Advertisement

Responsive Advertisement

बाइबलमा के खोज्दैछौँ ?

 


    सानै उमेर देखि डि.सि र मारभलका कार्टून र फिल्महरू हेर्दै हुर्केको थिएँ यद्यपि यी दुई अलग अलग क्षेत्रहरू हुन् भनेर मलाई थाहा थिएन । म केवल सुपर हिरोहरूका फिल्म र कार्टून हेर्न निकै रुचि राख्थेँ जस्तैः स्पाइडर म्यान, आइरन म्यान, सुपर म्यान, हल्क, शक्तिमान इत्यादि । मेरो हृदय रोगको उपचारका लागि जब गङ्गा लाल अस्पतालमा थिएँ तब मलाई सुपर म्यानको एउटा कमिक्स मेरो काका र ठूलो बुबाले किनिदिएका थिए । घरमा त्यो कमिक्स पढ्दा विज्ञापनको पेजमा केवल मारभल जगतको अन्त्य सित सम्बन्धि एउटा पेज थियो र हजारौं सुपर हिरोहरू थिए । म कति सोझो व्यक्ति कि त्यसमा मैले ब्याट म्यान र सुपर म्यान निकै समय लगाएर खोज्ने कोसिस गरेथेँ तर पाइन । मलाई आज मात्र थाहा भयो कि मैले खोज्न त खोजेँ तर गलत ठाउँमा ! अब यो प्रसङ्ग किन ल्याएँ होला ?

    आजको युगमा बाइबल सित पनि यस्तै व्यवहार हुँदै छ ! सायद मण्डलीले पनि सिकाउन नजानेर होला ! आलोचक मात्र हैन तर जिज्ञासु स्वभावका विश्वासीहरू पनि अनेक कुरा बाइबलमा खोजी गर्छन् ! बाइबल खास केका लागि हो र किन लेखियो भन्दा पनि बाइबल यस बारे के भन्छ भन्ने प्रश्न लिएर बाइबलमा खोजी गर्न थाल्छन् ! सायद बाइबल सत्य छ भनेर पनि होला कि ? उत्पत्ति देखी प्रकाश सम्म नै प्रश्नहरूको लाम खडा हुन पुग्छ !

    कसैलाई डाइनोसरको चिन्ता, कसैलाई पृथ्वी पछि सूर्य कसरी भयो भन्ने चिन्ता, कसैलाई परमेश्वरका छोराहरू र नेफिलिमको पहिचान बारे फिक्री, कसैलाई करङ्ग बारे चासो, कसैलाई जल प्रलयमा जहाजमा कसरी सबै प्राणी रहन सके बारे जिज्ञासा ! यस्ता थुप्रै प्रश्नहरू आज पनि बिद्यमान छन् ! अब यी प्रश्नहरू गलत छन् भन्न खोज्नु मेरो आशय होइन तर हामीले बाइबललाई कस्तो पुस्तकको रूपमा बुझेका छौँ होला ? के यसले सबै प्रकारका विद्याको बारे शिक्षा दिलाउने पुस्तकको दर्जामा हालेका छौँ कि ? के यसले गणित, विज्ञान, पुरातत्त्व, अर्थ शास्त्र, दर्शन आदि विषयहरूमा शिक्षा दिन्छ भन्ने आशा गर्दै बाइबल पढ्दै छौँ कि ? यदि त्यसो हो भने हाम्रो सोचलाई अब सुधारौँ !

    बाइबलको मूल शिक्षा खास परमेश्वरलाई चिन्ने र हाम्रो सम्बन्ध बारे जान्ने हो ! पूरा बाइबल नै उहाँले हामी सित संचार गर्न चाहनु भएको आत्मिकी विषय वस्तु सित सरोकार राख्दछ ! हो, यसमा साहित्य छ, केही विज्ञानका कुराहरू पनि छन्, इतिहास छ, कानूनका कुरा छन्, दार्शनिक विचारहरू छन्, व्यवहारिक शिक्षाहरू छन्, भजनहरू छन्, भविष्यका कुराहरू छन् तर यी सबै कुराहरू भन्दा पनि महान त यसमा मानव जातिको लागि उद्धारको असल सन्देश छ ! बाइबल यसैका लागि हो ! विविध सामाजिक परिवेशमा विविध व्यक्तिहरू द्वारा विविध समयमा विविध ठाउँहरूमा यसका ६६ वटा पुस्तक लेखिएको कारणले यसमा विविध क्षेत्रका विद्याहरू पाइन्छ जुन नौलो कुरो होइन । यसो त आधुनिक काल्पनिक फिल्महरूमा पनि त साहित्य छ, वास्तविक समाजका विषयहरू छन्, इतिहासका कुराहरू राखिन्छ, वैज्ञानिक कुराहरू छन् ! अब मैले के भन्न चाहेको सायद बुझ्नु भयो होला !

    बाइबल पढ्दा प्रश्नहरू पलाउनु स्वभाविक हो ! म पनि पहिला बाइबल पढ्दा त्यस्तै थिएँ । तर बाइबललाई ठिक प्रश्न सोध्नु आवश्यक छ नत्र उत्तर नपाउन सकिन्छ ! यसको मूल आशयलाई नजानि सिमाना भन्दा बाहिरका प्रश्नहरू सोध्नु कति सम्मको न्याय हो ? मानव जातिको प्रश्नहरूको उत्तर दिनलाई बाइबल लेखिएको होइन बरु परमेश्वर बारे जन्न सकून् भनेर लेखिएको हो ! यसैले आधुनिक समयका कतिपय विषयहरूमा बाइबलका कुरा बेमेल पाउन पनि सकिन्छ वा त्यस विषयमा बाइबल शान्त पनि रहन सक्छ ! हुन पनि आजभोलि बाइबल सत्य छ भनेर आधुनिक युगका कुराहरूलाई जबर्जस्ति बाइबलका पदहरूलाई सन्दर्भ बाहिर व्याख्या गर्ने प्रचलन अहिले व्यापक छ ! ईश्वर शास्त्रको भाषामा यसलाई Concordism भनिन्छ ! पढ्नमा मीठो लाग्ने यस्तो व्याख्याले वास्तवमा बाइबलको त्यस्ता खण्डहरूको मूल आशयलाई नै टाढा राखिदिने काम गरेको हुन्छ ! आवश्यक बोध भन्दा अनि अनावश्यक गनथनमा हाम्रो समय खेर जान्छ !

    विज्ञान बारे सिक्नलाई विज्ञान तिर लाग्ने हो तर सबै नियमहरूका पछाडी हाम्रो सार्वभौम परमेश्वर नै हुनुहुन्छ भनी जान्नका लागि बाइबलमा आउने हो ! खेलकुद मैदान र सामग्री तयार गर्न खेलकुद कै निति नियम हेर्ने हो तर अनुशासन भएर एक दक्ष खेलाडी हुनलाई नैतिकताको ज्ञान भने बाइबलबाट लिने हो ! नेपाली इतिहास जान्न बाइबल खोल्ने होइन तर नेपालीको भूमिलाई पनि येशू चाहिन्छ र यहाँ पनि उहाँकै प्रभुत्व छ भनेर जान्न बाइबल पढ्ने हो ! बाइबल पढ्छौँ मात्रै हैन तर के का लागि पढ्छौँ भन्ने कुरामा पनि अब स्पष्टीकरण हुन आवश्यक छ !

    यो हतोत्साहितका पार्नका लागि संदेश होइन तर उत्साहका लागि हो ! बाइबल प्रति हाम्रो सानोतिनो जिज्ञासाले कतै हाम्रो वास्तविक लक्षबाट हामीलाई टाढा त लगिरहेको छैन ? हामीले के कुरा कता खोज्दैछौँ होला ? सानोतिनो कुरालाई पाउन खोजेर पछि मूल कुरालाई गुमाउने बाटो तिर कृपया नलागौँ !


Post a Comment

0 Comments