Advertisement

Responsive Advertisement

रक्षा शास्त्रले आफ्नो लक्ष गुमाएको छ

 



रक्षा शास्त्रले आफ्नो लक्ष गुमाएको छ

 

    रक्षा शास्त्र भन्दा धेरैलाई अलमल्ल पर्न सक्छ कि यो कस्तो शास्त्र हो भनेर । जब मैले यसको अंग्रेजी शब्द एपोलोजेटिक्स (Apologetics) हो भने पछि सायद धेरैले कतै न कतै सुनेको जस्तो छ त पक्का भन्छन ! १ पत्रुस ३:१५ मा आधारित रही मण्डलीका शुरुका युग देखि आज सम्म फस्ताउदै आएको यस क्षेत्रले इसाई विश्वासको बौद्धिक पक्षलाई वकालत गर्ने काम गर्दछ । यस विषयमा अझै बढि जान्नका लागि मेरो अर्को ब्लगमा जानुहोला । यसको महत्त्व, उपयोगी, र योगदानका विषयमा विविध लेखहरु पढ्न पाउनुहुनेछ

    अब यस बेलामा बेग्लै शिर्षकमा आएको छु जसले यस क्षत्रमा आबद्ध धेरैलाई ओझेलमा पार्न सक्ला २९ जुनका दिन राती भारतबाट एक जना साथीको म्यासेज मैले पाएँ जसमा उनको प्रश्न निकै गम्भीर थियो । किन आज सबै विश्वासी एपोलोजेटिक्समा लाग्न चाहन्छन ? उनले जुन विषय वस्तु उठाइन त्यो सायद नेपालमा अझै बाहिरी सतहमा वातावरण बसेको छैन होला । तर उनले उठाएका विषय वस्तु साह्रै मार्मिक नै थियो र उनि निकै अस्तव्यस्त मुद्रामा थिइन् । उनको मुख्य उजुरी नै इसाईहरू बीच भैरहेको कलह थियो । उनको प्रश्न यहि थियो कि वास्तवमा के हो यो एपोलोजेटिक्स ? अब यो उनको व्यंगात्मक प्रश्न हो । उनी एकदमै दुखित मुद्रामा रहेको मैले अनुभव गरेँ     

    तर मेरो उद्देश्य कसै प्रति नकारात्मक टिप्पणी गर्नु होइन किनकि यसै क्षेत्रमा आबद्ध रहेका धेरै असल इसाई मित्रहरू पनि छन् । मेरो आशय केवल यति होकी आजको युगमा विश्वासको प्रतिरक्षा गर्ने चक्करमा रक्षा शास्त्रले कताकता गम्भीर वातावरण नै सृजना गरिदिएको छ । तर अब यसमा रक्षा शास्त्रको भने कुनै दोष नभएर यसमा आबद्ध हुनेहरूको कमजोरी हो । तर्क-वितर्क, वाद विवाद देखि बहस सम्म यस क्षेत्रमा हुँदछ । तर आज यस क्षेत्रलाई अतिवाद तर्फ लगिएको कारण धेरै इसाई मित्रहरू बीच फाटो पलाउदै आएको छ । विश्वासको प्रतिरक्षा गर्ने सुरमा आज इसाई जगत भित्र नै इसाईहरू बीच फूट पैदा भएको छ । रक्षा शास्त्रमा आधारित कयौं सेवाकाई खोलिएका छन् भने ती सेवाकाईहरू बीच नै निकै चर्का चर्की भएको र एक अर्कालाई होच्याउने कार्य भएको पाउन सकिन्छ । यो दुखद कुरा हो । तर यस अवस्थाले कसैमा यो मनशाय आउन भएन कि रक्षा शास्त्र गलत रहेछ  

    कमजोरी रक्षा शास्त्रको होइन तर मानिस को हो र हामी आफैं नै रक्षा शास्त्रलाई आज कमजोर तुल्याउनमा जिम्मेवार छौं । विश्वासको प्रतिरक्षाको नाउँमा आज निकै आक्रामक शैली अपनाउने, अरुको अपमान औधि गर्ने, अनावश्यक विषय वस्तुलाई लिएर किचलो झिक्ने, आदि जस्ता कार्यहरू आज निकै तीव्र गतिमा हुँदै आएको छ । यसले विश्वासको प्रतिरक्षा त गर्ला कि नगर्ला तर इसाई मित्रहरू बीच नै दुश्मनी, फाटो, झगडा र चिसिएको सम्बन्ध पक्का सृजना गरिदिन्छ । रक्षा शास्त्रमा आबद्ध हुन चाहनेले यसको मूल उद्देश्य र लक्षलाई राम्ररी बुझेर मात्र, होशियारीपूर्वक तालिम र अध्ययन गर्दै यस क्षेत्रमा आबद्ध हुनु उत्तम हुन्छ । विश्वासको रक्षा गर्ने मात्र भन्दैमा जथाभावी प्रदर्शन देखाउने काम पनि रक्षा शास्त्र प्रति अन्याय गरिएको हो । यस क्षेत्रमा पनि अनुशासन हुन्छ, कर्तव्य हुन्छ, जिम्मेवारी हुन्छ, शैली हुन्छ, र एउटा आचरण हुन्छ जसलाई नाघेर हामी ठाडै यस भित्र प्रवेश गर्दा सुनामी नै आइलाग्छ । रक्षा शास्त्रमा आबद्ध हुने र हुन चाहने हरेकले यो कुरो बुझ्न आवश्यक छ  

    सबै भन्दा महत्त्वपूर्ण कुरा त हाम्रो केन्द्र येशू र सुसमाचार हुन पर्छ । हामीले सुसमाचारको रक्षा गरेका हौँ, आफ्नै होइन । अर्को कुरो, बाइबलको मूल आशयलाई जानेको बुझेको हुन पर्छ नत्र के कुराको प्रतिरक्षा गरेका छौँ र किन गरेका छौँ त्यो अस्पष्ट हुन जान्छ । त्यसैले बाइबल कति पटक पढ्यो मात्र हैन तर कसरी पढ्यो र कत्तिको बुझियो भन्ने कुरो नितान्त आवश्यक छ । आधारभूत सिद्धान्त (Fundamental Doctrines) र साधारण सिद्धान्त (Non-essential Doctrines) बीच भेद जान्न आवश्यक छ । रक्षा शास्त्रले विशेषगरी आधारभूत सिद्धान्तको सरोकार राख्दछ भने अरु साधारण सिद्धान्तहरू मण्डलीको आफ्नो मान्यता अनुसार फरक बुझाइ पर्न सक्छ जुन साम्प्रादायिक क्षेत्र भित्र पर्न जान्छ । रक्षा शास्त्रका लागि तार्किक नीति नियमहरू सिक्न र अभ्यास गर्न आवश्यक छ र दर्शन शास्त्रहरू पनि सिक्न जरुरी छ । यो आफैंमा जटिल क्षेत्र हो जहाँ विविध क्षेत्रको ज्ञान आवश्यक हुन्छ जस्तै विज्ञान, इतिहास, पुरातात्विक क्षेत्र, साहित्य आदि । यसमा आबद्ध हुनेहरु सदैव आफ्नो वातावरण सित अपडेट भैरहनु पर्छ । सबै भन्दा मुख्य कुरो त नम्रता र प्रेम नै हो । नत्र रक्षा शास्त्रमा लाग्नेहरू राक्षस सरह बन्न पनि बेर लाग्दैन र पछि गएर ख्रीष्टियान विश्वासलाई त्यागेर बिद्रोह गर्न नि बेर लगाउदैन । होसियारी आजै अपनाऔं !

    आजको युगमा मण्डलीले पनि सहि किसिमले रक्षा शास्त्रलाई सिकाउनु आवश्यक छ नत्र पछि यसको लक्ष गुम्न सक्छ । आज धेरै आलोचना, झूटा शिक्षा आदि बढ्दै गरेको हुनाले रक्षा शास्त्रको महत्त्व ठूलो छ । तर यसो भन्दैमा हामीलाई पवित्र आत्माको अगुवाईको खाँचो छैन, हाम्रो आफ्नो समझ र तर्क भए पुग्छ भन्ने निष्कर्ष गलत हो । रक्षा शास्त्रको जग परमेश्वरले नै बसाल्नुभएको हो । उहाँले हामी अन्ध विश्वासी भएको चाहनु हुन्न । आज मण्डलीले यदि रक्षा शास्त्रलाई पनि स्थान दिने हो भने होसियारीपूर्वक कदम चलाउन आवश्यक छ । बरु ढिलो नै किन नहोस तर समझदारी अपनाएर कदम चाल्नुहोस  

    रक्षा शास्त्रले विश्वासमा बलियो पार्न नि सक्छ वा यसले तपाईलाई झनै दुर्बल बनाउन नि सक्छ  कुनै पनि कुराको अतिवादको फल तीतो नै हुन्छ  अदनको बगैंचामा हव्वाको ध्यान निषेधित फल तर्फ लगाइदिएको झैं रक्षा शास्त्रको अतिवादले तपाई हामीलाई आवश्यकता भन्दा पनि बढि कुरामा ध्यान दिन लगाएर समयको बर्बादी गराइदिन सक्छ । यसको अतिवादलाई जीवनमा राज्य गर्न चाहिं नदिनुहोस नत्र तपाई हाम्रो ध्यान परमेश्वर संगको सम्बन्ध भन्दा बढ्ता केवल ज्ञान, तर्क र बहस प्रति तृष्णा थुपारिदिना सक्छ । यी कुरा मेरो आफ्नै र यसमा आबद्ध भएका मेरा अरु मित्रहरू जीवन हेरेर गरिएको विश्लेषण हो । तर रक्षा शास्त्र विषयको बिरोध चाहिं नगर्नुहोस बरु यसमा खटेका सेवकहरूका लागि निरन्तर प्रार्थना गरिरहनुहोस

 

धन्यवाद      


Post a Comment

2 Comments