हिन्दू धर्मको भाषा तथा परिवेश मार्फत कसरी हाम्रा हिन्दू साथी एवम् आफन्तहरूलाई येशू बारे सुनाउन सक्छौं होला?

 



 अक्सर मैले के देखेको छु भन्दा विश्वासीहरू कि त हिन्दू ग्रन्थ र कहानीहरूको नकारात्मक टिप्पणी धेरै गरेर येशूको जयजयकार गर्न्ने गर्छन् कि त उनीहरू कै धर्म ग्रन्थहरू लिएर त्यहाँ येशू बारे छ भन्छन् । स्वर्गीय पास्टर सि पि शर्मा जो तीन त्रिलोक चौध भुवन फिल्मको लागि प्रसिद्ध थिए, उनले वेदका चार ऋचाहरू निकै माथी अवस्थित भएका हुनाले वेदमा पनि येशूको बारे छ भनी आफ्नो शिक्षामा उल्लेख गर्नुभएको थियोे यद्यपि उनले कुनै पनि श्लोकका उदाहरण भने दिएनन् । त्यस्तै आजभोलि वेदले चिनाएको येशू भन्दै माधव आचर्य जी पनि निकै प्रसिद्धिमा हुनुहुन्छ । अनि यस्तै भारतीय भूमिबाट आचार्य विकास मसी पनि छन् जो हिन्दू वेद र भविस्य पुराणलाई काखी मै च्यापेर येशू बारे प्रचार गर्ने गर्छन् । 


अफसोच, यी दुबै पक्ष निकै कमजोर छन्! एउटा पक्ष हिन्दू ग्रन्थ र देवीदेवताहरूको गिल्ला गर्ने र अर्को ती शास्त्रहरूमा नै येशू देखाउन खोज्ने ! कहिले प्रजापतिलाई लिने त कहिले भविष्य पुराणको ईशा पुत्रलाई !  


१) पहिलो पक्ष जति नेपालमा व्याप्त छ, त्यति नै खतरापूर्ण, डरलाग्दो र भावनात्मक पनि छ । सायद, यस पक्षबाट सुसमाचार सुनाउन खोज्दा हामीले मानिसहरूलाई येशूबाट नै टाढा लैजान सकौँला! देवीदेवतालाई सैतान भन्ने यो प्रचलनले धेरैको मन दुखेको छ र लगभग हाम्रा आफन्तहरूले समेत पनि यस्ता आपत्ति जनाइराखेका हुन्छन् । "हामी भने झन तिमीहरूको देउतालाई कस्तो मान दिन्छौं तर तिमीहरू कै मानिसहरूले त हाम्रो देवतालाई सैतान रे!" अनि यसले उनीहरूको भावनालाई चोट पुर्याउँछ र फेरि पनि चर्चमा कहिल्यै पाइला टेक्न जाँदैनन् । साँच्चै भन्ने हो भने, यो भाषालाई हिन्दू मस्तिष्कले बुझ्नै सकेको हुँदैन ! जहाँ सम्म राम, कृष्ण, गणेश, दुर्गा आदि देवताहरूको कथा कहानी हामी पनि जान्दछौँ, त्यहाँ पनि प्रेम, अनुग्रह, न्याय, धर्म, आज्ञापालन, भक्ति जस्ता कुराहरू समावेश भएको नै हुन्छ भने अब ती देवताहरूलाई "सैतान" भन्दा कति हदसम्म हिन्दू मित्रहरूलाई आघात पुग्छ होला? किनकि पापको गम्भीरता र दयाको माग साथै पापीहरूले पाउने दण्ड र धर्मीहरूले पाउन पर्ने न्यायका विषयमा के उनीहरू कै शास्त्रले पनि बताएको छैन र? रामको वनवासलाई के भन्ने? हनुमानको भक्तिलाई के भन्ने? कृष्णको कतिपय उद्धारका कार्यहरूलाई के भन्ने? अनि हाम्रो "सैतान" शब्दले कसरी शोभा दिन्छ होला? अब आजको युगमा चाहिँ यी विषयहरूमा पनि छलफल हुन आवश्यक छ । 


तर यस पछाडिको सिद्धान्त सम्भवतः "सैतान र उसको १/३ दूत" साथै मूर्तिलाई बाइबल गरेको विरोधले गर्दा हो । तर यहाँ पनि मूर्ख उनीहरू भन्दा बढी हामी नै भयौं किनकि मूर्तिपूजा पछाडि लुकेको सिद्धान्त हामीले बुझ्न सकेनौं न त सैतान र त्यसका दूतहरूको सिद्धान्त सित हामी राम्रो सँग परिचित नै हुन सक्यौं । 


यहाँ वृहत् रूपमा व्याख्या गर्नु साटो मैले केही भिडियो लिंक सामेल गरेको छु, त्यसबाट नै हजुरहरूले धेरै रहस्य बुझ्नु हुनेछ ! 


मूर्तिपूजा पछाडिको रहस्य: क्लिक गर्नुहोस्


अब कुरा गरौँ हिन्दू देवीदेवतालाई सैतान किन नभन्ने? हो, बाइबल अनुसार त हामी येशू अलावा कसैलाई पनि ईश्वर स्वीकार गर्दैनौं । यद्दपी अन्य देवताहरूलाई बुझ्न सकिने धेरै कोणहरू छन् । धेरै अवस्थामा सैतानले मानिसहरूलाई गलत राह देखाउने काम गरिदिन्छ यद्दपी मानिसहरूको सत्यको खोजी साँचो पनि हुन सक्छ । सायद रोमी १:१९-२२ मा यस बारे स्पष्टीकरण पाइन्छ । कुनै देवीदेवता प्रख्यात र प्रतापी मानिसहरू कै प्रेरणा अन्तर्गत बनिएका हुन्छन् भने कोही प्राकृतिक शक्तिलाई व्यक्तिकरण गरेर नै बनाइएको हुन्छ । यद्यपि स्वर्गीय बाइबल विद्वान माइकल हाइजर (Michael Heiser) अनुसार देवीदेवताहरू वास्तविक हुन् र परमेश्वरको दैवी सम्मेलन (डिभाइन काउन्सिल) अन्तर्गतका सदस्यहरू हुन् । अर्को शब्दमा यिनीहरू साँच्चै छन् भने पनि स्वर्गीय प्राणीहरू नै हुन् जो पछी परमेश्वरको विद्रोहमा लागे । अर्थात उहाँको अधीनमा बस्न चाहेनन् र उहाँको महिमा आफैंले पाउने जमर्को गरे ! हनोकको पुस्तक (यो प्रेरणादायी शास्त्र होइन है!) ले यही घटनाको एक नाटकीय रूपलाई देखाउँछ जसमा स्वर्गीय प्राणीहरू पृथ्वीमा आएर मानिसहरूलाई अनेक ज्ञानका कुरा सिकाएको र विवाह पनि गरेर आफ्नै महामानव वंश खडा गरेको घटना उल्लेख छ । यस अनुसार बुझ्ने हो भने पनि हिन्दू देवीदेवताहरूलाई स्वर्गीय प्राणी अन्तर्गत राख्न सकिन्छ जसले आफ्नो दायरा नाघेर परमेश्वरको विद्रोह गर्न तर्फ लागे । अनि सैतान शब्दको अर्थ नै खास विद्रोही हो । मानिसलाई परमेश्वरबाट टाढै राख्न जुन हदसम्म नि जान सक्ने एक वास्तविक व्यक्ति र प्राणी हो सैतान । उसले आफ्नो सिंहासन परमेश्वरको भन्दा उच्च पार्न चाहन्छ र संसारले उसलाई पुजेको चाहना गर्छ ।  तसर्थ यस दृष्टिकोणलाई बुझाउने हो भने निकै सर्कस खेल्न पर्ने हुन्छ जुन जटिल हुन जान्छ! 


२) अब अर्को पक्ष झन भयावह छ ! वेद र भविष्य पुराणमा येशू बारे हुनु एक छल र धोका बाहेक अरु केही होइन जुन हाम्रै क्रिश्चियन मिसनरीहरूको कालो कर्तुत थियो ! इसाई समुदाय भित्र कै अनुसन्धानकर्ताहरूले यस विषय बारे स्पष्टीकरण दिइसकेका छन् । 


आजभोलि एक दुई प्रचारकहरूका कारण विश्वासी मक्ख पर्छन् जस्तैः आचार्य विकास मसी । नेपालमा समेत पनि छन् यस्तै प्रचारक जसले वेद पुराणको सहारा लिँदै येशूको प्रचार गर्छन् । यद्यपि, विकास मसी कै प्रचार सुन्ने हो भने उनले सिमित श्लोक भन्दा पर गएको देखिँदैन । यस्तै एउटा बलिदान भन्ने सानो पुस्तिका पनि बडो प्रख्यात छ! चाहे त्यो प्रजापति होस् वा इशा पुत्र, यी सबै कुराहरू पछाडी अर्कै कथा छ जुन सायद धेरैले जानेका थिएनन् । 


यी सबै विषय बारे तपाईंले यस लिंक मार्फत हेर्न सक्नुहुन्छ:


https://youtube.com/playlist?list=PLoObJT1_CPF40dQEUM7C_332gikyID6AL&si=gXsEV0bF3QaJ46y2


अब...

आज म दुई वटा भिडियो बारे आफ्ना विचार राख्दै छु जसले चाहिँ मलाई साह्रै प्रभावित पार्यो ! एउटा पा भोजराज भट्ट जी को भिडियो र अर्को भारतीय यू ट्यूबरको भिडियो । सायद उहाँहरूबाट सिक्ने कुरा धेरै छ! 


१) पा. भोजराज भट्ट जी ले आफ्नो बाल्यकालको एक बडो रोचक घटना सुनाउनु भयो । उहाँको जीवनमा देवा भागवत शास्त्रको एक पात्र हरिशचन्द्र राजाले ठूलो भूमिका खेलेका थिए । उहाँ राजा हरिशचन्द्र जस्तै हुन चाहन्थे तर जीवन बित्दै जाँदा उहाँले महसुस गर्नुभयो कि हरिशचन्द्र राजाको जस्तो जीवन जिउन गाह्रो रहेछ । देवी भागवतले देखाएको बाटोमा उहाँ हिँड्न सक्नुभएन तर बाइबलले उहाँलाई साँच्चै नै राजा हरिशचन्द्र जस्तै बन्न ठूलो मद्दत गर्यो किनभने ती राजा भन्दा पनि अझै महान राजा येशूलाई उहाँले पाउनुभयो जसले हामीलाई ईश्वरीय स्वभावमा ढाल्न गर्न सक्ने सबै थोक गर्नुभयो ! 


सायद, यस प्रकारको दृष्टिकोणले हिन्दू मित्रहरू माझ येशूलाई चिनाउन बरु सकिएला कि? न त भोजराज जी ले शास्त्रको कुनै बिरोध गर्नुभयो, न देवीको आलोचना नै गर्नुभयो न त देवी भागवतमा येशू बारे खोज्ने चेष्टा नै गर्नुभयो ! हो, हाम्रो युगलाई यस्तै व्यक्तिहरूको ठूलो खाँचो छ! 


उहाँको गवाहीको लिंक: क्लिक गर्नुहोस्


२) WTL नामक एक यू ट्युब च्यानलले महावतार नरसिंह  फिल्मको एउटा समीक्षा ल्याएका थिए । यो भक्त प्रह्लादको कथामा आधारित फिल्म हो । सायद यो कथा सबैले जानेको छ भनी म आशा गर्दछु! यहाँ भक्तीको एउटा रोचक कथा छ! जब प्रह्लादले आफ्नै बुबाको शत्रु र पराय देवता विष्णुको भक्तिमा लाग्छ, उसले आफ्नै बुबाबाट धेरै सतावट झेल्न बाध्य हुन्छ । यस कथाबाट यू ट्युबरले येशू सित जोड्ने काम गरेका छन् । येशूलाई पछ्याउनेहरू कसरी उहाँ प्रति समर्पित जीवन जिउँछन् र सतावट पनि भोग्न तयार हुन्छन् भनी उनले व्याख्या गरेका छन् । भक्त प्रह्लादको कहानी जस्तै हामीले पनि आफ्नै मानिसहरूबाट सतावट भोग्न बाध्य छौँ । तर मुख्य कुरा यहाँ छ: जब त्यही प्रह्लाद कसैको घरमा जन्म लिन्छ तब घरपरिवारले नै एक पराय देवतालाई मानेको आरोपमा निकै सताउने गर्छन् ! प्रह्लादको कथा इसाईको जीवनमा दोहोरी रहन्छ ! हिन्दू मित्रहरू कसको पक्षमा छन् त? हिरण्यकश्यप कि भक्त प्रह्लाद ? 

यो पनि बडो रोचक भिडियो र व्याख्या थियोे । न त प्रह्लादको कथामा कुनै आलोचना गरियो न त त्यसमा येशूलाई खोज्ने काम नै! तर पनि येशू बारे रोचक किसिमले यूट्यूबरले कथालाई प्रस्तुत गरे! 

लिंक: क्लिक गर्नुहोस्


अन्त्यमा ... सुसमाचार सुनाउने काम गर्नुहोस् । तर आलोचना गर्न आवश्यक पनि छैन । अन्य धर्म ग्रन्थमा येशू देखाउने दुस्साहस गर्न पनि कुनै आवश्यक छैन । हामी सबैले उहाँहरूले जस्तै कदम चाल्न सक्छौं । बिना आलोचना, विवाद र छल, हामी सरल ढंगले र हाम्रा छिमेकीले बुझ्ने भाषाले नै सुसमाचार पुर्याउन सक्छौं ! 

Post a Comment

0 Comments