवश्यक पनि छन् तर निचोड निकाल्न गाह्रो पनि छन् । मुख्य कुरो यो छ कि यी प्रश्नहरू कस्तो नियतले, कस्तो उद्देश्य लिएर हामीले सोधेका छौँ होला? हाम्रो फुच्चे दिमागमा ज्ञान मात्रै थुपार्ने र बहस गर्न सक्षम हुने सोचले प्रश्नहरू सोध्दै छौँ कि प्रभुमा अझै अघि बढ्ने हेतुले सोध्दै छौँ ? मैले अघि नै भने कि उहाँको उत्तर मण्डलीको खेमा अनुसार पनि भर पर्छ चित्त बुझाउने र नबुझाउने विषयमा । एउटा उदाहरण म के दिँदछु भन्दा विज्ञान र बाइबलको विषयमा आज सम्म नेपालमा यस विषयलाई राम्रो सित विश्लेषण गर्ने कोहि पनि देखेको छैन । त्यसैले मलाई यस विषयमा आज सम्म नेपाली ईश्वर शास्त्रीहरूको विश्लेषण कदापि पचेको छैन । यस्तै तपाईंहरूलाई पनि हुन सक्छ । अन्ततः हाम्रो प्रमुख लक्ष नै परमेश्वरको राज्य हो, ख्रीष्ट सङ्गको सम्बन्ध हो र पवित्र आत्मामा रहि जिउने जीवन हो । वक्ताले व्यङ्ग्य दिनु भए झैँ येशू फर्कनु भए पछि अलमल प्रश्नहरूको उत्तर सोध्ने इच्छा धेरैलाई होला । ठेट उत्तर नआएको अवस्थामा सन्डे स्कुलका शिक्षकहरूले पनि यस्तै भन्ने गर्द छन् । तर मेरो धारणामा येशू आउनुभए पछि पनि हामीलाई हाम्रो जिज्ञासाको तृष्णा मेटाउनु कुनै आवश्यकता छैन । येशू आउनु भएपछि उत्तर जानेर चाहिँ के गर्नु? हाम्रो ध्यान अझै उत्तर कै तृष्णामा रहेछ जुन एक हिसाबले मूर्ति पूजा जस्तै हो भन्ने मलाई लाग्दछ । साथै, कति विषयहरूमा पनि ठेट उत्तर पाउन सकिँदैन । त्यस्तो अवस्थामा विवेक प्रयोग गर्दै उक्त विषय कत्तिको हाम्रो जीवनको लागि अपरिहार्य छ भनेर सोच्न पर्छ नत्र ती अनावश्यक विषयहरूलाई लिएर समयको बर्बादी नगर्दा निको हुनेछ । तर अरूलाई चित्त बुझाउनै पर्ने हो भने चाहिँ गहिरो अध्ययनका साथ सबै भन्दा कम विवादित पक्षलाई लिएर अघि बढ्न पनि सकिन्छ ।

 

अन्ततः यो मेरो आफ्नो व्यक्तिगत विश्लेषण मात्रै हो । गुड न्युज च्यानलको खुल्दुली कार्यक्रम प्रति म निकै धन्यवादी छु । साथै एलडर पि ए थोमस ज्यूले आफ्नो व्यस्त समयलाई यस कार्यक्रमको निम्ति बलिदान गर्नुभएकोमा उहाँलाई धन्यवाद दिँदछु । परमेश्वर, उहाँ सित हाम्रो सम्बन्ध, ख्रीष्टियान विश्वासको सार र लक्षलाई राम्रो सित गहिरो रूपमा बुझ्नु भएका प्रभुका सेवकहरू मध्य उहाँ पनि एक हुन् जसले वर्तमान नेपाली मण्डली निर्माणका लागि निकै योगदान पुर्याउनु भएको छ । साथै, म आज जुन स्थानमा छु, जुन बोलावटलाई पक्रेर अघि बढ्दै छु त्यसमा उहाँको प्रमुख हात र योगदान छ ।

 

हाम्रो आगामी युगको लागि पनि यस्तै बाइबल शिक्षकहरूको एकदम खाँचो छ । आशा छ कि प्रभुले सहि समयमा जुटाउनु हुनेछ । प्रभुको महिमा भएको होस् ।


Post a Comment

0 Comments