Advertisement

Responsive Advertisement

अन्य भाषा बारे गलत अवधारणाहरू!

 



यस भिडियोलाई हेर्नुहोला

Click!

 

यी बहिनीको जोश, जाँगर र उत्साहलाई चाहिँ कदर गर्नै पर्छ । यस्तो जोश आज सबै किशोर र जवानहरूमा हुन आवश्यक छ । यद्यपि, यस भिडियोमा ठूलो समस्या देख्छु । त्यो हो, यी बहिनीले सिकाएकी केही शिक्षाहरू । स्मरण रहोस् कि यो लेख उनको चरित हत्याको निमित्त होइन जुन कसैले कसैको पनि गर्न हुँदैन । तर यस भिडियोमा केही शिक्षाहरू आपत्तिजनक छन् जसलाई सुधार गर्न नितान्त आवश्यक छ ।

अन्य भाषा सम्बन्धि यी बहिनीको केही शिक्षा वा विचार आपत्तिजनक देखिन्छ । सर्वप्रथम म यस कुरालाई स्पष्टीकरण दिन चाहन्छु कि म आफैं पनि वरदानहरूमा विश्वास गर्छु । म आफैं पनि पेन्टिकोस्टल मण्डलीको सदस्य हुँ र पवित्र आत्माको छुवाई र अनुभव मलाई पनि छ । आज पनि पवित्र आत्माका सबै वरदानहरू उपलब्ध छन् भनी म विश्वास गर्छु । अन्य भाषा, अगमवाणी, चङ्गाई, छुटकारा, दर्शन आदि सबै आज पनि सक्रिय छन् । तसर्थ, यी कुरा मैले यहीँ भन्नुको कारण मेरो पोस्ट देखेर अरुले मेरो मान्यता उनीहरू अनुसार निर्णय नगरोस् भनेर हो ।

अब आऔँ मूल मुद्दामा !

यी बहिनीको बोलीमा केही समस्या पाएँ:

१) अन्य भाषा बोकेर आएको छु...

२) अन्य भाषा बिना हामी केही गर्न सक्दैनौं ...

३) सबैले अन्य भाषा बोल्न पर्छ ...

 

माथि बुँदा ३ को कुरालाई एक ठाउँमा राखी म पहिला १ र २ मा केही कुरा भन्न चाहन्छु । अन्य भाषा भनेको एक वरदान हो जुन पवित्र आत्मा परमेश्वरको सार्वभौम अधिकार र इच्छा अनुसार हामीलाई दिनुहुन्छ । कसैले पनि (न पास्टर, न अगुवा) अन्य भाषा मैले बोकेर आएको छु र सबैको लागि म यो वरदानलाई रिलिज गर्छु भन्न सक्दैन । बरु अन्य भाषाको लागि चाहना गरि प्रार्थना गर्न सकिन्छ [१ कोरिन्थी १४:१]। हाम्रो खाँचो, आवश्यकता र नियत हेरेर प्रभुले अवश्य दिन सक्नुहुन्छ ! तर मैले लिएर आएको छु र तपाईंहरूलाई दिन चाहन्छु भनी के हामीले भन्ने अधिकार छ र? यो पूर्णरूपमा परमेश्वरको अधिकारको कुरो हो । प्रायः अन्य भाषामा बोल्नेहरूले यस वरदानको उपयोगीतालाई चिनेर नै सबैले बोलेको चाहनाले पनि यस्तो शिक्षा उत्पन्न भएको हुन सक्ला! पावल आफैं पनि यस्तै शिक्षा दिन्छन् ! स्वर्गीय पास्टर आदरणीय रोबर्ट कार्थक अनि डा. भोजराज भट्ट ज्यू ले पनि अन्य भाषाको उपयोगीतालाई जान्नु भएको थियो ! यति सम्म ठिक छ! म आफैं पनि यस वरदानको औधी चाहना गर्छु ! तर बहिनीले जुन तरिकाले अन्य भाषा ल्याएकी छु भनिन्, त्यो आपत्तिजनक शिक्षा हो ! यद्दपी, बहिनीले अनजानमा त्यसो भनेकी थिइन् । यसमा उनको ज्ञानमा सुधार भएको होस् भनी प्रार्थना छ!

अर्को कुरो, अन्य भाषा बिना हामी केही गर्न सक्दैनौं भन्ने शिक्षा पनि गलत ठहरिन्छ । मण्डली इतिहासमा अन्य भाषा नबोल्ने ख्रीष्टियानहरू पनि थिएनन् र? के उनीहरूले योगदान दिएका थिएनन् र? यस मान्यतालाई पनि बहिनीको आफ्नै व्यक्तिगत अनुभवको परिणाम मान्न सकिएला तर बाइबलीय सिद्धान्त चाहिँ होइन । मानौँ प्रभु भोज लिने समयमा यदि कोही रोगबाट निको भयो भने यसको निष्कर्ष यो कदापि हुँदैन कि प्रभु भोजमा चङ्गाई छ! तर यो त निको हुने व्यक्तिको नितान्त व्यक्तिगत अनुभव हो! अन्य भाषामा बोल्ने र प्रार्थना गर्ने व्यक्तिहरू धेरैले पवित्र आत्माको शक्तिशाली अगुवाई र कामको व्यक्तिगत महसुस प्रायः गरेका हुन्छन् । सायद यसैले पनि त्यस्तो निष्कर्ष निक्लेको हुन सक्छ ! यद्यपि, अन्य भाषा बिना हामी केही गर्न सक्दैनौं भन्ने शिक्षा बाइबलमा कतै पाउँदैनौँ बरु पवित्र आत्माको उपस्थिति र भरिपुरीको चाहिँ उपज हो! हामीलाई खाँचो र आवश्यकता पवित्र आत्माको उपस्थिति, भरिपुरी र फलको हो [यूहन्ना १४:१६-१७, रोमी ८:२६-२७, १ कोरिन्थी २:१०-११; ३:१६; १२:३, गलाती ३:१४; ५:२२-२३, एफिसी १:१३]! अन्य भाषा केवल एक वरदान हो!

अनि अन्तिममा, सबैले अन्य भाषामा बोल्नुपर्छ भन्ने शिक्षा पनि बाइबलीय शिक्षा होइन यद्यपि यो शिक्षा सिकाउने धेरै छन् । पावल आफैंले नै वरदानहरू बारे लेख्दा स्पष्टीकरण दिएका नै छन् कि सबै सित सबै खाले वरदान हुँदैन [१ कोरिन्थी १२]। अन्य भाषा सबैले बोलेको उनले पनि चाहेका छन् तर त्यस भन्दा पनि बढी अगमवाणीलाई प्राथमिकता दिएका छन् [१ कोरिन्थी १४]। आज कतिपय मण्डलीहरूमा अन्य भाषा बोल्न कर लगाइन्छ, नबोले सम्म नछाड्ने प्रचलन पनि रहँदै आएको छ । अझ कति क्याजम्याटिक प्रचारकहरूले त अन्य भाषा बोल्न पनि सिकाउँछन् रे! यी सब अबाइबलीय प्रचलन हुन् । हुन त प्रायः जागृति बेला पवित्र आत्माले भरिँदा प्रायः धेरैले अन्य भाषामा बोली पठाउँछन् ।[1] यस्ता घटनाहरू मण्डली इतिहासमा पहिले पनि भएकै थिए![2] सायद यसैले पनि अन्य भाषा सबैले बोल्न पर्छ भनी सिकाउने धेरै छन् यद्यपि धर्म शास्त्रले यसको कुनै पुष्टि दिँदैन ।

अत: यहाँ मैले भिडियोमा बोलेकी बहिनीको बिरोध गरेको नभएर उनले दिएका कतिपय शिक्षा वा मान्यता कसरी बाइबल सित मेल खाँदैन भनी बुझाएको मात्रै हो । हाम्रो युवा वर्गलाई तसर्थ सही शिक्षा दिनु आवश्यक छ ।


***

If you love Christian memes, please follow the page Sacred Satire Memes. We bring memes in both English and Nepali languages in various Theological topics.

Other pages:


Also by profession, 
we are civil engineer.
For civil engineering works associated with buildings, you can contact us at 
equipengineering527@gmail.com
(only for Nepal)
or
using
Our Facebook page: 


[1] पवित्र आत्माले भरिँदा किन अन्यभाषामा बोलेको सुनिन्छ? Holy Spirit & Speaking in Tongues (August 2013), 2023, accessed August 23, 2024, https://www.youtube.com/watch?v=2Reivxt5Tsc.

[2] हाल प्रचलित केही अन्य नवीन सिद्धान्त तथा आत्मिक पद्दतिहरु,” NepalChurch.Com, August 26, 2013, accessed August 10, 2024, https://nepalchurch.com/5253/%e0%a4%b9%e0%a4%be%e0%a4%b2-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%9a%e0%a4%b2%e0%a4%bf%e0%a4%a4-%e0%a4%95%e0%a5%87%e0%a4%b9%e0%a5%80-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%af-%e0%a4%a8%e0%a4%b5%e0%a5%80/.


Post a Comment

0 Comments