Advertisement

Responsive Advertisement

हितोपदेश ३:६ आफ्ना सारा मार्गमा उहाँलाई सम्झी र उहाँले तेरा मार्गहरु सोझा तुल्याइदिनु हुनेछ

 



हितोपदेश ३:६ आफ्ना सारा मार्गमा उहाँलाई सम्झी र उहाँले तेरा मार्गहरु सोझा तुल्याइदिनु हुनेछ

गुगल म्याप त पक्क पनि चलाउनु भएको होला नै ! त्यसमा एउटा गज्जबको फिचर के छ भन्दा गन्तव्यमा पुग्न पर्ने बाटो कतै बिराएर अर्कै बाटो परेको खण्डमा पनि गुगल म्यापले त्यसै बाटोबाट गन्तव्य तिर अर्को रुट देखाउने काम गर्दछ । यो पनि तपाईंहरूले जान्नु भएको नै छ होला !

कहिलेकाही रुट पछ्याउँदै जाँदा पनि बाटोहरु साघुँरो भएको ठाउँमा होस् या हिँड्डुल गर्दा गर्दा वाक्क दिक्क भएर अन्तिम घडीमा मात्र गुगल म्याप प्रयोग गर्नुभएको होस्, यदि हामी गन्तव्य तिर जाने दिशामा रहेनछौँ भने हामी रहेकै स्थानबाट अर्को बाटो देखाइदिन्छ । यो पुनः निर्देशित दिशा वा रुट निकै छोटो नि हुन सक्छ वा निकै लामो नि हुन सक्छ । वर्तमान समयमा गुगल म्यापले स्याटलाइटको मद्दत द्वारा निकै योगदान दिएको छ ।

हाम्रो व्यक्तिगत जीवनमा पनि एउटा गन्तव्य हुन्छ । यहाँ मैले आत्मिकी गन्तव्य बारे चाहिँ चर्चा गर्न लागिरहेको छैन । यो हाम्रो व्यक्तिगत जीवनको लक्ष बारे हो ! लक्ष मात्र भएर पुग्छ होला र ? जीवन त यात्रा हो ! बाटो बिराउन सक्छौं ! जीवनमा थुप्रै चुनौतीहरुको सामना गर्न पर्ने हुन्छ ! जीवनको रेखा सिधा कहिल्यै हुँदैन । हामी सबैको आ-आफ्नो सपना, दर्शन र लक्ष हुन्छ र त्यही स्थानमा पुग्न वर्तमानमा खटिरहन्छौँ । तर त्यो सपना यत्तिकै आफ्नै विवेक, ज्ञान र बुद्धिले खट्दैमा पुरा हुँदैन । हामी कुन दिशा तर्फ लम्कंदै छौँ ?

२९ ज्यष्ठ, २०७९ (१२ जुन, २०२२) का दिन एन.बि.सि.बि.एस. द्वारा एक दिनको कन्फेरेन्स पुतलीसडक स्थित बेथशालोम मण्डलीमा राखिएको थियो जसको सार शिर्षक हितोपदेश ३:६ मा आधारित थियो: आफ्ना सारा मार्गमा उहाँलाई सम्झी र उहाँले तेरा मार्गहरु सोझा तुल्याइदिनु हुनेछ ।

"आफ्ना सारा मार्गमा" अर्थात हाम्रो जीवनको हरेक कदममा,

"उहाँलाई सम्झी" अर्थात प्रभुलाई नै चाहनु, उहाँकै अगुवाईमा समर्पित हुनु, उहाँकै निगाह हेर्नू, उहाँलाई नै स्मरण गर्नु

"उहाँले तेरा मार्गहरु" अर्थात उहाँले नै हाम्रा जीवनको दुर्गम गोरेटोमा पनि सहारा दिनुहुनेछ, उहाँले नै काम गर्नु हुनेछ

"सोझा तुल्याइदिनु हुनेछ" अर्थात उहाँले नै हाम्रो जीवनका मार्ग सम्हाल्नु हुनेछ र उहाँले नै प्रतिफल दिनुहुनेछ ।

हामीले हाम्रो जीवन उहाँमा अर्पित गर्न सक्नपर्छ । हाम्रो जीवन ख्रीष्ट केन्द्रीय हुन अत्यावश्यक छ नत्र हाम्रो दिशा निर्धारित नभएर गन्तव्यमा जान बाटो बिराउन सक्छौं । जीवन प्रगतिशील छ र हामीले हाम्रो गन्तव्य मात्र नभएर हाम्रो योजनाहरु पनि उहाँमा समर्पण गर्नुपर्छ । उहाँको राज्यलाई सहर्ष स्वीकार गरेर हाम्रो हरेक पाइला पाइलामा उहाँकै सहारा खोज्न सिक्न पर्छ । यदि कतै मार्ग बिरायौँ भने पनि कसरी अघि बढ्ने भनेर उहाँले नै हाम्रो पाइला अघि चाल्न मद्दत गर्नुहुनेछ । गलत कदम चालेको खण्डमा र निराशाको घडीमा पनि उहाँले हाम्रो वातावरण सोझो तुल्याउन सक्षम हुनुहुन्छ ।

यस्ता धेरै गवाहीहरु त पक्का पनि सुन्नु भएको छ होला कि कसरी परमेश्वरले विश्वासीहरुको जीवनमा काम गर्नुभएको छ ! उहाँले कसरी वातावरण र परिस्थितिहरु माथि समेत हस्तक्षेप गर्नुभएको छ । कसरी अपत्यारिलो किसिमले दुख र संघर्षबाट जान परे तापनि उहाँले हाम्रो मार्गलाई सम्हाल्नु भएको छ !

प्रभुले हामीबाट चाहनुहुने कुरा नै हाम्रो समर्पण हो ! उहाँले हाम्रो भरोसा चाहनुहुन्छ । प्रभुले केवल हाम्रो अनन्त जीवनको विषयमा मात्र सरोकार राख्नुहुन्न तर हाम्रो व्यक्तिगत जीवन सित पनि सरोकार राख्नुहुन्छ किनकि उहाँ हाम्रो पिता र हामी उहाँका छोराछोरी हौं, उहाँ हाम्रो राजा र हामी उहाँका प्रजा हौं, उहाँ दुलहा र हामी दुलही हौं ! उहाँ सितको हिँडाईमा हाम्रो जीवन कहिल्यै अधुरो, व्यर्थ र अर्थहीन हुने छैन न त हाम्रो गन्तव्य तर्फ लैजाने बाटो हामी बिराउने नै छौँ ।

जसरी गुगल म्यापले हाम्रो दैनिकी प्राविधिक पक्षमा सहारा दिरहन्छ, विज्ञान र प्रविधिका स्रोत र सृजनाहार प्रभु स्वयंले झन हाम्रो कति वास्ता गर्नुहुन्छ होला ? हामीले सानो बाटो बिरायौँ र जीवनमा हरायौँ होला ! तर प्रभुले त्यस परिस्थितिबाट पनि हामीलाई आफ्नो गन्तव्य पुग्ने मार्गमा दोहोराउनु हुनेछ !

धन्यवाद 


Post a Comment

0 Comments