कुरो साधारण छ । एक तर्फ विज्ञानले संसारलाई अन्वेशण गरेर गहिराईका कुराहरू
खोजी गर्ने प्रयत्न गर्छ भने अर्को तर्फ धर्म र अध्यात्मले संसारको अस्तित्व,
अर्थ र उद्देश्यलाई प्रष्ट तुल्याउने
प्रयत्न गर्छ । दुबैको मार्ग फरक छ ।
अब विज्ञानले प्रक्रिया खोज्दछ भने हाम्रो आस्थाले कारण खोज्दछ । वैज्ञानिक
सिद्धान्त महा विष्फोटले ब्रह्माण्डको शुरूवातको प्रक्रियालाई सम्बोधन गर्दछ भने
बाइबलले ब्रह्माण्ड रच्नुमा ईश्वरीय कारणलाई सम्बोधन गर्दछ । बाइबल आफैं पनि ईश्वरको
अस्तित्वलाई प्रमाणित गर्दैन तर ईश्वरको संलग्नता र उहाँको उद्देश्यलाई प्रस्तुत
गर्दछ । विज्ञान आफैं पनि ईश्वर छ या छैन भन्ने मुद्दामा सरोकार राख्दैन तर
प्रक्रियागत विकासमा सरोकार राख्दछ । जसरी बाइबल व्याख्या मा वैज्ञानिक शब्दावली र
सिद्धान्तहरूको प्रसङ्ग मिल्दैन त्यसरी नै विज्ञान जगतमा "आदिमा परमेश्वरले
आकाश र पृथ्वी सृष्टि गर्नुभयो" वाक्यांश वा निष्कर्ष न्यायोचित हुँदैन ।
मानौँ यदि म आफैं एक वैज्ञानिक हुँ र मैले यो ब्रह्माण्ड र पृथ्वी वा सौर्य
मण्डलको उत्पत्ति बारे अनुसन्धान अझै गरेँ । यो कुरा जानेर कि म एक इसाई पनि हुँ,
मैले पक्कै पनि परमेश्वरलाई श्रेय दिनै
पर्छ । तर मेरो रिपोर्ट वा थेसिसमा कदापि पनि परमेश्वर बारे उल्लेख गर्नु मिल्दैन
किनकि यो विज्ञान क्षेत्रमा काम गर्दै छु । तर मैले के गर्न सक्छु भन्दा परमेश्वरको
आवश्यकतालाई घुमाउरो ढङ्गबाट औंल्याएर एक जिज्ञासापूर्ण निष्कर्ष चाहिँ दिन सक्छु
। यस्तै अब धार्मिक क्षेत्रमा भने ब्रह्माण्डको सृष्टि बारे मैले प्रक्रियागत
विश्लेषण नदिएर ब्रह्माण्डको सृष्टिको आवश्यकता, उद्देश्य, लक्ष, अर्थ आदि बारे विश्लेषण गर्ने हो र सिधै
परमेश्वरलाई श्रेय दिने हो । तर यहाँ पनि विज्ञानको परिसर मार्फत केही
विश्लेषणात्मक जानकारी लिएर परमेश्वर बिना यस्तो हुन नसक्ने कुरालाई जोड दिन
सकिन्छ ।
विज्ञान जगतले धार्मिक विश्वास र अध्यात्म निश्चयै अन्धविश्वासको दायरा भित्र
हाल्न सक्ला किनकि यस जगतले विश्लेषण खोज्दछ । त्यस्तै, धार्मिक र अध्यात्मले अर्थ, उद्देश्य आदिलाई खोज्दछ । विज्ञानलाई एक पर्याप्त परिवेशको
दृष्टिकोणबाट नहेरी यसलाई दर्शन र अध्यात्मको थप व्याख्या पनि आवश्यक छ भनी
निष्कर्ष दिन्छ । अब धार्मिक जगतमा कतिपय अन्धविश्वास व्याप्त हुनु अज्ञानताको
कारणले पनि हो भने सबै कार्यहरूमा अन्धविश्वास मात्रै हुन्छ भन्ने पनि हुँदैन ।
यदि हाम्रो आफ्नै समाजलाई लिने हो भने बाइबलले शुरूवात नै परमेश्वरबाट गरेको
पाइन्छ । ब्रह्माण्डको वैभवलाई प्रयोग गरेर उहाँकै महिमा गरिएको धेरै पुस्तकहरूमा
पढ्न पाउँदछौँ । बाइबलले उहाँको अस्तित्वलाई प्रमाणित गर्ने जमर्को गरेको छैन तर
उहाँको आवश्यकतालाई जाँच्न सक्ने एउटा वातावरण चाहिँ पक्का दिलाएको पाइन्छ । अब
उत्पत्ति कै कुरा गर्ने हो भने सृष्टि बारे आजको युगलाई अनौठो लाग्ने कथा खास
उहिले कै समयमा त्यो बेलाको भाषामा नै लेखिएको थियो । उहाँलाई सृष्टिकर्ता मात्रै
मा खास सिमित पारेको छैन तर उहाँकै प्रभुत्व र सार्वभौमसत्ता माथि पनि जोड दिएको छ
। उत्पत्तिको सृष्टिको कथा कुनै वैज्ञानिक दस्तावेज थिएन । यसले आधुनिक प्रश्नहरूको
उत्तर दिँदैन तर ईश्वर शास्त्रीय पक्षलाई भने समेट्ने काम गर्दछ ।
अब बाइबलले उहाँलाई सृष्टिकर्ताको रूपमा चिनाएर र ब्रह्माण्डको शुरूवातलाई
औँल्याएर मात्रै पनि पर्याप्त छैन । वैज्ञानिक साक्षी आवश्यक छ । किनकि इसाई
विश्वास मात्रै एक विश्वास छैन तर हजारौं धर्महरू व्याप्त भएको समाजमा हामी छौँ ।
हामीले केवल वैज्ञानिक साक्षी र प्रमाणका पक्षहरूलाई समेटेर परमेश्वरको अस्तित्वको
खाँचो र ब्रह्माण्डको बौद्धिक ढंगको सृष्टिको पक्षमा वकालत गर्ने मात्रै हो । तर
इसाई समुदायले वैज्ञानिक र उनका विविध सिद्धान्तहरूलाई लिएर बिरोध गर्नु, खिल्ली उडाउनु, व्यंग गर्नु चाहिँ कदापि न्यायोचित देखिँदैन किनभने विज्ञान जगत सधैं
विश्लेषणात्मक कारणको खोजीमा अघि बढ्छ । यहाँ कहिल्यै पनि अध्यात्मका कुराले स्थान
पाउँदैन । यो विज्ञानको दायरा भित्र पर्दैन । साथै इसाई जगतले पनि वैज्ञानिक
प्रमाणहरूलाई एकाएक गरि लिँदै परमेश्वर साँच्चै छन् भनेर झट्टै निष्कर्ष दिइहाल्न
पनि हुँदैन । अन्य कारण पनि समावेश हुन सक्छ । साधारण उदाहरणका लागि अनौठा गतिविधिको
लागि भूतप्रेतलाई लिएर विश्लेषण गर्न कदापि बुद्धिमानी हैन । त्यस पछाडी
मनोवैज्ञानिक तथा प्राकृतिक कारण पनि हुन सक्छन् जुन सायद अझै पत्ता लगाइएको नहोला
। तर आज धेरै जसो घटनाहरूमा मनोवैज्ञानिक क्षेत्रले पनि निकै खुलासा दिलाएको पनि त
पाइन्छ । तसर्थ, हामीले पनि
निष्कर्ष ल्याउँदा होशियार भएर ल्याउनु आवश्यक छ । साथै विज्ञान जगतले पनि धार्मिक
जगतलाई अन्धविश्वासको दायरा भित्र हाल्नु एकदम गलत हुनेछ । दुबै जगत आवश्यक छन् र
एक अर्काको हात समातेर अघि बढ्दा अझै राम्रो हुने थियो तर आज अफसोचको कुरो छ कि यी
दुबै पक्षहरू द्वन्दमा छन् ।
हामी इसाई जगतले बुझिदिन नितान्त आवश्यक छ । विज्ञान सित ब्रह्माण्डको थालनी
बारे पर्याप्त व्याख्या छैन र परमेश्वरलाई श्रेय दिएन भनेर ढोल पिट्दैमा हामी सित
पनि धेरै कुराको उत्तर बाइबलबाट पनि छैन भन्ने कुरोलाई बिर्सनु हुँदैन । सृष्टिवाद
भित्र पनि आजको युग सम्म इसाईहरू बीच नै विवाद कायम रहि आएको नै छ । अनेकौं
थरीथरीका व्याख्या ईश्वर शास्त्रमा पनि पाइन्छ । हो, मूल सार हामी हरेक इसाईले बुझेका छन् तर सृष्टि, ब्रह्माण्ड आदिको शुरूवात, विकास आदि बारे हामीलाई पनि समस्त जानकारी छैन । आफ्नै आँगनमा
गोलमालका सिद्धान्तहरू विद्यमान छँदा छँदै वैज्ञानिक जगत माथि टिप्पणी गर्नु
कत्तिको न्यायोचित होला ? हामी सबैमा जिज्ञासा छ र खोज अनुसन्धान जारी सदा रहन्छ । यो वैज्ञानिक जगतमा
मात्र सत्य हैन तर ईश्वर शास्त्रीय जगतमा पनि सत्य नै हो ।
वैज्ञानिक जगतमा जस्तोसुकै पोस्ट आए तापनि हामीले हतारमा बिरोध जनाएर टीका
टिप्पणी गरिहाल्नु आवश्यक छैन । यद्यपि हामीले आफ्नो तर्फबाट तार्किक र
विश्वासयोग्य मुद्दा चाहिँ प्रतिपादन गर्न भने सक्छौं ।
थप अध्ययनका लागि:
1 Antique Creationism and concordist interpretation, Reasons to believe:
Dr. Hugh Ross Team
2 Intelligent Design, Dr. Stephen Meyer
3 Evolutionary Creationism and Non-concordist Biblical interpretation,
Biologos Team
4 Biblical Theology: The Lost World of Genesis, John Walton
5 Science and Faith discussion, Prof. John Lennox
6 Discussion on creationism and its various stands, William Craig
7 For more resources:
https://apologeticsimpact.blogspot.com/search/label/Science%20and%20Faith
0 Comments