म अक्सर मेरा केही साथीहरूलाई भन्ने गर्छु कि, यदि अन्यभाषा बारे कसैले टिप्पणी दिन चाहन्छ भने, ईश्वर शास्त्र र अनुभव दुवैमा पोख्त भएको प्रभुको जनले मात्रै सकभर बोलोस् | आज यस्तै एक जना प्रभुको जन बोल्नुभएको सुन्दा मलाई साह्रै खुशी लागेको छ | किनकि, केवल ईश्वर शास्त्रको मिश्रित र मृत ज्ञानले मगज भरेकाहरूले दश थरीका मगजको अनुसन्धानको भरमा बोल्दछ भने केवल अनुभवले मात्रै भिजिएको व्यक्तिले जे पनि सिकाइदिन सक्छ जुन उसको व्यक्तिगत नितान्त अनुभवको कुरो मात्र हुन्छ | दुवै पक्ष जोखिमपूर्ण छन् र दुवै पक्षहरूबाट पनि मैले धेरै सुनिसकेको छु | दुवै पक्ष बारे लेखिएका केही लेखहरू यस ब्लगमा तपाईंले पाउन सक्नुहुन्छ |
पा. भोजराज भट्ट जी ले यी शिक्षाहरू पेश गर्नुभएको छ:
१) अन्यभाषा सबैले बोल्दैनन् | नयाँ करारमा पनि आत्माको बप्तिष्मा भए लगत्तै सबैले बोलेको रेकर्ड छैन | साथै, सुसमाचारको लागि दिइएको हो भन्ने कुराको पुष्टि पनि रेकर्ड छैन |
२) नयाँ करारमा अन्यभाषा बोल्नु मामुली कुरा (अक्सर हुने) थियो तर विश्वव्यापीकारण मामिला (बोल्नै पर्ने कुरा) चाहिँ थिएन |
३) अन्यभाषाको आफ्नै अलौकिक औचित्य छ |
४) यो मानिसले बुझ्ने भाषा होइन |
५) यसलाई अरुलाई देखाउने र प्रभाव पार्ने हिसाबले प्रयोग गर्न हुन्न |
६) आत्मिकताको चिह्न होइन तर मण्डलीलाई आशिष दिने हेतुले प्रयोग गर्ने |
७) अन्यभाषामा बोल्दा हाम्रो मस्तिष्क, तार्किक दिमाग संलग्न हुँदैन | तर आफैंलाई नियन्त्रण गर्न सक्छौँ |
८) प्रार्थनाको अलौकिक माध्यम हो |
९) यसबाट आराधना र स्तुति गर्न सकिन्छ तर सार्वजनिक प्रयोगको लागि होइन |
१०) अन्यभाषाबाट कोही पनि प्रभावित हुँदैन |
११) अलौकिक भाषा अन्य संस्कृति र धर्महरूमा पनि पाइन्छ जस्तै: मनोक्रान्तिका प्रखर धर्मगुरु स्वामी योगी विकासानन्द|
१२) अन्यभाषा बारे पावलले धेरै कुरा खासै स्पष्ट भनेको पाइदैन |
१३) यसको महत्त्व विशेषगरी व्यक्तिगत जीवनमा छ |
१४) सबै वरदानहरू आज पनि छन्
रोमी ८ अनुसार पवित्र आत्माले हामीलाई प्रार्थना गर्न सहायता गर्नुहुन्छ - यो अन्य भाषा बारे चाहिँ होइन तर अन्य भाषा यस अन्तर्गत पर्न सक्छ | तर लगभग निकैको गवाहीमा यसलाई पाउन सकिन्छ जस्तै नयाँ कारारका ख्याती प्राप्त विद्वान एन टि राइट | अनि कतिपय साथीहरू सँग कुराकानी गर्दा पनि यस्तै अनुभव निकै सुनेको छु |
के यो भाषा संसार कै हो? - हुन सक्छ! तर निकै दुर्लभ! अक्सर मिसनरीका गवाहीमा पाउन सकिन्छ! यसका लागि अन्यभाषा मै केन्द्रित पुस्तकहरू पढ्न पर्ने हुन्छ वा कतैकतै डिभोसनका लागि तयार पारिएको पुस्तिकाहरूमा पनि गवाही पढ्न पाइन्छ!
के यो भाषा स्वर्गीय हो? - सम्भावना छ! किनकि अरु कुनै व्याख्या उपलब्ध छैन - १ कोरिन्थी १३:१ - स्वर्गदूतहरूको भाषा | जतासुकै हेर्नुहोस्, नबुझिने भाषा नै सबैले पाएका हुन्छन्! पावलले पनि भाषा उल्था गर्ने वरदान बारे बोलेका छन् | प्रेरित २ मा उल्था गरेको थिएन ! कुनै कुनै गैर-बाइबलीय पुस्तकहरू छन् जसमा अलौकिक भाषाको सूचक दिइएको पनि पाइन्छ!
के यो सबैका लागि हो? - होइन, तर माग्न सक्छौँ! पावलले इच्छा व्यक्त गरेका थिए, सिद्धान्त होइन | जस्तै: म चाहन्छु सबैले विज्ञान विषय पढून | इच्छा र सिद्धान्त फरक हुन् |
के प्रेरित २ मा संसार कै भाषा बोलिएको थियो? - यकिन साथ भन्न सकिंदैन ! त्यो विशेष घटना थियो - सुन्नेले आफ्नो भाषामा सुनेको पनि हुन सक्छ! बुझ्नेहरू चकित भए भने अरुले रक्सीले माते भनी टिप्पणी समेत गरे !
के मण्डली इतिहासमा अन्यभाषालाई स्वर्गीय भाषाको रूपमा बुझेका थिए? - थिएनन् | तर यसले अन्यभाषा संसारिक भाषा नै हो भन्ने निष्कर्ष दिंदैन! मण्डली इतिहासमा मण्डलीका पिताहरू पनि हामी जस्तै खोजी गर्ने मानिसहरू नै थिए !
पा. भोजराज जी प्रति हामी अत्यन्त धन्यवादी हुनपर्छ जसले यति लाभदायिक भिडीयो ल्याउनुभयो ! उहाँ बौद्धिक र आत्मिक दुवै पक्षलाई सँगै लिएर जिउनुहुन्छ र सिकाउनुहुन्छ | सायद आज धेरै पेंतिकोस्तल र क्यारिजम्याटिक मण्डलीमा उहाँको शिक्षाको खाँचो छ जसले न आत्मिक अनुभवको आगो निभाउने प्रयास गर्छ न त मण्डलीलाई बौद्धिक पक्षमा गरीब तुल्याउँछ | अन्यभाषा एउटा यस्तै विषय हो जसले गर्दा आज विश्वासीहरू बीच नै झगडा हुन पुगेको छ र बोल्नेले आफ्नै सुरमा बोल्दै हिंड्छ भने अन्योलमा हुनेहरू भड्किरहन्छन् ! अनि अनुभव बिना केवल ईश्वर शास्त्रमा भिज्नेहरू आलोचना बाहेक केही गर्न जानेका हुँदैनन्! आजको हाम्रो आवश्यकता एक सन्तुलित वातावारण हो!
भिडियो: Click!
0 Comments