Advertisement

Responsive Advertisement

परमेश्वरको अदालतमा वेद र बाइबल

 



वैशाख २०७८ मा नै प्रकाशनमा आएको पुस्तक "परमेश्वरको अदालतमा वेद र बाइबल" का लेखक रामचन्द्र ढकाल हुन् । उहाँले विविध विषयहरु समेटेर ख्रीष्टियान धर्म विरुद्ध उठ्न र नेपाली नागरिकहरुलाई सचेत तुल्याउन यो पुस्तक बजारमा ल्याउनु भयो । यस अघि पनि "विज्ञानको नजरमा वेद र बाइबल" पुस्तक अन्य लेखकहरुले प्रकाशनमा ल्याएका थिए ।

 


यो पुस्तक केही हप्ताहरु देखी मैले थोरै थोरै गर्दै पढ्दै आएको थिएँ । शुरु शुरुमा मैले जानेको विषयहरु हेर्न थालेँ तर ज्यादै दुख लाग्यो किनकि कुनै पनि नयाँ तर्कहरु मैले केही पाइन । मात्र पुराना विवादहरु । साथै, यहाँ बाइबल सित सहि व्यवहार गरिएको छैन । हो, मण्डली जगतबाट गल्तीहरु नभएको होइन । त्यो हामी सहर्ष स्वीकार अवश्य गर्छौँ । यस पुस्तकमा उठाइएका कतिपय विषय वस्तु एकदम ठिक पनि हुन् र मण्डलीले निकै विचार पनि पुर्याउनु पर्ने देखिन्छ । तर अर्को तर्फ बाइबल सित सठिक व्यवहार गरिएको छैन ।

बाइबलका पदहरुलाई जबर्जस्ति बङ्याउने कार्य, अर्थको अनर्थ लगाउने, हिन्दु विश्व दृष्टिकोण र ईश्वर शास्त्रको नजरबाट बाइबलिय सिद्धान्तलाई व्याख्या गर्ने, ख्रीष्टियाण जगतमा हुने अभ्यासहरुलाई हिन्दु धार्मिक धारणाको धरातलमा अर्थ लगाउने, यहुदी सन्दर्भ र पृष्ठभुमि भुल्ने, बाइबलका पुस्तकहरु कुन कुन बिधाका हुन वास्ता नगरी विश्लेषणमा अघि बढ्ने जस्ता अनेक काम लेखकले गरेका छन् । अब हुन त हाम्रो आफ्नै जगतमा पनि कत्तिले हिन्दु शास्त्र सित यस्तै व्यवहार गरेको हुनाले पनि आज यो सातो फेरेको हुन सक्छ । यसमा कुनै शंका छैन । 

ख्रीष्टियान जगतले पनि अर्को तर्फ बुझ्न पर्ने हो कि हामीले हाम्रो छिमेकी धर्मका मित्रहरूलाई आदर गर्न पर्छ र जथाभावी उहाँहरुका शास्त्रीय कुराहरुको गलत व्याख्या गर्ने, खिल्ली गर्ने, गलत विश्लेषण गर्ने जस्ता कार्य गर्न हुँदैन । आफू मात्र सत्य र बाँकीलाई ठहरै झुठो भन्दा उहाँहरुलाई पनि पीडा उत्तिकै हुन्छ जति यो पुस्तक पढेसी हामीलाई हुन्छ । यस्तो पुस्तकहरु त हरेक युगमा आउँलान तर हामीबाट पनि धेरै कुराको सुधार हुन आवश्यक देख्छु ।

गहन अध्ययन गर्ने विश्वासीहरुलाई यो पुस्तकले केही असर कदापि पार्दैन तर यहाँ रह्यो कुरो साधारण विश्वासीहरुको । यस्तो पुस्तकलाई जवाफ पनि दिन आवश्यक ठान्दिन किनकी त्यो हाम्रो आफ्नै बेइज्जती हुनेछ । हामी आफैं पनि ज्ञानमा राम्रो होला तर व्यवहारमा भने अस्तव्यस्त भएका छौँ । हो, अरुको कमजोरी साँच्चै छ भने त्यो पनि देखाउन पर्छ तर त्यसको पनि एउटा तरिका हुन्छ । आदरका साथ सच्याउने र खण्डन गर्ने । 

परमेश्वरको इच्छा भए पक्कै पनि यस पुस्तकले उठाएका विषय वस्तु को प्रत्त्युत्तर पक्का दिनेछौं तर यो पनि आम साधारण विश्वासीहरुका खातिर मात्र ताकी उहाँहरुको विश्वासमा कुनै ठेस नलागोस । यद्यपि अध्ययनशिल ख्रीष्टियानहरु पनि प्राय बिरोध गर्ने, गिल्ला गर्ने, उत्ताउलो भएर घृणा गर्ने, कठोर व्यवहार गर्ने प्रवृति छँदैछ ।  तसर्थ मण्डली जगतले यस कुरामा पनि सुधार गरून् ।

 


अर्को कुरा, अदालतमा पेश गर्ने जे जति लेखकले आफ्नो आक्रोश व्यक्त गर्नु भयो त्यसको लागि धन्यवाद । हामी अदालतसम्म पनि जान तयार छौँ । तर कृपया यस्तै पुस्तक प्रकाशन गर्ने हो भने इमान्दारी विश्लेषण गर्नु होला । देश निर्माण कुनै धर्मले गर्ने होइन तर आम मानिसको मानसिकताले हो । देश निर्माण कार्यमा हरेक धर्मले आफ्नो योगदान अवश्य पनि दिएका छन् । यहाँ देशको पहिचान र संस्कृत कुनै खतरामा परेको छैन । यस्तो विविध आन्तरिक नकारात्मक गतिविधि र राजनीति त हरेक वाद मान्ने चाहे धर्म होस वा राजनीति, सबैले गर्दछ्न । यसको अर्थ ती वाद सबै पछ्याउनेहरु दोषी हुँदैनन् । यस प्रसङ्गमा सहि विश्लेषण हुन आवश्यक छ । कसैको अभद्र व्यवहार र कामले पुरै समाजलाई औँला उठाउन मिल्दैन । तर जे होस् इसाई समाजका पनि धेरै समस्याहरु उल्लेख गर्नुभयो, त्यसको लागि धेरै धन्यवाद छ ।

यी कुनै पनि विषय वस्तुले येशू माथि हाम्रो विश्वास हलाउन सक्दैन । बरु सुधार हामीले हाम्रो समाजमा अवश्य ल्याउन भने सक्छौं । तपाईंहरुको प्रयत्न जारी राख्नु होस् र हाम्रो प्रार्थना छ कि तपाईंले पनि एक दिन उहीँ प्रभुलाई पाउनु भएको होस् । प्रत्युत्तरमा पनि हामी केवल मण्डलीमा भएका कमजोर विश्वासीहरुको खातिर सक्रिय हुनेछौं तर तपाईंहरु विरुद्ध आवाज उठाउन कदापि होइन । कृपया बाइबलिय विश्वास खास के हो त्यो पनि राम्रो सित बुझ्न समय दिनु होला । तपाईंलाई धर्म परिवर्तन गर्न आग्रह गरेका छैनौं तर इमान्दारका साथ विश्लेषण गर्न मात्र विनम्र अनुरोध गर्दछौं ।

धन्यवाद


Post a Comment

0 Comments