आजको समयमा निकै
होसियारी अपनाउनु पर्ने देखिन्छ । झूटा शिक्षाहरू च्याउ उम्रे झैँ
जताततै उम्रेका छन् । फेरि यिनीहरूको पोस्टमा लाइक, शेयर र कमेन्टमा ‘आमेन’ लेख्ने हाम्रा
धेरै सोझा-साझा विश्वासीहरू पनि छन् । यस्तो विकराल परिस्थितिमा पनि के हामी
मण्डलीहरू शान्त भएर बस्ने होकि प्रतिकार गर्ने हो? समयमा नै यदि सावधानी अपनाएनौ
भने झूटा शिक्षाहरूले तीव्र गतिमा धेरैलाई बहकाउन सक्षम हुनेछ | कति विश्वासीहरूलाई
त झन् झूटा शिक्षाहरू बारे पर्याप्त ज्ञान नै नहोला | धेरै जसो विश्वासीहरू घरेलु
संगति, मण्डलीको साप्ताहिक सेवा तथा विशेष सेवा, बाइबल
कलेज अनि क्याम्पहरूमा मात्र निर्भर रहन्छन | फेरी हाम्रो परिवेशमा अधिकांश नैतिक
शिक्षा, प्रचार र आराधना सित
सम्बन्धित सिकाइ मात्र पाइन्छ | त्यसै कारण आज सारा मण्डली जागरुक हुनु आवश्यक
देखिन्छ |
त्यसोभए के गर्न सकिन्छ होला?
१. सर्वप्रथम त
मण्डलीले विश्वासीहरूलाई बाइबलीय आधारभूत सिद्धान्तहरू बारे सिकाउन नितान्त आवश्यक
छ किनकि हाम्रो दैनिक ख्रीष्टिय जीवन यापन हामी जे कुरामा विश्वास गर्दछौं त्यसैमा
आधारित रहेको हुन्छ । मण्डली केवल प्रचार (preaching) को लागी मात्रै होइन । सहि शिक्षा (Sound Doctrinal
Teaching) को लागि पनि हो । बाइबल कलेजमा मात्रै
पनि भर नपर्नुहोस् र बाइबल कलेजबाट डिग्री हासिल गरेकाहरूले मण्डलीमा पनि सेवा
गर्ने काम गरून्, सिकाउने काम गरून्
।
२. विश्वासीहरू
संगति, साप्ताहिक सेवा, क्याम्प लगायत अन्य तालिमको समयमा आफूले सिकेका विषय
वस्तुहरूमा छलफल र अन्तरक्रियामा सामेल हुनु उचित देखिन्छ । यसले बौद्धिक स्तरबाट पनि आफ्नो विश्वासलाई नियाल्ने र
विश्लेषण गर्ने अवसर सबैले पाउछन |
३. बाह्य
वातावरणमा घुलमिल हुँदा आफ्नो विश्वास भन्दा बेग्लै केहि अनौठा जानकारीहरू सुन्नमा
आए मण्डलीका अगुवा, एल्डर, पास्टर तथा मित्रहरू संग छलफल गर्ने बानी बसालौँ । जस्तैः
परमेश्वरको अर्को देह धारण यस धर्तीमा मुक्ति दिलाउन जन्मिए रे[1],
येशूको बलिदान पर्याप्त थिएन रे[2],
बाइबलमा अझै अरू पुस्तकहरू पनि थप्न
पर्ने देखियो रे, येशू यो साल,
यति तारिखमा फर्कनु हुनेछन् रे, येशू परमेश्वर होइनन् रे, व्यवस्थाहरूको पालन मुक्तिको लागि अत्यावश्यक छन् रे,
आदि ।
४. झूटा शिक्षा,
गलत शिक्षा, मत भिन्नता (Heresy, Error and Difference in
opinions) आदि विविध दर्जाका शिक्षालाई छुट्टाउने
योग्यता सबै विश्वासीहरू हुन सक्न पर्छ । सम्प्रदायिक शिक्षाहरू (Denominational
stands) प्रायः मत भिन्नता र गलत अवधारणा
अन्तर्गत पर्दछन् । यी सबैलाई दोश्रो दर्जाका शिक्षाको रूपमा लिइन्छ भने झूटा
शिक्षाले प्राथमिक दर्जाका शिक्षाहरूलाई नै आक्रमण गर्ने गर्दछ ।
५. यसै कुनै पनि
संगतिहरूमा सामेल नहोऔँ तर पूरा जाँचेर मात्र सहभागिता जनाऔँ । आफ्नो मण्डलीलाई
जानकारी दिन नभुलौँ । सतही शिक्षाहरू समावेश भएका पोस्टहरूमा परमेश्वर, येशू, पवित्र आत्मा, आदि शब्दहरू
देख्दैमा वा आश्चर्यकर्महरू देख्दैमा "आमेन" लेख्दै तिनीहरूका पछि लाग्न छोडौँ ।
गहिरिएर सिद्धान्तहरूलाई परिक्षण गरौं ।
६. त्रीएकता,
येशूको ईश्वरत्त्व, पवित्र आत्माको व्यक्तित्व, येशूमा पापको क्षमा, स्वर्ग-नरकको सत्यता, येशूमा मात्रै उद्धार आदि जस्ता शिक्षाहरू विरुद्ध आउने सबै
शिक्षाहरू झूटा हुन् ।
७. बाइबल
"पढ्ने" मात्र काम नगर्नुहोस् तर "अध्ययन", "विश्लेषण" आदि गर्नमा समय बिताउनुहोस् । आजको युगमा
अध्ययनका लागि धेरै सामग्रीहरू उपलब्ध छन् । एक-एक पदका आधारमा नै डरलाग्दो झूटा
शिक्षाहरू निर्माण भएका छन् । जस्तैः येशू नै माइकल स्वर्गदूत हुन् (येहोवाका
साक्षीहरू), पूर्वबाट बिजुली
चम्केर पश्चिम सम्म नै उज्यालो हुने गरि मानिसको पुत्रको आगमन हुनेछ र आज भएको छ (Eastern
lightening church), आदि ।
८. साम्प्रदायिक
शिक्षाहरू/ दोश्रो दर्जाका शिक्षाहरूको आधारमा झूटा शिक्षालाई नाप्ने काम
नगर्नुहोस् । जस्तैः चङ्गाई, अगमवाणी, दर्शन, अन्यभाषा, बप्तिस्माको विधि, प्रभु भोजको विधि,
पूर्वनिर्धारण र स्व-इच्छाका विविध
सिद्धान्तहरू आदि । यसले झन् बढी भ्रम फैलाउने काम गर्दै आएको छ । जस्तैः सच्चाई
केन्द्र
९. झूटा शिक्षालाई
कहिल्यै पनि हाँसो-मजाक र हल्का तवरले नलिनुहोला । नयाँ नियम भरि नै झूटा शिक्षा
बारे चेतावनी यसै दिइएको होइन । सदैव सतर्क रहनु होला ।
१०. "म
परमेश्वरको सुरक्षाको घेरामा छु, प्रार्थना निकै गर्छु, बाइबल दिनहुँ पढ्छु, पवित्र आत्मा साथमा छन् त्यसैले मलाई कसैले भ्रममा पार्न सक्दैन । अध्ययन,
संगति आदि केही आवश्यक छैन ।" जस्ता
भावनात्मक अभिव्यक्ति तथा विचारमा कहिल्यै नजिउनु होस् । हाम्रो विश्वास बौद्धिक
पनि हो र सुसमाचार र विश्वासलाई प्रतिरक्षा गर्ने गम्भीर जिम्मेवारी पनि उहाँले नै
दिनुभएको छ भन्ने कुरो याद गर्नुहोस् ।
धन्यवाद
थप कुरा: यहाँ
उल्लेखित बुँदाहरूमा मात्र पनि सिमित नरहनुहोस् । अध्ययनमा समय बिताउनुहोस् ।
[1] “What
Is the Church of Almighty God / Eastern Lightning?,” GotQuestions.Org,
accessed November 8, 2022,
https://www.gotquestions.org/Church-of-Almighty-God.html.
[2] Ibid.
0 Comments