Advertisement

Responsive Advertisement

के को प्रलोभन ?

 



के को प्रलोभन ?

 

    बाल्यवस्था देखि आज सम्म पनि हामीले सुन्नमा आएको यदि यस्तो कुनै शब्द छ जुन इसाई जगतलाई घोचपेच गर्न, खेदो गर्न, बिरोध गर्न र बेइज्जत गर्न प्रयोग गरिएको छ भने त्यो हो "प्रलोभन" ! हामी त डलरको प्रलोभनमा परेर आफ्नो संस्कार र संस्कृति मिच्यौँ रे ! आफ्नो सनातन देखिको धर्म त्याग्यौँ रे ! बिदेशी धर्म र ईश्वर मान्यौँ रे ! तथानाम आरोप लगाइने गर्छ जुन आज सम्म कायमै छ !

    तर मेरो प्रश्न छ: के को प्रलोभन र ? जो प्रलोभनका खातिर इसाई बन्दछ, उसले प्रलोभन कै खातिर इसाई छोड्छ पनि ! जो पैसाको खातिर, सुखविलासिता जीवनको खातिर र धनी हुनको खातिर इसाई मतलाई अङ्गाल्छ उसले यी कुराहरू कै खातिर इसाई मतलाई त्याग्नेछ पनि ! यदि प्रलोभनबाट सबै जना इसाईकरण भएको नै हो भने आज सम्म पनि सबै इसाईहरू धनी किन छैनन् त ? धेरै इसाईहरू त अझै गरीबीको रेखामुनि पनि छन् ! मध्यम वर्गीय इसाईहरू पनि छन् ! तिनीहरू के प्रलोभनमा परि आएका हुन् ?

    अर्को कुरो, इसाईकरण भयो भनेर आपत्ती जनाउँनमा ल केहि ठूलो विषय भएन रे तर कमसेकम किन इसाई धर्ममा लाग्दै छन् भनेर त खोजी गर्न पर्ने हो त ! यत्तिकै गाईको मासु खाने, आफ्नो धर्म बेच्ने, डलर खाएकाहरू भन्दै नानाथरी भन्न पाइन्छ र ? इसाईहरू यदि ठिक तवरले इसाई धर्ममा आएकै हुन् भने सोधपुछ गरे पुग्छ ! उनीहरूको मुखबाट डलर होइन येशूको नाम निस्कन्छ ! उनीहरू धर्मको होइन धार्मिकताको कुरा गर्छन् ! उनीहरू कुनै जीव जन्तुहरूका बलिदान र रगतको कुरा गर्दैनन् तर येशूको सिद्ध बलिदान र मानव जातिका पापका खातिर बहाइएको रगतको कुर गर्छन् ! उनीहरू डलरलाई धनको रूपमा होइन येशूलाई नै आफ्नो धनको रूपमा हेर्छन् ! उनीहरू धर्म बेचेका होइन बरु प्रभुमा समर्पित भएर झन आफ्नो परिवार, समाज, देश र सरकार प्रति सु-धर्म गर्ने भएका छन् ! आफैलाई झैँ अरुलाई प्रेम गर्ने, अरुको भलो चिताउने र परोपकारी सेवा गर्ने भएका छन् ! यही नै होइन र संस्कार मानव हुनु को ??

    प्रलोभनको सहाराले मण्डलीमा तानिए भन्नु भन्दा अगाडी एक चोटि मण्डली गएरै हेर्नुस् के कुराले मानिसहरू प्रभुमा आएका छन् र किन आएका छन् ! हो, कतिपय मानिसहरू पैसा, काम आदिका लागि भए पनि जान्छन् तर त्यसो भन्दैमा सबैलाई उही समूहमा राखेर जोख्नु बुद्धिमानी हो र ? त्यसरी मण्डलीमा आएकाहरू निश्चितै इसाई विश्वासलाई पछि त्याग्ने हुन्छन् नै तर इसाई विश्वासको सहि मर्म बुझेकाहरू कदापि फर्कँदैन ! जीवनमा संघर्षबाट भएर जान परे तापनि उनीहरू प्रभुमा नै टिकेका हुन्छन् ! इसाई विश्वासको सार जानेकाहरू स्थिर रहन्छन् ! तर अरु भने बाटो बिराएर जान सक्छन् ! अब यी मानिसहरूलाई इसाई विश्वासको बारे बुझाउने जिम्मेवारी मण्डली कै हो !

    यदि हामीले कुनै पनि हिन्दू मित्रलाई शिव लिङ्गमा दूध चढाएर खेर नफाल भन्दा उसलाई कत्तिको चित्त दुख्छ ? उसले हामीलाई सोध्न सक्छ कि के हामीलाई शिव लिङ्गमा दूध चढाउनुको अर्थ थाहा छ कि छैन । अथवा मूर्तिपूजा कै कुरा गरौं न त ! हामीले जसरी बुझेका छौँ के हिन्दू जगतले त्यसरी बुझ्छन् र ? हो, अब कोहि इसाई भयो भन्दैमा अरुले पनि ठाडै प्रलोभनको कुरो गर्न भन्दा पहिला राम्रोसँग सोधपुछ गर्न पर्छ ! मण्डली किन छ, के सिकाइन्छ, किन सिकाइन्छ, सुसमाचार प्रचार किन गरिन्छ, येशू को हुन्, के पाइन्छ उहाँलाई पछ्याउँदा आदि प्रश्नहरू सोधपुछ गर्न पर्ने हो त ! तर दु:खद कुरो यो छ कि "प्रलोभन" शब्द सायद आउने १०० वर्षमा पनि अब मेटिने वाला छैन क्यारे !

    इसाई जगतलाई तथानाम दोष दिन भन्दा राम्रोसँग अध्ययन र अन्वेषण गर्ने बानी बसाल्न आलोचकहरू हाम्रो विनम्र अनुरोध छ ! झूटा कुरा र आरोप यत्तिकै लगाउन पाइँदैन ![i] जुन कुरा सित हाम्रो केहि सम्बन्ध नै छैन, ती कुराहरू हामीलाई तेर्साएर सवाल उठाउनु कहाँ सम्मको न्यायोचित हो त ? हामी यो पनि स्वीकार गर्न तयार छौँ कि धेरै पल्ट हामीबाट पनि गल्ती भएका छन् र अरुलाई ठेस पुग्ने काम भएको छ ! हो, हामी ती कुरालाई अब यो युगमा सुधार गर्ने प्रयास गर्ने छौँ[ii] तर कृपया नचाँहिदा आरोप इसाई जगत माथि नलगाउन विनम्र अनुरोध छ ! विशेषगरी प्रलोभनको !

    जसरी हिन्दू धर्ममा जातीय समस्या र कुप्रथा हुँदा हुँदै पनि हिन्दू धर्मको मर्म र सार बुझ्ने कसैले पनि यो धर्म छोडेका छैनन् त्यसरी नै इसाई विश्वासमा प्रलोभन द्वारा नभएर साँचो रितिले सार बुझेर आउनेहरूको जीवनमा दुख कष्ट नै कायम रहे तापनि कसैले प्रभुलाई छोड्ने छैनन् ![iii]

धन्यवाद 

[i] झूटा आरोपहरूका खातिर बदनामी हुनुलाई सतावट भनिंदैन।

[ii] यो अन्य धर्म प्रति गरिएका तीता व्यवहारको सन्दर्भमा लेखिएको हो।  संसार सितको सम्झौता र ख्रीष्टिय विश्वासको सत्यताको प्रचारले अरु माथि लागेको आपत्तिको विषयमा लेखिएको होइन 

[iii] यसमा  हिन्दू  धर्मका  बुज्रुकहरुलाई  उनीहरू  कै  भाषामा  बुझाउन  खोजिएको  मात्र  हो । यो खास व्यंगात्मक शैलीको भाषा हो। 


Post a Comment

0 Comments