येशु परमेश्वर र मानव दुवै हुनुहुन्छ, तर यो मात्र नै सुसमाचारको मूल मुद्दा होइन!

 




येशु परमेश्वर र मानिस दुवै हुनुहुन्छ जसमा कुनै आपत्ति छैन | यद्दपी, सुसमाचारीय पत्रहरू अध्ययन गर्दा यस कुरालाई मात्रै औधी जोड दिन्छौँ भने हामीले सुसमाचारको मूल मुद्दालाई सायद गुमाउनेछौँ | येशु अवश्य परमेश्वर हुनुहुन्छ जो मानिस बन्नुभयो तर उहाँ यस मुद्दा भन्दा पनि अझ बढी हुनुहुन्छ | मुद्दा यो होइन कि छलफल वा विवादको विषय येशु संसारमा रहनुहुँदा परमेश्वर थिए कि थिएनन् वा उहाँमा कसरी ईश्वरत्त्व र मनुष्यत्त्वको पूर्णता कायम रहन सम्भव भयो तर मूल मुद्दा त यो होकी उहाँ किन ईश्वर-मानव हुनुभयो |


मण्डली इतिहासमा पनि यसै कुरालाई लिएर धेरै विवादास्पद अवधारणाहरू विकास गरिएको थियो जसले कि त उहाँको ईश्वरत्त्वलाई खतरामा पार्यो कि त उहाँको मनुष्यत्त्वलाई | यद्दपी, नयाँ करारका पत्रहरूलाई अध्ययन गर्दा उहाँका चेलाहरू र प्रेरितहरूमा भने यस विषयलाई लिएर कुनै आपत्ति भएको कुरा पाउँदैनौं | उहाँको मानवता र ईश्वरत्त्वलाई प्रतिरक्षा गर्ने सिलसिलामा उनीहरूले उहाँको देह धारणको उद्देश्यलाई भने एकदम स्पष्ट सँग उल्लेख गरेका छन् | येशुलाई परमेश्वर वा मानिस भन्दा पनि अरु धेरै शिर्षकहरूले उहाँको अमुल्य काम र उद्देश्य बारे स्पष्टीकरण दिएको पाइन्छ | जस्तै: इम्मानुएल, जीवनको रोटी, संसारको ज्योति, दाखको बोट, राजाहरूका राजा, प्रभुहरूका प्रभु, पुनरुत्थान र जीवन, ख्रीष्ट, मानिसको पुत्र, दोश्रो आदम इत्यादि |


येशुको मुल्यवान पहिचान ‘दोश्रो आदम मा लुकिएको छ | पहिलो आदमको विफलता पश्चात् दोश्रो आदम द्वारा परमेश्वरले फेरी पतित मानव जातिलाई उसले गुमाएको हैसियत फर्काउने योजना रच्नुभयो | आत्मामा नयाँ जन्म पाएर र येशुमा रहेर नै अब हामीले गुमाएको हैसियतलाई पुन:प्राप्त गर्न सक्छौं, जुन हैसियत परमेश्वर सँग मिलेर उहाँको सृष्टिमा राज्य गर्नु हो | येशुले हामीलाई परमेश्वरको छोराछोरी हुने हक दिनुभयो | पापको कारण जुन जीवन र मूल हैसियत मानिसले गुमाएको थियो, येशुले त्यो फेरी फिर्ता गराउनुभयो | येशु आउनुको मूल उद्देश्य नै नयाँ मानव जातिको पुनर्स्थापना गर्नु थियो | पापमा मरेको मानिसका लागि उहाँ जीवन बनी आउनुभयो | तसर्थ, येशुलाई ग्रहण गर्नु भनेको मुक्ति पाउनु मात्र भन्दा पनि परमेश्वरको सन्तान फेरी बनेर जीवन र गुमाइएको हैसियत पुन:प्राप्त गर्नु हो |


अत: उहाँ परमेश्वर-मानव हुनुभयो भन्ने कुरामा रमाउने भन्दा पनि उहाँले हाम्रो खातिर गर्नुभएको यस महान कार्यको खातिर रमाउने हो | परमेश्वर सित फेरी जोडिन येशुको खाँचो छ | हामी उहाँमा छौँ र उहाँ हामीमा हुनुहुन्छ | उहाँमा जिउनु भनेको परमेश्वरको राज्य हाम्रो जीवनमा आउन दिनु हो | हाम्रो जीवनको हर पक्षमा हाम्रो आफ्नो अधिकार र मनमानी नभएर उहाँको आत्माद्वारा परिचालन हुनु हो | येशु यसै अर्थमा हाम्रो जीवनको राजा हुनुहुन्छ | हामीलाई जीवित तुल्याउने काममा उहाँ हाम्रो जीवन हुनुहुन्छ, हामीलाई सही मार्गमा डोहोर्याउने काममा उहाँ ज्योति हुनुहुन्छ, परमेश्वरलाई हाम्रो जीवनको व्यक्तिगत सम्बन्धमा जोड्ने काममा उहाँ इम्मानुएल हुनुहुन्छ, हामीले असल फल फलाउन सहयोग गर्ने काममा उहाँ दाखको बोट हुनुहुन्छ, हाम्रो जीवनको हर पक्षमा उहाँको प्रभुत्व हुने भएकोले उहाँ हाम्रो प्रभु हुनुहुन्छ, हामीलाई मरेको अवस्थाबाट जीवनमा र नयाँ सृष्टिमा ल्याउनुहुने भएकोले उहाँ पुनरुत्थान हुनुहुन्छ |    


हामी परमेश्वरमा मृत तर पापमा सक्रिय थियौँ, अनि येशुमा आज हामी पापमा असक्रिया र परमेश्वरमा जीवित हुन सक्यौँ | यहि नै येशुले दिनुभएको उपहार हो जसलाई हाम्रो बोलीचालीको भाषामा मुक्ति भनिरहेका हुन्छौँ | यहि मिसनलाई पुरा गर्न उहाँ पूर्ण परमेश्वर र पूर्ण मानिस हुनुपर्दथ्यो | अर्को कुरो, परमेश्वरको छोराछोरीको रूपमा हाम्रो स्वभाव र चालचलन पनि ईश्वरीय हुन जरुरी छ | अनि येशुमा अदृश्य परमेश्वर प्रकट हुनुभयो ताकी उहाँमा नै हामीले परमेश्वरलाई देख्न, जान्न र बुझ्न अनि सम्बन्ध स्थापित गर्न सकौँ | पापले बन्धी बनाएको कारण मानिस परमेश्वर सम्म पुग्न सक्दैनथे, त्यसैले उहाँ स्वयम् मानिसहरू कहाँ आउनुभयो | जसरी छोराछोरीले पितालाई जानेको हुन्छन्, हामीले पनि येशुमा परमेश्वरलाई जानेको हुनपर्दछ | अनि जसरी येशुले हामीलाई उहाँलाई पछ्याउन भन्नुभयो, उहाँलाई पछ्याएर हामीले परमेश्वर सँगको सुमधुर सम्बन्धलाई जान्न, बुझ्न र दिनानुदिन अभ्यास गर्न सक्छौं | तसर्थ, यस अर्थमा पनि परमेश्वरको सन्तान हुनु भएको कस्तो हो भन्ने कुरामा उहाँ हाम्रो लागि एक उदाहरण हुनुहुन्छ | किनकि परमेश्वर कस्तो हुनुहुन्छ जानेर नै हामीले हामी र उहाँको बीचको सम्बन्धलाई बुझ्न सक्छौं | येशुमा हामीले एक त साँचो  परमेश्वर पनि पाउँछौँ र अर्को तर्फ उहाँको सन्तान कस्तो हुन पर्दछ भन्ने कुराको बोध पनि |  


अर्को हेराईमा उहाँ हाम्रो राजा हुनुहुन्छ र हाम्रो व्यक्तिगत जीवनमा राज्य गर्न चाहनुहुन्छ | येशु फर्कनु भए पछी मात्रै उहाँलाई राजाको रूपमा हेर्ने नभएर यसै जीवनमा नै उहाँलाई राजाको हैसियतमा हेर्न जरुरी छ | उहाँका आज्ञाहरू पालना गर्ने र स्व-इच्छा पूर्वक उहाँको उद्देश्यलाई पूरा गर्न उपस्थित वा तैयार हुने जीवन जिउने कर्तव्य हाम्रो हो | तसर्थ, उहाँ बारे केवल ज्ञान आर्जन मात्र गर्ने नभएर, उहाँको आराधना गर्ने मात्र नभएर, उहाँलाई हाम्रो दैनिक जीवनमा अनुभूत पनि गर्न सक्न पर्दछ | उहाँको नीति अनुसार चल्ने, येशु द्वारा देखाइएको उदाहरणीय जीवनलाई अंगाल्ने हाम्रो कर्तव्य हो, आवश्यकता हो |


अन्त्यमा, येशु परमेश्वर र मानिस दुवै हुनुहुन्छ तर यस पछाडीको औचित्य र उद्देश्यलाई बुझिएन भने सायद हामीले ख्रीष्टियन जीवनको साँचो अर्थलाई गुमाउनेछौँ |  

 

सन्दर्भ बाइबल धर्मशास्त्र खण्डहरू:

यूहन्ना १:१-९; ३ र १५; कलस्सी १:१५-१९, एफिसी १:२३, २:१-३, उत्पत्ति १:२६-२७, २:७, प्रेरित ३:१५, रोमी ५, ६, २ कोरिन्थी ४, कलस्सी ३:४, २ तिमोथी १:१, यहूदा १:२१, १ यूहन्ना १:२ र ५, २ कोरिन्थी १५:९, रोमी १२:१-२, १ पत्रुस २:९, २ कोरिन्थी ५:१५, गलाती २:२०, २१, फिलिप्पी १:२०, २१, कलस्सी ३:१-४, १ पत्रुस १:२०, २:९, रोमी ५:१०, १ कोरिन्थी २:७, एफिसी १:४, तितस १:२, २ कोरिन्थी ५:१८,१९, रोमी ८:३, कलस्सी १:९-१४, मत्ती ५:१५, १७, हिब्रू १२:२, १ पत्रुस ५:७, हिब्रू १०:३०

 


Post a Comment

0 Comments